काठमाडौं । थाई एयरवेज र एयर इन्डियासँगै हिमालय एयरलाइन्सले पनि ग्राउण्ड ह्यान्डलिङको अनुमति पाएको छ । यसअघि हिमालयको ह्यान्डलिङ नेपाल वायुसेवा निगमले गरिरहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आफ्नो हिस्सा बढाउँदै लगेपछि हिमालयले ह्यान्डलिङको अनुमति मागेको थियो । त्यही अनुरुप नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज ४ गते हिमालयलाई आफ्ना जहाज आफैं भूमिस्थ प्रबन्ध गर्ने अनुमति दिएको महानिर्देशक राजन पोखरेलले जानकारी दिए । प्राधिकरणले भूमिस्थ सेवा सञ्चालन निर्देशिका–२०७२ अनुसार विमानस्थलमा अन्तर्राष्ट्रिय वायुयानको ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ प्रमाणपत्र दिइएको उनले बताए ।
यो अनुमतिसँगै हिमालयले आफ्नो जहाजको व्यवस्थापन आफैं गर्नेछ । यस अघि निगमले गर्दै आएको थियो । विदेशमा आफ्नो जहाज आफंैले व्यवस्थापन गर्ने प्रचलन छ । त्यही अनुरुप लामो समयदेखि नेपालमा थाइ एयरवेज र एयर इन्डियाले गर्दै आएका थिए ।
कुनै पनि एयरलाइन्सले उडान सञ्चालन गर्दा त्यसमा आउने तथा जाने यात्रुहरुका लागि बोर्डिङ पास जारी गर्ने, जहाजसम्म यात्रुहरु लिनका लागि, ब्यागेज तथा कार्गो ओसारपसार, क्याटरिङ, इन्धन, एयरक्राफ्ट सफाइ, एयरसाइड व्यवस्थापन लगायतका सेवा दिनुलाई भूमिस्थ प्रबन्ध भनिन्छ ।
आफैं यस्तो सेवा दिने अनुमति नपाएका एयरलाइन्सले भने यसबापत शुल्क दिनुपर्छ ।
प्राधिकरणले हिमालयलाई यस्तो सेवा सञ्चालन गर्न पूर्वसर्त तोकेको छ । जसअनुसार सेवा सञ्चालन गर्दा चाहिने मेसिन, औजार, तेस्रो पक्ष बिमा (न्यूनतम ५ करोड डलर) गर्नुपर्ने, निर्देशिकाअनुसार शुल्क बुझाउनुपर्ने, व्यवस्थापकीय क्षमता विकास गर्नुपर्ने लगायतका सर्तहरू तोकिएको छ । यी सर्त पूरा भएपछि एयरलाइन्सले सेवा सञ्चालन गर्न पाउनेछ ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले प्राधिकरणको अनुमतिसँगै आफ्ना यात्रुहरूदेखि जहाजसम्मको व्यवस्थापन आफैंले गर्ने बताए । अब हिमालय एयरलाइन्सका यात्रुहरूले आफ्नै गाडी र आफ्नै कर्मचारीहरूले व्यवस्थापन गर्ने छ, उपाध्यक्ष श्रेष्ठले भने ।
हिमालयसँग एयरबसका ए३२०–२१४ सिरिजका तीन र ए३१९–११५ सिरिजको एक जहाज छन् । सन् २०१६ देखि नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको हिमालयमा चिनियाँ लगानीसमेत छ । यती समूहको लगानी रहेको हिमालयले यूएई, मलेसिया, साउदी अरेबिया, बंगलादेश र चीनमा उडान गरिरहेको छ ।
यसअघि जहाजमा केही समस्या आएमा वा केही ढिलाइ भएमा समेत निगमका कर्मचारीहरूलाई गुहार्नुपर्ने बाध्यता थियो । निगमले ३ वटा एयरलाइन्सबाहेक २५ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सको ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी भने लिइरहेको छ । निगमको सो अनुमति २०७८ जेठदेखि सकिँदैछ ।
पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले निगमलाई जहाजको व्यवस्थापनभन्दा जहाज सञ्चालनमा प्रतिस्पर्धा गराउनु पर्नेमा जोड दिँदै आएको थियो । निगमले जहाज सञ्चालनभन्दा जहाज व्यवस्थापनबाट ठूलो आम्दानी गरिरहेको थियो ।