बेइजिङ । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोना भाइरस विरुद्धको खोप (कोरोना भ्याक) सन् २०२१ को सुरुमा तयार हुने बताएको छ । यो खोप संयुक्तराज्य अमेरिकालगायत विश्वका विभिन्न मुलुकमा वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।
सिनो भ्याकका प्रमुख कार्यकारी यिन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्तराज्य अमेरिकामा कोरोना भ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) समक्ष आवेदन दिइने पनि उनले बताए ।
आफूले व्यक्तिगत रुपमा पनि कोरोना भ्याक लगाइसकेको उनले जानकारी दिए । “सुरुमा हाम्रो रणनीति अनुसार चीन र वुहानका लागि खोप डिजाइन गरिएको थियो । तर, जुन र जुलाईमा हामीले हाम्रो रणनीतिमा परिमार्जन गरे। हामीले यो भ्याक्सिन विश्वमै आवश्यक भइसकेको बुझ्यौं,” उनले भने । चिनियाँ सहरमा भाइरस पहिलोपटक देखापरेको पनि स्पष्ट गरे । “हाम्रो लक्ष्य अमेरिका, युरोपेली संघ र अन्य मुलुकलगायत विश्वलाई नै खोप प्रदान गर्नु हो,” उनले भने ।
अमेरिका, युरोपेली युनियन, जापान र अष्ट्रेलियाका कडा नियमहरूका कारण विगतदेखि नै चिनियाँ खोपहरू बिक्री हुन सकेका छैनन् । तर यीन वेडोङ्को भनाइमा यसपटक चिनियाँ खोपले विश्वास जित्नेछ ।
चीनमा सरकारी स्वामित्वको समेत गरी ४ वटा कम्पनीले कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेका छन् । जसमा सिनो भ्याक पनि एउटा हो । सरकारी स्वामित्वको सिनोफार्मले २ किसिमका खोपमाथि परीक्षण गरिरहेको छ भने सैनिक स्वामित्वको क्यानसिनोले पनि खोप निर्माण गरिरहेको छ ।
यिनले भने, कोरोना भ्याक खोपको परीक्षणमा ब्राजिल, टर्की र इन्डोनेसियाका २४ हजार व्यक्ति सहभागी छन् । यसबाहेक बंगलादेश र सम्भवत चिलीमा पनि यस खोपको परीक्षण गरिनेछ ।
सिनो भ्याकले धेरै संक्रमित भएका, ठूलो जनसंख्या रहेका तथा अनुसन्धान र विकासको क्षमता सीमित रहेका मुलुकहरु छनोट गरेको जनाएको छ । यिन बेइजिङको दक्षिणमा रहेको सिनोभ्याक प्लान्टको भ्रमणका क्रममा पत्रकारहरूसँग बोल्दै थिए । यो प्लान्टमा १ वर्षमा ५ लाख खोप उत्पादन हुन सक्छ ।
कम्पनीले आगामी वर्ष सन् २०२१ को फेब्रुअरी वा मार्चसम्ममा १ करोडसम्म खोप उत्पादन गर्ने लक्ष्य लिएको छ । सिनो भ्याकले जोखिममा रहेका बच्चा र बूढाबूढीका लागि कोरोना भ्याकको सानो खुराक पनि परीक्षण गर्न थालेको छ । यिनले कम्पनीले कोरोना भ्याकको मानव परीक्षण चलाउने देशहरूमा पहिलो चरणमा खोप वितरण गर्ने बताए ।
खोपको स्वीकृत मापदण्ड बमोजिम कोरोना भ्याक खोपको अझै तेस्रो चरणको क्लिनिकल परीक्षण सम्पन्न नभए पनि सिनो भ्याकले चीनमा हजारौं मानिसलाई आपतकालीन प्रयोग प्रावधानअन्तर्गत सम्मिलित गरिसकेको छ ।
यिनले आफूसहित अनुसन्धाताहरुले १ महिनाअघि प्रायोगिक खोप लिइसकेको बताए । मानव परीक्षणको पहिलो र दोस्रो चरणमा कुनै गम्भीर प्रतिकूल प्रभाव देखाएनन्, उनले भने ।
“यो हाम्रो कम्पनीको परम्परा हो,” यीनले भने । आफूले हेपाटाइटिस खोप विकासको क्रममा यस्तै गरेको पनि जानकारी दिए । यस वर्षको सुरुमा, चीनले जोखिमयुक्त जनसंख्याका लागि खोप लगाउन अनुमति दिएको थियो जसमा १ हजारभन्दा बढी स्वास्थ्यकर्मी र सीमा रक्षकहरु सामेल थिए ।
सिनो भ्याकले सिनोफर्म र क्यानसिनोसँगै गत जुनमा अनुमति प्राप्त गरेको थियो । बेइजिङ महानगरलाई दशौं हजार कोरोना भ्याकको डोज उपलब्ध गराइएको पनि यीनले बताए । सिनो भ्याकमा कार्यरत ९० प्रतिशतभन्दा बढी कर्मचारीलाई कोरोना भ्याक दिइएको कम्पनीले जनाएको छ ।
“हामी विश्वस्त छौं कि कोभिड–१९ भ्याक्सिनसम्बन्धी हाम्रो अनुसन्धानले अमेरिका र युरोपेली मुलुकहरुका मापदण्ड पूरा गर्न सक्षम हुनेछ,” यिन वेडोङ्ले बताए ।