काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलार्ई आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र सेल्फ ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी दिन निर्देशन दिएका छन् ।
नेपाल नागरिक उड्डयन मन्त्रालयले केही दिनअघि हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी दिएपछि चौतर्फि विरोध भएको थियो ।
मन्त्री भट्टराईको समेत नाम जोडेर विरोध भएपछि उनले विशेष चासो राख्दै आइतबार बिहान प्राधिकारणका महानिर्देशक राजन पोखरेल र पर्यटन सचिव केदारबहादुर अधिकारीसँग छलफल गरेका थिए ।
छलफलको क्रममा मन्त्री भट्टराईले आवश्यक प्रक्रिया पूरा गरेर मात्र जिम्मेवारी दिन निर्देशन दिएका हुन् ।
योसँगै थाई एयरवेज र एयर इण्डियाको पनि आवश्यक प्रक्रिया पुगेको वा नपुगेको विषयमा आवश्यक अध्ययन गर्न निर्देशन दिएका छन् । अध्ययनका क्रममा प्रक्रिया नपुगेको पाइएमा जिम्मेवारी खोसेर नेपाल वायुसेवा निगमलाई दिन भनिएको छ ।
हिमालयले अहिले पाएको अनुमतिअनुसार आवश्यक प्रक्रिया पूरा गर्न झन्डै ६ महिनाभन्दा बढी समय लाग्छ । प्राधिकरणका महानिर्देशक पोखरेलले ग्राउण्ड ह्यान्डलिङका लागि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र सम्पूर्ण अधिकारी पाउने बताए ।
प्राधिकरणले असोज ४ गते हिमालयलाई आफ्ना जहाज आफैं भूमिस्थ प्रबन्ध गर्ने अनुमति दिएको हो । प्राधिकरणले भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२ अनुसार विमानस्थलमा अन्तर्राष्ट्रिय वायुयानको सेल्फ ग्राउन्ड ह्यान्डलिङ प्रमाणपत्र दिइएको उल्लेख छ ।
हिमालयले ४२ उडान तालिका स्वीकृत भएको र सोहीअनुसार उडान गर्ने र त्यसको व्यवस्थापन क्षमता भएको भन्दै भदौ ३१ गते प्राधिकरणमा आवेदन दिएको थियो ।