काठमाडौं । पछिल्लो ६ महिना कोरोना भाइरस(कोभिड—१९) को नियन्त्रण गर्न जारी गरिएको बन्दाबन्दी र निषेधाज्ञाले अधिकांश विकास निर्माणका आयोजना ठप्प भए ।
सरकारले गत असोज १ गतेदेखि निषेधाज्ञा खुकुलो बनाउँदै निर्माण उद्योग, कलकारखाना, निर्माण ढुवानीका साधन सञ्चालनको अनुमति दियो । तर, स्वदेश तथा विदेशी कामदार तथा श्रमिकहरू काममा नफर्कंदा विकासे आयोजनाका कामहरू अझै पनि अघि बढ्न सकेका छैनन् ।
यता, सरकारले पनि बन्दाबन्दीकै अवधिमा विकास निर्माणका आयोजनालाई सुचारु गर्न भन्यो । तर, निर्माण सामग्री ढुवानी, सवारी पास, साइटमा निर्माणकर्मी तथा कामदार झिकाउने लगायतका समस्याले अहिले पनि विकास निर्माणका काम अघि बढ्न सकेका छैनन् ।
खासगरी, सडक, पुल, सुरुङमार्ग लगायतका कामहरू कोभिडको कारण प्रभावित हुन पुगे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगत सडक विभागले हेर्ने रणनीतिक सडक र पुल निर्माणको कामले गति लिन सकेन् । गत आर्थिक वर्ष २०७६÷०७७ मा पनि ती आयोजनाको भौतिक प्रगति सन्तोषजनक रहेन् ।
चालू आर्थिक वर्ष २०७७/०७८ सुरु भएर दुई महिना बितिसक्दा पनि कोभिडकै कारण क्रमागत तथा बहुवर्षे ठेक्काका विकासका परियोजनाले गति लिन नसकेका हुन् ।
खासगरी, हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी (पुष्पलाल) राजमार्ग, मुग्लिन बुटबल, मुग्लिन—पोखरा, उत्तर—दक्षिण करिडोरलगायतका सडक आयोजनामा काम अवरुद्ध भएका छन् । सुरु हुने चरणमा रहेको पाइपलाइनिङ परियोजनाहरू पनि थला परे ।
विभिन्न सडक आयोजनामा काम गर्ने स्वदेशी तथा विदेशी कामदार ‘साइट’ मा फर्किन सकेका छैनन् । सीमित कामदारहरू साइटमै बसेर काम गरिरहेको सडक विभागले जनाएको छ ।
निषेधाज्ञा खुकुलो भएर रणनीतिक सडक निर्माणको काम अघि बढ्छ भन्ने अपेक्षा थियो । तर, अत्यधिक वर्षाका कारणले पनि सडक निर्माण आयोजनाका काम हुन नसकेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।
‘चालू आव सुरु भए पनि त्यति काम हुन सकेन् । किनभने यो वर्ष अत्यधिक पानी पर्यो’ उनले भने, ‘पानी परेर सडकमा पहिरो जाने र बाढी आउने कारणले धेरै सडक पटक–पटक अवरुद्ध भए । झरी परिरहँदा सडक निर्माणका काम, कालोपत्रे र विस्तारका काम हुन पाएनन् ।’
एक कोभिडको असर अर्कोतर्फ बाढी र पहिरोको कारणले पनि धेरैसँग सडक निर्माणका कामहरू अघि बढ्न नपाएको उनी बताउँछन् ।
कोरोना महामारी नेपालमा पनि फैलिएसँगै धेरै सडक तथा विकासे आयोजनामा कार्यरत कामदार तथा मजदुर गाउँ गए । विदेशी श्रमिक तथा प्राविधिक कामदारहरू बन्दाबन्दीले साइटमा फर्कन पाएनन् । फलस्वरूप, पूर्वाधार निर्माणका धेरैजसो आयोजना ठप्प प्रायः हुन पुगे ।
