काठमाडौं । पदयात्रा र पर्वतारोहणका लागि सरकारले विदेशी पर्यटकहरुका लागि खुला गरेसँगै होटलमा सोधपुछ गर्नेको संख्या धेरै पाइएको छ ।
सरकारले कात्तिक १ गतेदेखि अन–अराइभल भिसा खुला गर्ने निर्णय गरे पनि क्वारेन्टाइनको समय ७ दिन राखेको कारण विदेशीहरुले सोधखोजमात्र बढी गरेको र बुकिङ भने गर्ने गरेका छैनन् ।
पर्यटनका लागि खुला गरिएका दुबईसहित मुलुकले पछिल्लो ७२ घण्टाको पीसीआर रिपोर्ट नेगेटिभको आधारमा घुम्न दिइरहेको अवस्थामा नेपालले भने ७ दिन क्वारेन्टाइन अनिवार्य गरिरहेको छ । यो विषयमा पर्यटन व्यवसायीहरुले लामो समयदेखि सरकारसँग लभिङ गरिरहेको भए पनि हालसम्म कुनै निर्णय भएको छैन ।
‘विदेशीहरु नेपालमा आउन चाहनेहरुको संख्या ठूलो मात्रामा छ, साङ्ग्रिला होटलका सञ्चालक प्रवीनबहादुर पाण्डेले भने ‘तर, उनीहरु यहाँ आएर ७ दिन क्वारेन्टाइनमा बस्न इच्छुक नभएकै कारण सोधखोज मात्र बढी गरिरहेका छन् ।’
पर्यटकका लागि नेपालमा खुला गर्ने हो भने क्वारेन्टाइनको अवधि घटाउनु पर्ने माग विभिन्न पर्यटन व्यवसायीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लिखित प्रस्ताव समेत पठाएका छन् । तर, सरकारले कुनै ठोस निर्णय दिन नसक्दा व्यवसायीहरुले विदेशी पर्यटकका लागि बुकिङ गर्न नसकिएको बताइएका छन् ।
७२ घण्टाको रिपोर्टको आधारमा नेपालमा आउन दिने र सरकारले चाहेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पीसीआर परीक्षण गरी एकै दिनमा रिपोर्ट आउने वातावरण बनाउन आवश्यक रहेको स्कल नेपालका अध्यक्ष समेत रहेका पाण्डेको भनाइ छ ।
कोभिडले थला परेको पर्यटन क्षेत्रमा नयाँ उत्साह आउने अपेक्षा गरिए पनि सरकारी निर्णयले अन्याेलमा परेको ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष खुमबहादुर सुवेदीको भनाई छ ।
‘दैनिक रुपमा विदेशबाट सोधखोज भए पनि क्वारेन्टाइनको अवधिकै कारण उनीहरु यहाँ आउन चाहिरहेका छैनन्,’ अध्यक्ष सुवेदीले भने ।
एयरपोर्ट होटलका सञ्चालक विनायक शाहले पनि विदेशीहरुले दैनिक रुपमा नेपालको विषयमा सोधखोज गरिरहने गरेको बताए । ‘क्वारेन्टाइनको व्यवस्था र स्वास्थ्य प्रोटोकलको विषयमा सधै उनीहरुले चासो दिइरहेका हुन्छन्,’ सञ्चालक शाहले भने, ‘तर हामीले उनीहरुलाई चित्तबुझ्दो जवाफ दिन कुनै ठाउँ नै छैन ।’
पर्यटन विभागका निर्देशक मिरा आचार्यले पदयात्रा र पर्वतारोहणका लागि सोधखोजका लागि दैनिक रुपमा कार्यालयमा व्यवसायीहरु आउने गरेको भए पनि पर्मिट काट्नेकोहरु भने नभएको बताउँछिन् । उनीहरुले क्वारेन्टाइनको अवधि लामो भएकै कारण पर्मिट काट्न नमानिरहेको उनको ठम्याई छ ।