काठमाडौं । सरकारले कात्तिक १ गतेबाट विदेशी पर्यटकहरूलाई नेपाल आउन दिने भएको छ । सम्भवतः सरकारले अबको केही दिनभित्रै ‘अनअराइभल’ भिसा खुलाउँदैछ । त्यसका लागि अध्यागमन कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच छलफल भइरहेको छ ।
विभिन्न पर्यटन क्षेत्रसँग आबद्ध संघ–संस्थाहरूले विदेशी पर्यटकहरूलाई नेपालमा ल्याउन अनराइभल भिसा तत्कालै खुलाउनु पर्ने र क्वारेन्टाइनको अवधि घटाउनु पर्ने प्रस्ताव पर्यटन मन्त्रालयसँग राखेका छन् ।
अहिले पर्यटन मन्त्रालयले पनि पर्यटकका लागि आगमन खुला गरेका विभिन्न मुलुकहरूले अपनाएको विधि र प्रक्रियाहरूलाई अध्ययन गरेर स्वास्थ्य प्रोटोकल संशोधन गरिरहेको पर्यटन सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।
विदेशीहरूलाई सहज र सुरक्षित तबरले नेपालमा आउनेलाई घुम्ने वातावरण मिलाउन हामी लागि परेका छौं, सचिव अधिकारीले क्यापिटल नेपालसँग भने केही दिनभित्रै नयाँ मापदण्ड ल्याउन लागेका छौं ।’
यदि, सरकारले कात्तिक १ गतेभन्दा अघि नै अनअराइभल भिसा र क्वारेन्टाइनको अवधि कम गरेमा तत्कालै युरोप र अमेरिकाका पर्यटकहरू आउन सक्ने पर्यटन व्यवसायीहरूको भनाइ छ ।
उनीहरू घुम्न निस्कन खोजे पनि सुरक्षित र सहज कहाँ हुन्छ भनेर खोजिरहेकाले नेपालले त्यसलाई भरपुुर उपयोग गर्नुपर्ने पर्यटन व्यवसायी योगेन्द्र शाक्यको भनाइ छ ।
पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय कोरोना संक्रमितको संख्या पुगेपछि फेरि १ महिना बन्दाबन्दी (लकडाउन) गर्न सरकारलाई दिएको सुझाव प्रतिव्यवसायीहरू त्रसित बनेको उनले बताए ।
६ महिनाभन्दा बढी समयदेखि बन्द व्यवसाय भर्खरै खुलेका छन्, व्यवसायी शाक्यले भने स्वास्थ्य मन्त्रालयको त्यो प्रस्तावले धेरैलाई सशंकित बनाएको छ ।’
सरकारले असोज १ गतेबाट आन्तरिक उडान, होटल, रेष्टुराँ र लामोदूरीका सवारीसाधानहरू खुला गरेको छ । योसँगै अहिले आन्तरिक पर्यटनमा केही चहलपहल सुरु भएको छ । सरकारको निर्णयलाई मध्यनजर गरी बुद्ध र यती एयरलाइन्सले विभिन्न पर्यटक प्याकेजहरू ल्याएका छन् ।
हवाई उडानमा यात्रुको चाप बढेको छ । यस्तो बेलामा एक्कासि स्वास्थ्य मन्त्रालयले फेरि लकडाउन गर्ने प्रस्ताव ल्याउँदा व्यवसायीहरूलाई चिन्ता थपेको बुद्ध एयरका मार्केटिङ म्यानेजर रुपेश श्रेष्ठको भनाइ छ ।
यात्रुहरूले उडानको संख्या थप्न माग गरिरहेका छन्, विदेशी पर्यटकहरूले पनि बुकिङ गरिरहेका छन्, तर हाम्रो चिन्ता भनेको सरकारले कुन बेला लकडाउन गरिदिन्छ भन्ने हो, उनले भने ।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल(टान)का पूर्वमहासचिव आङपेम्बा शेर्पाले अब लडकाउन गर्नुभन्दा कसरी सुरक्षितसाथ पर्यटकलाई नेपाल भित्र्याउने भन्ने विषयमा सोच्न आवश्यक रहेको बताए । भर्खरै कोमाबाट निस्कन लागेको पर्यटनलाई फेरि उही अवस्थामा जानबाट सरकारले रोक्नुपर्ने उनको भनाइ छ ।
खुल्न थाले पाँचतारे होटल
६ महिनादेखि बन्द पाँचतारे होटलहरू खुल्न थालेका छन् । विदेशी पर्यटकहरूको भरमा चल्ने पाँचतारे होटलहरू विस्तारै खुल्न थालेका हुन् । कात्तिक १ गतेबाट विदेशी पर्यटकहरू आउन दिने सरकारको निर्णयसँग पाँचतारे होटलले आफ्नो तयारी थालेका हुन् ।
म्यारियट, अलफ्ट र सोल्टी होटल लकडाउनका बीचमा पनि सञ्चालनमा रहेको थिए । त्यसबाहेक बिहीबारदेखि बौद्धमा रहेको होटल हायात, दरबारमार्गमा रहेको याक एण्ड यती, लाजिम्पाटमा रहेको ¥याडिसन र झापामा नवनिर्मित मेची क्राउन सञ्चालनमा आउने भएका छन् ।
योसँगै तारे होटलहरू पनि धमाधम खुलिरहेको छ । केही असोज १ गतेबाटै खुलिसकेका छन् भने केही खुल्ने तयारीमा छन् । यस्तै पाँचतारे होटलमा अन्नपूर्ण र द्धारिकाज भने पर्ख र हेरको अवस्थामा छन् ।
अहिले खुलाए पनि बीचमा बन्द गर्नुपर्ने त्रासले केही होटलहरू खुल्न नसकेको होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव साजन शाक्यको भनाइ छ । विदेशी पर्यटकहरूलाई नै लक्षित गरी खुलिएका होटलहरूलाई अझै समस्या छ, महासचिव शाक्यले भने, चिया र कफीका लागि मात्र केही खुल्न थालेका छन् ।’