काठमाडौं । पछिल्लो समय दुईपांग्रे सवारी विक्रेता कम्पनीले चाडपर्व लक्षित अफर सार्वजनिक गरेसँगै बाइक तथा स्कुटरको व्यापार ह्वातै बढेको छ ।
कम्पनीनै पिच्छे सस्तो दरमै डाउन पेमन्ट, क्यास ब्याक र छुटकै कारण बाइक तथा स्कुटर बिक्री उल्लेख्य रूपमा वृद्धि भएको हो । पछिल्लो समय कोरोना भाइरस लकडाउनपछि दुईपांग्रे सवारीप्रतिको मोह पनि बढ्दै गएको छ ।
लकडाउन लगत्तै पनि व्यवसायलाई चलायमान बनाउन अटो कम्पनीहरूले प्याकेज सार्वजनिक गरेका थिए । उक्त समय पनि दुईपांग्रे सवारी बिक्री उल्लेख्य रहेको व्यवसायीको भनाइ छ ।
हाल नेपालमा चर्चित ब्रान्डहरू बजाज, केटीएम, होन्डा, यामाहा, टीभीएस, हिरो लगायतका कम्पनीले बाइक तथा स्कुटर पारखीलाई विभिन्न स्किमले लोभ्याउँदै आएका छन् । अझ, दसैं लक्षित नयाँ विशेषता सहितका सवारी सार्वजनिकले नयाँ रौनक छाएको छ । दसैं–तिहार अफर सार्वजनिकपछि दैनिक २ सयभन्दा बढी बाइक कम्पनीहरूले बिक्री गर्दै आएको व्यवसायी बताउँछन् ।
हुलास अटो क्राफ्ट तथा एचएच बजाजका प्रवन्ध निर्देशक अभिमन्यु गोल्छाले मौसमको कारण बाइक बिक्रीमा केही असर गरे पनि २ सयदेखि २५० वटा बाइक दैनिक बिक्री भइरहेको बताए ।
‘हामीले कोभिड प्याकेजहरू पनि सार्वजनिक गरेका थियौं, त्यतिबेला अहिलेको भन्दा दोब्बर दुईपांग्रे सवारी बिक्री भएको थियो,’ गोल्छाले भने, ‘दसैं लाग्न अझै २० दिन बाँकी रहेकाले बिक्री अझै बढ्ने अनुमन गरेका छौं ।’
अहिले बजाज नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकलका रूपमा चिनिन्छ । गोल्छा गु्रपले लकडाउनपछि दसैं लक्षित चारवटा नयाँ मोडलको बाइक भित्र्याइसकेको छ ।
बजाजले अहिले बाइक खरिदमा १० हजार छुट, शून्य प्रतिशत ब्याजदर र २० प्रतिशत डाउन पेमेन्ट अफर दिरहेको छ । नेपालमा अहिले बजाज, केटीएम, यामाहा, टीभीएस र हिरोका सवारीसाधन नै बढी रोजाइमा पर्दै आएका छन् ।
जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज ढकालले बन्दाबन्दी पनि सर्वसाधारणले दुईपांग्रे सवारीमा थप आकर्षित भएको बताए । ‘सार्वजनिक सवारीमा कोरोना भाइरस जोखिम र यात्रामा सहजीकरण पनि नहुने हुँदा बाइक स्कुटर पनि मानिस रूपान्तरित भएका हुन्’ ढकालले भने, ‘सबैको लक्ष्य दसैंमा नै सवारीसाधन किन्ने भन्ने हुन्छ ।’
अहिले पैसा नभएकोका लागि पनि शून्य प्रतिशत डाउनपेमेन्टमा बाइक दिइरहेको छ । पछिल्लो समय झन् पहिलाको तुलनामा सार्वजनिक सवारीसमेत कम चलेका छन् । उनका अनुसार टीभीएस बाइक तथा स्कुटर दैनिक डेढसयदेखि दुई सयसम्म बिक्री भइरहेको ढकालको भनाइ छ ।
चारपांग्रे गाडीमा मानिसको उत्साह नभए पनि दुईपांग्रे सवारीसाधन किन्नेहरूको स्वरुममा भीडभाड हुन थालेको छ । अहिले बाइक हेर्न र अवलोकन गर्न आउने दैनिक हजारभन्दा बढी हुने व्यवसायी बताउँछन् ।
नेपाल जनरल मार्केटिक प्रालि, हिरो नेपालका सिनियर सेल्स म्यानेजर दिनेश बज्राचार्यले गत वर्षहरूको तुलनामा बाइक तथा स्कुटरको बिक्री यो वर्ष नभएको बताउँछन् । लकडाउन खुले लगत्तैभन्दा अहिलेको व्यापार वृद्धि भएको छ ।
उनका अनुसार अहिले कम्पनीले दैनिक २ सयभन्दा बढी बाइक तथा स्कुटर बिक्री गर्दै आएको छ । दसैं लक्षित स्कीममा कम्पनीहरूले सस्तो डाउनपेमेन्ट, ‘लक्की ड्र’, एक्सचेन्ज र नियमित छुटलाई प्राथमिकता दिएका छन् ।