निषेधाज्ञा खुकुलो भएसँगै स्वदेशी कामदार केही मात्रामा साइटमा फर्केका छन् । तर, विदेशी कामदार तथा प्राविधिक फर्कन पाएका छैनन् । सीमित कामदारले मात्र आयोजनामा काम गरेको सडक विभागले जनाएको छ । ‘सबै साइटमा कामदारहरूको संख्या निकै कम छ । तर, उहाँहरू साइटमै बसेर काम गरिरहनुभएको छ । मदन भण्डारी राजमार्ग र मध्यपहाडी राजमार्गमा सीमित कामदार भए पनि केही काम भइरहेको छ,’ महानिर्देशक शर्माले भने ।
मौसम सुधार हुने देखिएकाले दसैंअघि एकपटक सबैतिरका सडक मर्मत÷सम्भारको कामले गति लिने शर्माले बताए । काठमाडौं उपत्यकाभित्र सडक विभागले हेर्ने रणनीतिक सडकमा केही संरचना नहट्दा काम हुन सकेन् । वैदेशिक सहयोगमा निर्माण अघि बढाइएका परियोजना पनि कोभिडको कारण काम हुन सकेन् ।
खासगरी जापनी ऋण सहयोगमा निर्माण सुरु भएको नागढुंगा सुरुङमार्गको काम लकडाउनमा ठप्प नै भयो । अहिले पनि जापानबाट कामदार तथा प्राविधिक फर्किएका छैनन् ।
यद्यपि, अहिले भने केही स्वदेशी कामदारहरू फर्केर साइटमा मुभिलाइज भइसकेका छन् । सीमित कामदारबाट साइट ब्याक लगायतका काम भए पनि मुख्य सुरुङमार्ग निर्माणको काम सुरु सकेको छैन । किनभने मुख्य सुरुङमार्गको काम अघि बढाउन जापानी प्राविधिक तथा इन्जिनियर आउनुपर्ने हुन्छ । यता, चालू आवमा नै नागढुंगा—मुग्लिन सडक विस्तार गर्ने योजना पनि सुरु हुन सकेको छैन ।
यता, नयाँ चाड मनाउन स्वदेश फर्केका कामदार तथा प्राविधिक नफर्किंदा बुटबल नारायणघाट सडकखण्डको काम ठप्प छ । विभिन्न जिल्लाबाट आउने स्वदेशी कामदारलाई पनि साइटमा फर्काउन सकिएको छैन । मुग्लिन–पोखरा सडक विस्तार यसै वर्षअघि बढाउने योजना हो । तर, कोभिड सुरु भए पनि बोलपत्र आह्वान, मूल्यांकन लगायतका काम पनि अघि बढ्न सकेका छैनन् ।
चिनिँया ठेकेदार नआउँदा दोस्रो चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकीदेखि महाराजगन्जसम्म खण्डको काम पनि सुरु हुन पाएन् ।
गएको वैशाखबाटै चक्रपथ निर्माणका लागि चिनियाँ पक्षलाई सडक हस्तान्तरण गर्ने भने पनि कोभिड—१९ र लकडाउनले प्रक्रिया अघि बढ्न सकेन् ।
चिनिँया प्राविधिक तथा कामदार पनि आउन सकेनन् । त्यतिमात्रै होइन्, सो सडकखण्ड आसपास र क्षेत्रको साइट क्लियरेन्सको काम पनि बाँकी नै छ । चालू आवमा सो चक्रपथका लागि झन्डै २ अर्ब बजेट विनियोजन भएका थियो ।
नागढुंगा–मुग्लिन सडक विस्तार र पूर्व—पश्चिम राजमार्गअन्तर्गत पथलैयादेखि कमलासम्मको सडक विस्तार गर्न विश्व बैंकसँग ऋण सहयोग माग गरे पनि कोभिडका कारणले सम्झौत हुन सकेको छैन ।
मुलुक पूरै लकडाउन भइरहँदा ऋण सम्झौता हुन नसकेको सडक विभागले जनाएको छ । उता, रसुवागढी–स्याफ्रबेसी सडक निर्माणको काम पनि प्रभावित बनेको छ ।