काठमाडौं । पछिल्लो समय विद्युतीय बस सञ्चालन गर्ने विषयले बजार तातेको छ । सरकारले नीति तथा कार्यक्रम र चालू आर्थिक वर्षको बजेटमा सार्वजनिक यातायातमा विद्युतीय बसलाई प्राथमिकता दिने योजना अघि बढाएअनुरुप सरकार आफैं र निजी व्यवसायी पनि विद्युतीय बसतर्फ आकर्षित भइरहेका छन् ।
सरकारले ३ सय विद्युतीय बस चलाउने जिम्मा साझा यातायातलाई दिएको छ । बस खरिद गर्न सरकारले साझालाई ३ अर्ब रुपैयाँ दिइसकेको छ । पछिल्लो दुई आर्थिक वर्ष निरन्तर घाटामा गएको साझा यातायातलाई नै मोटो रकम बिजुली बस खरिद तथा सञ्चालनको जिम्मा दिएपछि सरकारको आलोचना पनि भइरहेको छ ।
साझा यातायातले आगामी कात्तिकभित्र पहिलो चरणको विद्युतीय बस सञ्चालन गर्ने भनेको छ । यसअघि छुट्टै यातायात प्राधिकरण गठन गरी विद्युतीय बस खरिद र सञ्चालन गर्ने योजना भए पनि अन्ततः सरकारले साझामार्फत नै बस किन्दैछ ।
यता, विद्युतीय बस चलाउने भनेर निजी क्षेत्र पनि आकर्षित भइरहेको छ । मयूर र सुन्दर यातायात बिजुली बस चलाउने निजी कम्पनी अघि बढेका छन् । त्यसमा पनि अहिले सुन्दर यातायातले त यसै साउनभित्र बिजुली बस चलाउने योजना सार्वजनिक गरेको छ । चीनको बीएके कम्पनीसँग सम्झौता गरी ७ ओटा बिजुली बस साउन अन्तिमसम्म उपत्यकाको रिङरोडमा कुदाउने दाउमा छ सुन्दर यातयात । यसर्थ, सुन्दरले साझाभन्दा पहिला नै विद्युतीय बस चलाउने भएको छ ।
यता, साझाले ३ सय विद्युतीय बस चलाउँदा सुन्दरलाई पनि निकै ठूलो चुनौती र प्रतिस्पर्धा गर्नुपर्ने पक्का छ । ठूलो सङ्ख्यामा सरकारी स्वामित्वका साझा बस चल्दा सुन्दर यातायात पछि पर्ने अवस्था नआउला भन्न सकिन्न । आम सेवाग्राहीको मन जितेको साझाका अगाडि सुन्दरले कसरी प्रतिस्पर्धा गर्ला त्यो भविष्यले देखाउला । तर, यात्रुमैत्री तथा गुणस्तरीय सेवाका हिसाबले जसले सेवाग्राहीको मन जित्छ त्यो नै विद्युतीय बस सञ्चालनमा जम्न सक्छ ।
साझा कुनै पनि हिसाबले आफ्नो प्रतिष्पर्धी नभएको सुन्दर यातायातले बताइरहेको छ । बरु, उसले अब आउने निजी कम्पनी आफ्नो प्रतिस्पर्धी हुन सक्ने भन्दै आएको छ । साझाभन्दा पहिला सञ्चालन गर्ने, प्राविधिक कर्मचारीको व्यवस्थापन, खरिद र कारोबारमा पारदर्शिता, १० वर्षसम्म सम्बन्धित गाडी उत्पादक कम्पनीले पार्टपुर्जा, क्षतिपूर्ति बेहोर्ने ग्यारेन्टी र गुणस्तरमा आफू नै अब्बल रहेकाले साझालाई प्रतिस्पर्धामा उछिन्ने सुन्दर यातायातको विश्वास छ ।
अहिले सरकारको स्वामित्व र लगानी रहने कुनै पनि कम्पनी वा संस्थाको व्यवस्थापन र वित्तीय क्षमता कमजोर हुने र बनाइने गरेको यातायात क्षेत्रका जानकार बताउँछन् । विगतकै कुरा गर्दा पनि, साझा यातायात सहकारी ९९ प्रतिशत सरकारी स्वामित्व रहेको संस्था हो । अहिले संस्थाले ७१ ओटा बस सञ्चालन र व्यवस्थापन गरेको छ । अन्य यातायात व्यवसायी र कम्पनीका यातायात साधनको तुलनामा साझामा यात्रु बढी चढ्छन् ।
तर, पछिल्लो दुई आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ मा संस्था घाटामै छ । केही समयअघि साझाका दुई विद्युतीय बस स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । उद्घाटन भएको एक महिना नपुग्दै चल्न नसकेर ग्यारेजमै थन्किए ती बस । यी कुराले साझा यातायातको व्यवस्थापन, गुणस्तर र पारदर्शिताका कुरामा प्रश्न उठ्ने गर्छ ।
अहिलेकै कुरा गर्दा, साझाले ३ महिनाभित्र बस खरिद गरेर सञ्चालन गर्ने भनिरहँदा सार्वजनिक खरिद प्रक्रिया, खरिद मोडालिटी, विज्ञापन, प्राविधिक कर्मचारीको व्यवस्थापन, चार्जिङ स्टेसन र रुट परमिट लगायतका कुराको तयारी गरेको छैन । जसले गर्दा ३ महिनाभित्रै बस चलाउनेमा आशङ्का समेत पैदा हुँदैछ ।
प्रतिस्पर्धा भएर नै गुणस्तरीय सेवा हुने साझा यातायाका अध्यक्ष कनकमणि दीक्षितको तर्क छ । सहरी यातायात क्षेत्रमा प्रतिस्पर्धामार्फत नै यात्रुलाई सेवा दिन सकिने उनको भनाइ छ । ‘सुन्दर यातायातसँग प्रतिस्पर्धा गज्जब हुन्छ । प्रतिस्पर्धा भएर नै जनताको सेवा हुन्छ,’ उनले भने, ‘यो यातायात क्षेत्रमा कोही पनि एक्लो वृहस्पति हुनु हुँदैन । सहरी यातायातमा झनै प्रतिस्पर्धा भएर नै यात्रुमैत्री सेवा उपलब्ध हुने हो नि ।’
यता, सुन्दर यातायात पनि भर्खरै मोफसलमा विद्युतीय बस चलाउने उद्देश्यले आएको निजी कम्पनी हो । ८१ जना सञ्चालक मिलेर कम्पनी दर्ता गरेको धेरै भएको छैन । सानो पुँजी क्षमता भएकाले एकै पटक ठूलो सङ्ख्यामा बिजुली बस किन्ने क्षमता उसको छैन । साझाको तुलनामा धेरैअघि नै विद्युतीय बस सञ्चालन गर्ने र अधिकतम यात्रुमैत्री सेवा प्रवाह हुने हुँदा साझासँग कुनै प्रतिस्पर्धा हुन नसक्ने सुन्दर यातायात प्रालिका सञ्चालक भेषबहादुर थापाको भनाइ छ ।
पारदर्शी र चिनियाँ गाडी उत्पादक बीएके कम्पनीसँग व्यावसायिक सम्झौता भएकाले आफु अब्बल हुने विश्वास थापाको छ ।