काठमाडौं । सरकारले आउँदो मंसिरभित्र बहुप्रतिक्षित मेलम्चीको पानी पुनः परीक्षण गर्ने गरी अडिट टनेल जडान र सुरुङमार्ग फिनिसिङको कामलाई अघि बढाएकाे छ ।
आयोजनाको सुरुङमार्गमा पानी परीक्षणका क्रममा भत्किएको टनेलको गेट फेरेर ढिलोमा मंसिर दोस्रो सातासम्म पानी परीक्षण गर्ने तयारी रहेको मेलम्ची आयोजना विकास समितिले जनाएको छ ।
सुरुङमार्गमा यसअघि फुस्किएको अडिट टनेल फेर्न नयाँ गेट ‘फ्रेम’ आइसकेको छ भने बाँकी चारवटा अडिट टनेलको गेट पनि छिट्टै ल्याएर जडान गर्ने तयारी रहेको समितिका उप–कार्यकारी निर्देशक तथा प्रवक्ता कमलराज श्रेष्ठले बताए ।
‘अहिले भत्केको अडिट टनेल गेटको फ्रेम आइसकेको छ । बाँकी चारओटाब्लक गेट फ्रेम १० दिनभित्र आइपुग्छ’ श्रेष्ठ भने, ‘मोटामोटी हेर्दा मंसिर दोस्रो सातासम्म सुरुङमार्गमा पानी हाल्ने हाम्रो योजना छ ।’
यसअघि अस्थायी बाँधबाट पानी परीक्षण गर्ने क्रममा १७ नम्बर अडिट टनेलको गेट फुटेपछि पानी परीक्षण कार्य स्थगित भएको थियो । कमजोर डिजाइन र प्राविधिक त्रुटिका कारण टनेल गेट फुटेपछि स्पेनबाट विज्ञ टोली आएर पुनः डिजाइन तथा अध्ययन भइरहेको छ ।
आयोजनाको गेट गम्भीर प्राविधिक त्रुटिका कारण फुस्किएको यसअघिको छानबिन समितिले समेत निष्कर्ष निकालेको थियो । त्यतिबेला अस्थायी बाँधबाट पानी परीक्षण गर्दा एउटा अडिट टनेलमा रहेको गेट भत्किदा अन्य ४ वटा अडिट टनेलका गेट काम नलाग्ने भएका थिए । तिनीहरू पनि फेर्नुपर्ने हुन्छ । नयाँ टनेल गेट ल्याएर जडान गरेपछि मात्रै सुरुङमार्गमा पुनः पानी परीक्षण गर्न सकिने श्रेष्ठले बताए ।
एकतर्फी रुपमा सुन्दरीजलमा पानी ल्याउन १५ दिन लाग्ने देखिन्छ । तर, आयोजनाको सुरुङमार्गबाट पानी हालेर स्थायी रुपमा परीक्षण पूरा गरी सुन्दरीजलमा पानी झार्न दुई महिना लाग्ने देखिन्छ ।
त्यस हिसावले हेर्ने हो भने, माघको मसान्तसम्म सम्म सुन्दरीजलमा पानी झर्नुपर्छ । माघ अन्त्यसम्म सुन्दरीजलमा पानी झर्ने कुरामा अझै पनि सरकारी कर्मचारी ढुक्क छैनन् ।
‘ठूलो समस्या आएन भने मंसिरसम्म पानी हाल्ने र दुई महिना टेस्टिङ गरेर सुन्दरीजलमा पानी झार्ने योजना हो’ खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भने, ‘त्योभन्दा केही समय बढी लाग्न पनि सक्छ ।’
यता, सुन्दरीजलमा झरेको पानी काठमाडौं उपत्यकावासीले कहिले पिउन पाउँछ अझै भन्न सक्ने अवस्था छैन । मेलम्ची आयोजना विकास समितिले सुन्दरीजलसम्म मात्रै पानी झार्ने ‘म्यान्डेड’ पाएको बताउँछ ।
पानी वितरणका लागि मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले काम अघि बढाउनेछ । काठमाडौं उपत्यका खानेपानीसँग समन्वय गरी पानी वितरण हुने निर्देशनालय स्रोत बताउँछ ।
सुरुमा पुरानै पाइपलाइनमार्फत परीक्षण गर्दै मर्मत गरी पानी वितरण हुनेछ । केही नयाँ पाइपलाइन र ट्यांकी बनाएर उपत्यकावासीलाई पानी वितरण हुने शाक्यले बताए ।
तर, ठ्याक्कै उपत्यकाबासीले कहिले पानी पिउन पाउँछ भन्ने प्रश्नको जवाफमा उनी निरुत्तर जस्तै बने । सुरुङबाट झन्डै १७ हजार लिटर पानी सुन्दरीजलमा झर्नेछ । आयोजनाको बाँकी काम पूरा गर्न चिनिँया कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ । खासगरी सुरुङमार्ग र हेडवक्र्स लगायतका फिनिसिङको काम अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ ।
यसअघि इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी एण्ड सिमेन्ट्री(सीएमसी)ले आयोजना छाडेपछि चिनियाँ कम्पनीले बाँकी काम १० महिनाभित्र पूरा गर्ने गरी ठेक्का पाएको थियो ।
सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौंको सुन्दरीजलसम्म सुरुङ निर्माणको काम १५ वर्षअघि सुरु भएको थियो । हालसम्म आयोजनाका लागि करिब ३० अर्ब खर्च भइसकेको छ ।
पहिलो चरणमा मेलम्ची खोलाबाट १७ करोड र दोस्रो चरणमा स्थानीय याङ्ग्री र लार्के खोलाबाट क्रमशः १७÷१७ करोड गरी दैनिक ५१ करोड लिटर पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने योजना हो ।
मेलम्चीलाई काठमाडौं उपत्यकाको तिर्खा मेटाउने परियोजनाका रुपमा लिने गरिन्छ ।