काठमाडौं । नेपाल वायुसेवा निगममा पछिल्लो समय विदेशीभन्दा नेपाली पाइलटहरुले धेरै तलब बुझ्न थालेका छन् । कोरोना भाइरस(कोभिड–१९)को प्रभावपछि विदेशी पाइलटहरुलाई बेतलबी बिदादेखि करार अवधिसमेत छोटाएसँगै नेपाली पाइलटहरुको न्यूनतम तलब बढेको हो ।
कोभिड-१९ को बीचमा भएका उडानहरुमा सबैभन्दा बढी नेपाली पाइलटहरु सहभागी भएका छन् । जुलाई(साउन) महिनाको तथ्यांकअनुसार नेपाली पाइलटले न्यूनतम ५ लाख २९ हजार १८७ रुपैयाँ बुझेका छन् । त्यही समयमा विदेशी पाइलटले ४ लाख ८० हजार मात्र बुझेका छन् ।
निगमले बुधबार जारी गरेको विज्ञप्तिमा २०७६ चैतदेखि विदेशी विमान चालकहरुका हकमा ५० देखि ६० प्रतिशतसम्म सेवा सुविधा एवं पारिश्रमिक कटौती गरिएको,करार अवधि समाप्त भएका ७ जना विदेशी विमान चालकहरुको करार सेवा नवीकरण नगरिएको र हाललाई न्यूनतम संख्यामा उडानहरु भर्न सक्ने गरी ६ जनामात्र विदेशी विमान चालक राखिएको बताइएको छ ।
योसँगै हाल करार सेवामा रहेका विदेशी विमान चालकहरुलाई उनीहरुको सेवा सुविधा तथा पारिश्रमिकमा ६६ प्रतिशतसम्म कटौती गरी करार नवीकरणको अवधिसमेत छोट्याइएको । संचालक समितिको निर्णयअनुसार पछिल्लो पटक विदेशी पाइलटको करार नवीकरण गरी खुद तलब प्रतिमहिना ४ हजार अमेरीकी डलर र बसोबास खर्च १ हजार अमेरीकी डलर मात्र तोकिएको छ ।
एयरबस ३३० को १ विदेशी पाइलटको करार भंग तथा अर्का १ पाइलटलाई पूर्ण बेतलबी बिदामा राखिएको छ । बन्दाबन्दी सुरु भए लगत्तै प्रभावकारी जनशक्ति योजना व्यवस्थापनका साथै क्रमिक रुपमा भइरहेको सेवा सुविधा तथा पारिश्रमिक कटौती एवम करार भंग तथा नवीकरण नगरिएका कारण विदेशी विमानचालकप्रति निगमको आर्थिक दायित्व घट्न गई जुलाई महिनाको जम्मा मासिक ७३ लाख ७१ हजार मात्र रहेको जनाएको छ । जुन कोभिड-१९ अघिको तुलनामा ७७ प्रतिशत कम हो ।
यसैगरी निगमको वर्तमान अप्रेसन म्यानुअल ट्रेडिङअनुसार ए ३२० जहाजमा कम्तीमा ६ जना र बढीमा ९ जनासम्म इक्जामिनर प्रशिक्षक पाइलटको जरुरी रहेको र सन् २०१९ मा निगमले तयार गरेका नेपाली प्रशिक्षक पाइलटहरुमध्ये १ जना प्रशिक्षक पाइलट करिब २ महिनाको सेवा मात्र गरी ए ३३० को तालिममा गएका र निगमको ए ३२० जहाज संचालन गर्न प्रशिक्षक पाइलटको अभावले हाल १ जना मात्र विदेशी प्रशिक्षक पाइलट करारमा राखिएको उल्लेख छ ।
कसले कति तलब कति ?,(सूचीसहित)