काठमाडौं । कोरोना महामारीबाट थिलथिलो बनेको अर्थतन्त्रलाई उकास्न बंगलादेश सरकारले दोस्रो राहत प्याकेज ल्याएको छ । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले आइतबार सार्वजनिक गरेको राहत प्याकेज ६७,७५० करोड टिका रहेको छ । बंगलादेश सरकारले यसअघि पनि ५ हजार करोडको राहत प्याकेज उपलब्ध गराइसकेको छ ।
तर, त्यो राहत प्याकेजले अर्थतन्त्रलाई सोचे जसरी माथि उकास्न नसकेपछि प्रधानमन्त्री हसिनाले अत्यधिक ठूलो राहत प्याकेज घोषणा गरेकी हुन् । योसहित अब बंगलादेश सरकारले ७२ हजार ७ सय ५० करोड टिका राहत प्याकेज ल्याएको हो ।
उक्त प्याकेजअन्तर्गत बंगलादेश सरकारले कोरोनाबाट प्रभावित उत्पादनमूलक उद्योगका साथै सेवामूलक उद्योगलाई ३० हजार कराड टिका वर्किङ क्यापिटलको रुपमा उपलब्ध गराउने भएको हो ।
यस्तो राहत त्यहाँका वाणिज्य बैंकले आफ्नो स्रोतबाट उपलब्ध गराउने छन् । त्यस्तो ऋण ९ प्रतिशत ब्याजमा बैंकहरूले दिनुपर्ने छ भने ऋणीले ४ दशमलव ५ प्रतिशत ब्याज बुझाउनुपर्ने छ । बाँकी ब्याज सरकारले व्यहोर्ने छ ।
बंगलादेशले साना तथा मझौला उद्योगका लागि २० हजार करोड टिका वर्किङ क्यापिटल उपलब्ध गराउने भएको छ । यो पनि वाणिज्य बैंकमार्फत ऋण प्रवाह हुन्छ । यसको ब्याजदर पनि ९ प्रतिशत नै कायम गरिएको छ । तर, ऋण लिने उद्योगले ४ प्रतिशत ब्याज तिरे पुग्छ । बाँकी ५ प्रतिशत सरकारले बेहोर्ने छ ।
त्यसैगरी बंगलादेश सरकारले आफ्नो एक्सपोर्ट डेभलपमेन्ट फण्डलाई विस्तार गर्नेछ । कच्चा सामान आयत गर्न र तयारी वस्तुको उत्पादन बढाउनका लागि बंगलादेश सरकारले ३.५ बिलियनको कोषलाई बढाएर ५ बिलियन बनाउन लागेको हो । यसमा १.५ बिलियन अर्थात १२,७५० करोड टिका थपिन्छ ।
त्यसैगरी अन्तिम प्याकेजअन्तर्गत बंगलादेश सरकारले ‘पूर्व सिपमेन्ट क्रेटिड पुनर्वित्त’ नामक योजना पनि सार्वजनिक गरेको छ । यो ऋण सुविधाका लागि बंगलादेश सरकारले ५ हजार करोड राखेको छ । यो ऋण ७ प्रतिशत ब्याजदरमा उपलब्ध हुने जनाइएको छ ।