काठमाडौं । चिल्ला र खाल्डाखुल्डीविहीन भएका काठमाडौंका सडक फेरि पुरानै अवस्थामा फर्किएका छन् ।
भौतिक तथा पूर्वाधारमन्त्री बसन्तकुमार नेम्बाङ आएसँगै काठमाडौं सडक फेरिएर मन्त्रीले समेत प्रसंशा पाइरहेको अवस्थामा अहिले भने सडकको दुरावस्था पुरानै अवस्थामा पुगेको छ ।
तत्कालीन मन्त्री रघुवीर महासेठका पालामा काठमाडौंका सडकमा सुधार नआउँदा सरकारको समेत ब्यापक आलोचना भएको थियो ।
नेम्बाङ मन्त्री भएर आएसँगै काठमाडौं उपत्यकाका मुख्य तथा सहायक धेरै मार्गहरु खाल्डाखुल्डी पुरिने र बाटो पिच गरेर टल्काउने काम भएपछि मन्त्रीको प्रशंसा भएको थियो । तर, केही समययता फेरि उपत्यकाका सडकहरुको अवस्था उस्तै भएको छ ।
साउन, भदौ र असोजको झरीले बाटोघाटो बिग्रेको र सरकारले त्यसलाई चासो नदिदा पुरानै अवस्थामा फर्किएको छ ।
खासगरी, अधिकांश सडक डुबानमा पर्ने, दिनहुँजसो पानी जमेको सडकमा सवारी साधनको चाप बढेपछि बाटोको दुरावस्था सुरु भएको हो ।
केही सडकमा झारा टार्ने गरी टालटुल बाहेक उपत्यका भित्रका अधिकांश सडकको दुरावस्था फेरिएन् । जसका कारण, दसैंका बेला हुने सवारी जामले आवतजावत गर्ने यात्रु तथा सवारी चालकलाई सास्तीको दिने भएको छ ।
दैनिक रुपमा भइरहेको वर्षाले सबै सडकको मर्मत र खाल्डाखुल्डी पुर्न सक्ने अवस्था नभएको सडक विभागले जनाएको छ ।
विगतका चाडबाड अघि जस्तो खाल्डाखुल्डी पुर्ने काम अहिले त्यति हुन नसकेको विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए । ‘केही सडकमा खाल्डाखुल्डी परेको हुन सक्छन् । विगतमा जस्तो खाल्डाखुल्डी पुर्ने काम त्यति भएको छैन,’ उनले भने, ‘तर, यसअघि नै मर्मत सम्भार गरेकै सडकहरु त्यति बिग्रेका छैनन् ।’
नागढुंगा पुलिसचौकी आसपासमा केही ठूला खाल्डाकै कारणले नौविसेदेखि नागढुंगासम्म ठूलो जाम हुने गरेको छ । त्यहाँ खाल्डाहरु अझै पुरिएका छैनन् । नागढुंगादेखि कलंकीसम्म अधिकांश ठाउँमा खाल्डाखुल्डीकै कारणले जाम र सास्ती हुने गरेको छ ।
यता, चाबहिल—जोरपाटी—बौद्ध सडक खण्डमा खाल्डाखुल्डी मात्रै होइन । वर्षा हुनासाथ खाल्डाखुल्डीमै पानी जम्ने तथा हिलोमै सवारी गाडिनुपर्छ । बानेश्वर, गोंगबु, कलंकी, थली, सोह्रखुट्टे, बालाजु, चक्रपथ, कोटेश्वर र अन्य भित्री सडकका खाल्डाखुल्डीको जोखिम छ ।
खाल्डाखुल्डी मात्रै होइन् । पानी पर्नासाथ सडकमा हिलो हुने र पानी रोकिएर घमाइलो हुनासाथ धुलो उड्दा पनि अहिले उपत्यकावासीले यात्रा गर्दा दुःख पाइरहेका छन् । घाम लागेको बेलामा कलंकीदेखि बालाजुसम्म यात्रा गर्दा धुलोले मान्छे नचिन्ने अवस्थामा पुग्ने गरेको बालाजुका एक स्थानीय सन्तोष क्षेत्रीको अनुभव छ ।
पानी परेको बेला सडकमै खोला बग्ने सास्तीले धेरै पटक बाइक पल्टिएर समस्या खेप्नुपरेको तितो गुनासो उनको छ । दसैं सुरु हुन थालेपछि उपत्यकाबाट बाहिरिने र किनमेल गर्नेको ठूलो भीड हुने नै भयो ।