काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–९ पीपलटारीमा रहेको कागती पकेट क्षेत्रका कृषकहरूलाई यान्त्रिक हलो (पावरटिलर) वितरण गरिएको छ ।
कागती पकेट क्षेत्र सञ्चालक समितिले एक कार्यक्रमको आयोजना गरी हलो वितरण तथा अभिमुखीकरण तालिम सम्पन्न गरेको हो ।
व्यावसायिक रूपमा कागती खेतीमा लागेका कृषकहरूलाई खनजोत गर्न र कागती गोडमेल गर्न सहज होस् भन्ने उद्देश्यले कुश्मा नगरपालिका र कृषि ज्ञान केन्द्र पर्वतको लागत साझेदारीमा हलो वितरण गरिएको हो ।
कागती पकेट क्षेत्रमा रहेका पीपलटारीका ३ सय ४ परिवार अहिले व्यावसायिक रूपमा कागती खेतीमा लागेका छन् भने यो क्षेत्रमा ९ हजारभन्दा बढी कागतीका बिरुवाहरू रोपिएको छ ।
कागती खेतीवाट प्रसस्त आम्दानी लिने उद्देश्यले स्थानीय कृषकले अहिले अन्नवाली लगाउने र बाँझो रहेको जमिनमा समेत कागती खेती सुरु गरेका छन् ।
पकेट क्षेत्रका कृषकहरूलाई अब सिँचाइका लागि २ सयदेखि २ हजार लिटरसम्मका पानी ट्याङ्की, ब्रस कटर, भ¥याङ, प्राङ्गारिक मल, आरी सिकेचर, भिटामीन, मिनिरल मिक्स मल, विषादी, पावर स्प्रे, साना स्प्रे मेसिन र बगैंचाका लागि आवश्यक पाइप लगायतका सामानहरू वितरण गरिने भएको छ ।
पकेट क्षेत्र सञ्चालक समितिका अध्यक्ष ढाकाराम सापकोटाले राज्यवाट सेवा सुविधा पाइन्छ भनेर खेतीमा लागेको नभई आफ्नै जीवनस्तर सुधारका लागि हो भनेर सक्रिय रूपमा लाग्न आग्रह गरे ।