काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्न काठमाडौं उपत्यका बाहिर ठूला तीनवटा ल्याब (प्रयोगशाला) स्थापना गर्ने योजना बनायो ।
त्यसका लागि १५ करोड बजेट पनि छुट्यायो । तर, अहिलेसम्म पनि ल्याब खरिद प्रक्रिया सुरु हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अहिलेसम्म पनि ल्याब खरिद प्रक्रिया अघि बढाएको छैन ।
ल्याब खरिद प्रक्रिया कहिलेसम्म हुन्छ भन्ने विषयमा विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भने, ‘गत वर्षकै कार्यक्रम हो । त्यसबेला ल्याब खरिद गर्न पाएनौं । अहिले पनि त्यो कार्यक्रमको ‘सिनारियो’ त्यति राम्रो छैन ।’
उनले ल्याब खरिद गर्नमा ढिलाइ भएको स्वीकार गरे । ‘अहिलेसम्म पनि ल्याब खरिदका लागि टेण्डर गर्न सकेका छैनांै । सुरु गर्ने प्रक्रिया छौं,’ उनले भने, ‘अघिल्लो वर्ष केही तयारी भए पनि त्यसबेलाको ‘डकुमेन्ट’लाई नै फोटोकपी गर्न नमिल्ने कारणले ढिलाइ भएको हो ।’
ल्याब खरिद प्रक्रियामा नयाँ कर्मचारी पनि ‘कन्भिन्स’ हुनुपर्ने उनको भनाइ छ । पुरानो डकुमेन्टलाई पनि नयाँ कमिटीले ‘इन्डोर्स’ गरेपछि मात्रै प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।
१२ वटा नेपाल र भारतीय नाका स्क्रिनिङ परीक्षण ल्याब राखिनेछ । विराटनर, हेटौंडा र भैरहवामा ठूला ल्याब स्थापना गर्ने लक्ष्य थियो ।
आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर मात्रै भित्र्याउने उद्देश्यअनुसार पहिलो चरणमा तीनवटा ल्याब स्थापना गर्ने कृषि मन्त्रालयको लक्ष्य थियो ।
तीनवटै ल्याबबाट सबै प्यारामिटर वा विभिन्न २९ वटा विषादीका ग्रुप चेकजाँच गर्न सकिन्थ्यो । ल्याबले अन्तर्राष्ट्रिय मापदण्डअनुसार विषादी चेकजाँच गर्न सकिने जनाएको छ । अहिले प्रदेश नम्बर ३ ले ५ वटा प्रयोगशाला स्थापना गरी चेकजाँच गरिरहेको छ ।
सबै प्रदेशमा गरी जम्मा ११ वटा ल्याबमार्फत नियमित तरकारी तथा फलफूल र उपभोग्य वस्तुको चेकजाँच भइरहेको छ । नयाँ ल्याब काठमाडौं उपत्यका बाहिर पूर्व, मध्य र पश्चिमी क्षेत्रमा राखिनेछ ।