काठमाडौं । कोरोना महामारीबीच नेपालले कात्तिक १ गतेबाट पदयात्रा र पर्वतारोहणका लागि विदेशी नागरिकहरूलाई नेपाल आउन खुला गरेको छ । यसै विषयमा सरकारी पक्ष र पर्यटन व्यवसायीबीच केही समयदेखि क्वारेन्टाइनको विषयलाई लिएर घोचपेच भइरहेको छ ।
सरकारले नेपाल आउने पर्यटकलाई अनिवार्य रुपमा ७२ घण्टाको पीसीआर नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने र यहाँ आएपछि ७ दिन क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान ल्याएको छ । योसँगै विदेशीहरूले सहज रुपमा अनराइभल भिसासमेत पाउन सक्ने अवस्था छैन ।
यस्ता विभिन्न बाधा र अड्चन झेल्दै महामारीकाबीच नेपालमा कुन पर्यटक आउँछन् भन्ने प्रश्न यति बेला पर्यटन व्यवसायीहरूको छ । उनीहरूले नेपाल आउन सहज वातावरण सरकारले बनाउनु पर्ने र यहाँ आएपछि सुरक्षित साथ घुमाउने जिम्मा हामीहरूको भनेर बारम्बार भनिरहेका छन् ।
विमानस्थलमै पीसीआर परीक्षण गर्ने वातावरण मिलाउनु पर्ने २४ घण्टाभित्रै रिपोर्ट आउन सक्ने अवस्था मिलाउन सके धेरै पर्यटकहरू नेपाल आउने व्यवसायीहरूको भनाइ छ ।
यसैबीच महामारीको सामना गरिरहेको दुबईले पर्यटकहरूलाई खुला गरिसकेको छ । उसले असारदेखि नै विदेशी पर्यटकहरूका लागि खुला गरेको हो । दुबईमा आउने पर्यटकहरूले अनिवार्य रुपमा पछिल्लो ७२ घण्टाको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने, मास्क र स्यानिटाइजर अनिवार्य गराएको छ ।
यही मोडालिटीमा नेपाल पनि अघि बढ्न सके थला परेको पर्यटन क्षेत्र उकास्न सहज हुने पर्यटन व्यवसायीहरूले बताउँदै आएका छन् । ७ दिन क्वारेन्टाइन बस्नुपर्ने प्रावधानका कारण अहिले धेरै पर्यटकहरू झस्किएका छन् ।
नेपाल आउन चाहनेहरूमा युरोप र अमेरिकाका बढी छन् । तर, उनीहरू ७ दिन क्वारेन्टाइनमा बस्ने पक्षमा छैनन् । ‘विदेशमा गएर क्वारेन्टाइनमा बस्नुप¥यो भने म आफंै जान्न, म्यारियट होटलका सञ्चालक शशिकान्त अग्रवाल भन्छन्, विदेशीहरूलाई कसरी यहाँ बोलाउने ।’ नेपालले साँच्चै यो बेलामा पर्यटकहरूलाई बोलाउने हो भने ७ दिनको क्वारेन्टाइनको व्यवस्था हटाउनुपर्छ, उनले भने ।
विदेशबाट आउँदा ७२ घण्टाको नेगेटिभ रिपोर्ट र काठमाडौंमा आउने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गरेर तत्कालै रिपोर्ट दिने व्यवस्था सरकारले गर्न सके अनावश्यक झण्झट नहुने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष खुमबहादर सुवेदी बताउँछन् ।
होटल एसोसिएसन अफ नेपाल(हान)का प्रथम उपाध्यक्ष विनायक शाहले नेपाल आउन धेरै पर्यटकहरू इच्छुक भए पनि यहाँको स्वास्थ्य प्रोटोकलमा भएका विभिन्न झनझटका कारण समस्या भएको बताए । ‘दैनिक रुपमा सोधखोज धेरै हुने गरेको छ, उपाध्यक्ष शाहले भने, नेपालले पर्यटकहरूका लागि विशेष सुविधाको प्याकेज अन्तर्राष्ट्रिय स्तरमा घोषणा गर्न आवश्यक छ ।’
कोभिडका कारण विदेशीहरूलाई नेपाल आउँदा त्यहाँबाट बिमा गर्न सम्बन्धित मुलुकका कम्पनीहरूले मानिरहेका छैनन् । त्यसका लागि नेपाल सरकारले विदेशी पर्यटकहरूका लागि बिमाको व्यवस्था गर्न सके धेरै मुलुकबाट यहाँ आउन सक्ने सम्भावना धेरै रहेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्ष अच्यूत गुरागार्इंको भनाइ छ । ‘सरकारले चाहेमा विदेशीहरूलाई तत्कालै नेपालमा ल्याउन कुनै समस्या छैन, अध्यक्ष गुरागार्इंले भने, तर त्यसका लागि आवश्यक वातावरण बनाउनुपर्छ ।’
महिनौदेखि घर भित्रै थुनिएर बस्नु परेको कारण घुम्नका लागि कहाँ जाउँ भनेर धेरै पर्यटकहरू नयाँ र सुरक्षित गन्तव्यको खोजी गरिरहेको बेला नेपालले विशेष सुविधा दिने घोषणा गर्न आवश्यक रहेको भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यको भनाइ छ । ‘प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालमा आउन धेरैको आतुर छ, संयोजक वैद्यले भने मात्र, उनीहरूलाई सुरक्षाको अनुभूति दिलाउन आवश्यक छ ।’
अहिले पनि केही मुलुकका पर्यटकहरू नेपालमै बसिरहेका छन् । आफ्नो देशमा भन्दा यही सुरक्षित रहेको भन्दै उनीहरू ६ महिनाभन्दा अघिदेखि यही बसिरहेका छन् । उनीहरूलाई नै प्रयोग गरेर भए पनि नेपालको प्रचार–प्रसार गर्न सक्ने उनको भनाइ छ ।