काठमाडौं । ओभर दी टप (ओटीटी) मोबाइल एप कन्टेन्ट र देशव्यापी विस्तार भइरहेको मोबाइल भ्वाइस सेवाको पहुँचले नेपालमा ल्यान्डलाइन टेलिफोन बजार खुम्चिदै गएको छ ।
भाइबर, फेसबुक, हवाट्सएप लगायतका मोबाइल एप कन्टेन्ट सेवा प्रदायकको कारण नेपालमा टेलिकम कम्पनीहरूको भ्वाइस सेवाबाट हुने आम्दानी र प्रयोगकर्ता घट्दै गएको अवस्थामा यसको प्रत्यक्ष असर ल्यान्डलाइन टेलिफोन परेको हो ।
पछिल्लो समय अझ देशव्यापी रूपमा मोबाइल भ्वाइस सेवाको आक्रामक पहुँच विस्तार भइरहेको छ । मोबाइल प्रयोगकर्ता उल्लेख्य रूपमा वृद्धि भइरहँदा ल्यान्डलाइन फोन प्रति नेपाली मोह घट्दै गएको नियामक नै बताउँदै आएको छ ।
नेपालमा दूरसञ्चार क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको र त्यतिबेला विकल्प रहेको ल्याण्डलाइन फोन विस्थापन हुने अवस्थामा पुगेको हो । चार दशकअघि नेपाल टेलिकमले नयाँ प्रविधिको रूपमा ल्याएको ल्यान्डलाइन फोन पब्लिक स्वीच टेलिफोन नेटवर्क (पीएसटीएन) सेवा सुरु गरेको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणको गत असार महिनासम्मको एमआईएस तथ्याङ्कअनुसार अहिले ६ लाख ६४ हजार ग्राहक छन् । विगत केही वर्षदेखि टेलिकमको ल्यान्डलाइन फोनको प्रयोगकर्ता ५ देखि ६ लाखको बीचमा सीमित छन् ।
गत वर्ष सोही अवधिमा ल्यान्डलाइन प्रयोगकर्ता ६ लाख ७७ हजार थिए । योसँगै एक वर्षमै १३ हजारभन्दा बढी प्रयोगकर्ता घटेका छन् । नेपालमा दूरसञ्चार सेवाको सहज पहुँच र नयाँ प्रविधिकै कारण पनि फिक्सड भ्वाइस सेवा ल्यान्डलाइनमा नयाँ ग्राहकको आकर्षण छैन । नेपालमा टेलिकमले मात्र उपलब्ध गराइरहेको ल्यान्डलाइन फोन सुविधामा पुराना ग्राहकमै चित्त बुझाइरहेको छ ।
नेपाल टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले ल्यान्डलाइन फोनको बजार आगामी केही वर्षभित्र आधा घट्ने अनुमान गरिएको बताए । नयाँ प्रविधि र मोबाइल पहुँचको वृद्धिले ल्यान्डलाइन फोनका प्रयोगलाई घटाउँदै गएकाले फिक्सड भ्वाइस सेवाको विकल्प खोज्नुपर्ने अवस्था आएको उनको भनाइ छ । टेलिकमले भएका ल्यान्डलाइन प्रयोगकर्तालाई एफटीटीएचमा कन्भर्ट गरेर अगाडि बढ्ने तयारी गरेको छ ।
विशेषगरी टेलिकमले सरकारी कार्यालय तथा निजी क्षेत्रका केही कार्यालयमा ल्यान्डलाइन टेलिफोनको प्रयोग भइरहेको छ । तर, निजी क्षेत्रमा पनि एनसेलको सस्तो दरमा कर्पोरेट सेवाको कारण प्रयोग घट्दै गएको छ ।
प्राधिकरणको तथ्याङ्कले विगत ८ वर्षको अन्तरालमा ल्यान्डलाइन टेलिफोनका ग्राहक ६ लाख कटेका छैनन् । २०७४ असारसम्म ल्यान्डलाइन टेलिफोन प्रयोगकर्ता ६ लाख ८४ हजार थिए । २०७५ मा आइपुग्दा यो संख्या ६ लाख ८६ हजारमा झरेको थियो ।
त्यसैगरी २०७६ मा ६ लाख ७७ हजार र ०७७ सम्म आइपुग्दा ल्यान्डलाइन प्रयोगकर्ता ६ लाख ६४ हजार छन् । नेपालमा मोबाइल सेवाको बजार हिस्सा ९८ प्रतिशत छ । जसमा फिक्सड भ्वाइस सेवा ल्यान्डलाइन सेवाको नेपालमा पहुँच भने २ प्रतिशत मात्रै छ ।