काठमाडौं । सरकारले विदेशी पर्यटकहरुका लागि अनराइभल भिसा खुला गरेको छ । कोरोना भाइरस(कोभिड–१९) को कारण सरकारले तत्कालका लागि अनराइभल भिसा बन्द गरेको थियो ।
कात्तिक १ गतेबाट पदयात्रा र पर्वतारोहणका लागि खुला गरे पनि अनराइभल भिसा भने खुला गरेको थिएन । पर्यटन व्यवसायीहरुले सरकारसँग पटक–पटक अनराइभल भिसाका लागि पहल गर्दै आएका थिए ।
सोमबार पर्यटन विभागले जारी गरेको सूचनाअनुसार नेपाल आउने पर्यटकहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान बनाएको छ । योसँगै नेपाल आउँदा ७२ घण्टाको पीसीआर रिपोर्ट देखाउनुपर्ने छ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ ।
तर, पर्यटकले नेपाल आउनु अगाबै नेपालको भिसा प्राप्त गरेको हुनुपर्नेछ । सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्थामा वा समूहमा पर्वतारोहण वा पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्व स्वीकृति लिई नेपाल आउन सक्नेछ ।
नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ ।
पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्ने छ ।
यता ट्रेकिङ एजेन्सीज् एसोसिएन अफ नेपाल(टान)का अध्यक्ष खुमबहादुर सुवेदीले अनराइभल भिसा सहज रुपमा दिनु पर्ने र क्वारेन्टाइनको अवधि घटाउनु पर्ने माग राखेका छन् । योसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पीसीआर गर्ने वातावरण मिलाउनु पर्ने बताएका छन् ।
यो पनि पढ्नुस,अमेरिकी र युरोपेलीहरू नेपाल आउन बुकिङ सुरु, भिसा जटिलता हटाउन माग
७२ घण्टाको रिपोर्ट भए पनि जहाजमा आउँदा र अन्य देशको विमानस्थल प्रयोग गर्दा कतै कोरोनाको संक्रमण हुन सक्ने भएकाले विमानस्थलमै पर्यटककै खर्चमा पीसीआर टेस्ट गराउने र छोटो समयमै रिपोर्ट आउने वातावरण मिलाउन सके राम्रो हुने उनको भनाइ छ ।
कोभिड–१९ को प्रभाव नेपालमा देखिनुअघिसम्म इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्वीट्जरल्याण्ड, सोमालिया, क्यामरुन, लाइबेरिया, इथोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाले मात्रै अनअराइभल भिसा पाउँदैनथे । तर, कोभिड कहरकाबीच सरकारले पर्यटक आगमन खुला गरे पनि भिसा प्रक्रियालाई पुरानै अवस्थामा नफर्काउँदा समस्या भएको पर्यटन व्यवसायीको भनाइ छ ।