काठमाडौं । एउटा गाडीबाट वार्षिक रुपमा जम्मा ४८ लिटर पेट्रोल तथा डिजेल जोगाउन सरकारले स्मार्ट हाइब्रिड गाडीमा लाखौँ रुपैयाँ छुट दिएको पाइएको छ ।
केएमसी अटोमोबिल्स प्रालिले स्मार्ट हाइब्रिड दाबी गर्दै सुजुकी बोलेनोका (डेल्टा र जेटा पेट्रोल) गाडी नेपाल भित्र्याइसकेको छ । भैरहवा भन्सार नाकाबाट उक्त गाडी नेपाल भित्रिएका हुन् । कम्पनीले भित्र्याएका दुई ओटै गाडी स्मार्ट हाईब्रिड भएको जनाएको छ ।
भैरहवा नाकाबाट भित्रिएका स्मार्ट हाइब्रिड बोलेनो डेल्टा यदि एक वर्षमा १० हजार किलोमिटर गुड्यो भने त्यसमा वार्षिक रुपमा ४ सय १९ लिटर पेट्रोल खपत हुन्छ । तर, स्मार्ट हाइब्रिड नभएको त्यही बोलेनोको डेल्टा यदि वर्षको १० हजार किलोमिटर गुड्यो भने त्यसले बार्षिक रुपमा ४ सय ६७ लिटर पेट्रोल खपत गर्छ ।
नर्मल गाडीभन्दा स्मार्ट हाइब्रिडले वार्षिक रुपमा जम्मा ४८ लिटर कम पेट्रोल खपत गर्छ । मङ्गलबारको काठमाडौंको पेट्रोलको प्रतिलिटर मूल्य एक सय ८ रुपैयाँ छ । काठमाडौंको मूल्यलाई आधार मान्दा एउटा बोलेनोको डेल्टा स्मार्ट हाइब्रिड गाडीले वार्षिक रुपमा ५ हजार १ सय ८४ रुपैयाँ मात्रै बचाउँछ ।
कारहरुको समिक्षा गर्ने भारतीय अनलाइन अटोकारइण्डिया डट कमका अनुसार यस्तो तथ्य सार्वजनिक गरेको हो । सोही कार भन्सार छुट गराएर नेपाली कम्पनीले घरेलु बजारमा भित्र्याएर बुकिङ सुरु गर्न लागेको छ ।
सरकारले व्यापार घाटा कम गर्न इलेक्ट्रिक तथा स्मार्ट हाइब्रिड गाडीको प्रोत्साहन गरे पनि त्यसले व्यापार घाटा कम गर्न कुनै आधार देखिँदैन । तर, सरकारले स्मार्ट हाइब्रिड गाडी आयात गर्दा ४० प्रतिशत भन्सार, ३० प्रतिशत अन्तशुल्क लगाउने निर्णय गरेको छ ।
स्मार्ट हाइब्रिडमा यसअघिसम्म ८० प्रतिशत भन्सार र ६० प्रतिशत अन्तशुल्क लगाउने व्यवस्था थियो । स्मार्ट हाइब्रिड पूर्ण रुपमा इलेक्ट्रिक गाडी होइन । यो रोकिँदा मात्रै इलेक्ट्रिकको माध्यमबाट चल्छ । जब गुड्न थाल्छ, त्यसका लागि पेट्रोल वा डिजेल अनिवार्य हुन्छ । जस्तै, स्मार्ट हाइब्रिड गाडी जाममा परेर रोकियो भने मात्रै अटोमेटिक रुपमा इलेक्ट्रिकमार्फट स्र्टाट भएर बस्ने हो । तर, जब गाडी गुड्छ, त्यसपछि पेट्रोल खपत हुन्छ ।
केएमसी अटोमोविल्स प्रालिले भैरहवा नाकाबाट ल्याएका दुई ओटा स्मार्ट हाइब्रिड गाडीको विशेषता यही हो । बोलेनो डेल्जा नर्मल गाडीको माइलेज २१ दशमलव ४ छ भने स्मार्ट हाइब्रिडको २३ दशलमव ८७ मात्रै छ । यो भनेको नर्मल गाडीको तुलनामा स्मार्ट हाइब्रिड गाडीको माइलेज जम्मा २ दशलमव ४७ मात्रै छ ।
स्मार्ट गाडीबाट उपभोक्ताले न पेट्रोल/डिजेल बचाउन सक्छन्, नत उत्कृष्ट माइलेज नै छ । त्यति मात्रै होइन, यसको मूल्य पनि नर्मल गाडीको तुलनामा एक लाख ४२ हजार ८० रुपैयाँ बढी पनि छ । एकातिर राज्यले लाखौँ रुपैयाँ राजस्व गुमाउने, व्यापार घाटा कम गर्न पनि नसकिने, उपभोक्तालाई राहत नहुने देखिएको सरोकारवाला बताउँछन् ।
‘न माइलेज राम्रो छ, न पेट्रोल तथा डिजेल नै सेभ गर्न सकिन्छ, न नर्मल गाडीको तुलनामा सस्तो छ,’ एक अटो व्यवसायीले भने, ‘कुनै हिसावबाट पनि स्मार्ट हाइब्रिड उपयुक्त छैन ।’ सरकारले देशमा बढ्दो व्यापार घाटा कम गर्न यस्तो रणनीति अपनाएको हो । तर, केही व्यापारीले त्यसको फाइदा उठाउँदै, त्यस्ता गाडी नेपाल भित्र्याएका छन् । त्यसले न सरकारलाई फाइदा हुन्छ, न उपभोक्तालाई नै । ती व्यवसायी भन्छन् ।
नर्मल गाडी (बोलेनो डेल्टा पेट्रोल) को मूल्य ६ लाख ३६ हजार ६ सय १२ भारु पर्छ । माइलेज २१ दशमलव ४ दिन्छ । तर, स्मार्ट हाइब्रिड मूल्य ७ लाख २५ हजार ४ सय १२ भारु पर्छ । २३ दशमलव ८७ माइलेज दिन्छ । स्मार्ट हाइब्रिड र नर्मल गाडीको मूल्य फरक १ लाख ४२ हजार ८० रुपैयाँ छ ।
बोलेनो जेटा पेट्रोलको मूल्य ६ लाख ९७ हजार ६ सय १२ भारु छ । माइलेज २१ दशमलव ४ दिन्छ । स्मार्ट हाइब्रिडको मूल्य ७ लाख ८६ हजार ७ सय १२ भारु पर्छ । यसको माईलेज २३ दशलमव ८७ छ । मूल्य फरक १ लाख ४२ हजार ५ सय ६० रुपैयाँ छ ।