काठमाडौं । तालुकदार मन्त्रालयका मन्त्री, कार्यकारी अध्यक्ष र व्यवस्थापन समितिका सदस्यहरु हवाई माफियाको चंङगुलमा फसेको आरोप नेपाल वायुसेवा निगमका कर्मचारीहरुले लगाएका छन् ।
निगमका कर्मचारी संघले सोमबार पत्रकार सम्मेलन गरी पछिल्लो समय हवाई माफियाको चंगुलमा फसेर पर्यटनमन्त्री योगेश भट्टराई, कार्यकारी अध्यक्ष सुशील घिमिरे र सञ्चालक समितिका सदस्यहरु वायुसेवा निगम डुवाउन लागि परेको आरोप लगाएका हुन् ।
कर्मचारी संघले विज्ञप्ती जारी गरि असोज ४ गते पर्यटनमन्त्री भट्टराईको ठाडो निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हिमालयन एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्यान्डलिङ’ सेवाको नाममा एक्लौटी रुपमा विदेशी लगानीमा सञ्चालित कम्पनीलाई दिएको उल्लेख गरेका छन् ।
मन्त्री भट्टराईको यो निर्णय राष्ट्रिय हित विपरीत रहेको ठहर गर्दै परिस्थितिको आँकलन गरी तत्काल खारेज गर्न कर्मचारी संघले माग गरेको हो ।
यता, पर्यटनमन्त्री भट्टराईले सेल्फ ग्राउण्ड ह्यान्डलिङको विषयमा आफ्नो नाम जोडिएपछि आइतबार नै क्यानका महानिर्देशक राजन पोखरेल र पर्यटनसचिव केदारबहादुर अधिकारीलाई आवश्यक प्रक्रिया पुरा गरेपछि मात्र अनुमति दिन निर्देशन दिएका थिए ।
उनले यसमा आफ्नो कुनै संलग्नता नभएको पुष्टि गर्न खोजेका थिए ।तर, कर्मचारी संघले भने ग्राउण्ड ह्यान्डलिङको अनुमति पर्यटनमन्त्रीकै ठाडो निर्देशनमा भएको आरोप लगाउदै आएको छ ।
सरकारको पूर्ण स्वामित्वको संस्था भएको कारणले निगमलाई असर पर्ने गरी गलत नीति, नियम, योजना तथा कार्यक्रमले गर्दा देश तथा विदेशमा समेत सरकारको बदनामी र असफलताको संकेत हो भन्ने ठम्याई संघको छ ।
व्यवसाहिक उडानका लागि अयोग्य/ अन–उपयुक्त चिनियाँ जहाज एमए ६० र वाई १२ खरिदको निर्णय गर्नु र त्यसलाई निगम व्यवस्थापनले नियमित उडान गराउन नसक्नु व्यवस्थापकीय कमजोरी देखिएको बताइएको छ ।
संघले हाल नियुक्त भई आएका कार्यकारी अध्यक्ष घिमिरे , सञ्चालक समिति सदस्यहरुले संस्था सुधारका लागी पेश गरिएका प्रतिवेदन र सरकारको योजनाअनुसार काम नगरी हवाई माफियाको निर्देशनमा निगमलाई बन्द गराउन योजना अनुसार भइरहेको आरोप लगाएका छन् ।
हिमालयन एयरलाइन्सलाई नियमित उडान सञ्चालन अनुुमति भारत, हंङकङमा माग गर्दा नेपालीको लगानी गरेको रकमको स्रोत खुलाउन नसकेको कारण हालसम्म अनुमति नपाएको समेत संघले खुलासा गरेको छ ।