केन्द्रीय बैंकले ‘फोर्स मर्जर’ त गराउनै हुँदैन । स्वेच्छिक मर्जरलाई प्रोत्साहन गर्नुपर्छ । जुन बैंकको अवस्था बिग्रिन लागेको छ, त्यस्ता बैंकलाई राम्रो बैंकसँग जोड्नु पनि हुँदैन । किनभने, स्वस्थ गोरुको हल कमजोर गोरुसँग गरिदियो भने स्वस्थ गोरु पनि अस्वस्थ हुन पुग्छ । किनभने कमजोर गोरुको भार पनि स्वस्थ बोक्नुपर्छ ।
त्यही भएर केन्द्रीय बैंकले खराब वित्तीय स्थिति भएका बैंकलाई जोगाउन ठूला र राम्रा बैंकसँग मर्ज गराउने नीति त्याग्नु पर्छ । केन्द्रीय बैंकले ठूला बैंकलाई ढाल्ने नीति लिन लागेको होइन्, सबै बैंकलाई राम्रो बनाउन लागेको हो । त्यही भएर कमजोर बैंकलाई बलियो बैंकसँग मर्ज गराउनु पनि हुँदैन र केन्द्रीय बैंकले गराउँदैन पनि । अहिलेसम्म बजारमा जे जस्ता चर्चाहरु भएका छन्, ती सबै हल्ला मात्रै हुन् ।
स्वेच्छिक मर्जर मात्रै सम्भव
केन्द्रीय बैंकले स्वेच्छिक मर्जरलाई प्रोत्साहन गर्नुपर्छ । अहिले जसरी बाध्यकारी मर्जरको कुरा आइरहेको छ, यो सबै हल्ला मात्रै हो । राष्ट्र बैंक आफै पनि बाध्यकारी मर्जर चाहँदैन ।
केन्द्रीय बैंकले मर्जरमा जानेलाई आकर्षक ‘स्किम’ ल्याओस्, सबै बैंकहरु लाइन लागेर जान्छन् । केन्द्रीय बैंकको आकर्षक स्किम खै ? यी कुरामा सहुलियत दिन्छौं भनेर केन्द्रीय बैंक आओस्, बैंक आफैंले जोडी खोजेर धमाधम मजर्रमा जानेछन । कसैले बाध्यकारी वा दबाबमा मर्जर गराउनै पर्दैन ।
जस्तो, केन्द्रीय बैंकले बढी सञ्चालक राख्न पाउने व्यवस्था गर्नुपर्छ । त्यो भनेको ११ जना सञ्चालकको संख्या हो । यसमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन आउँछ, त्यसलाई संशोधन गर्नुपर्छ । त्यसबाहेक आय करमा छुटदेखि लिएर विभिन्न कुराहरुमा छुट दिएमा बैंकहरु आफैं मर्जरमा जान्छन् ।
भीआरएस ल्याएर हुँदैन्, सीआरएस ल्याउनुपर्छ
अहिले बैंकले ‘भीआरएस’ ल्याउन पाउने व्यवस्था छ । तर, कम्पलसरी रिटायर्ड स्किम (सीआरएस) पनि ल्याउनुपर्छ । त्यसो हुँदा छोड्न चाहने कर्मचारीले भीआरएस र सीआरएस स्किममा आउन सक्छन् । बैंकले कर्मचारी घटाउन सक्छ । त्यसैगरी दुई ठूला बैंक मर्जर हुँदा दुईवटा प्रमुख कार्यकारी अधिकृतलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि केन्द्रीय बैंकले मिलाउनुपर्छ ।
बैंकमा काम गर्ने कर्मचारीका बारेमा पनि सबैले सोच्नुपर्छ । उनीहरुका बारेमा नसोची मर्ज गर्नु हुँदैन् । राष्ट्र बैंकलाई खराब लागेका बैंकको व्यवस्थापन उसैले लिँदा हुन्छ
यदि केन्द्रीय बैंकलाई कुनै बैंकको व्यवस्थापन खराब छ, उनीहरुको स्थिति राम्रो छैन भन्ने लागेको छ भने त्यो बैंकलाई टेकओभर गरेर व्यवस्थापन गर्न सक्छ र गर्नुपर्छ । केन्द्रीय बैंकलाई यी बैंकले राम्रो गरिरहेका छैनन्, यी बैंकलाई गाह्रो हुन्छ भन्ने लाग्छ भने त्यस्ता बैंकको व्यवस्थापन ‘टेकओभर’ गर्नुपर्छ ।
राष्ट्र बैंकले साना बैंक ठूलासँग मर्ज गर्ने कुरा आइरहेको छ । यदि साना बैंकको स्थिति खराब छ भने त्यस्ताको व्यवस्थापन एक वर्षसम्म केन्द्रीय बैंकले लिने र त्यसपछि मात्रै ठूला बैंकसँग मर्ज गराउनुपर्छ ।
नराम्रा बैंक लगेर राम्रामा मर्ज गराउनै हुँदैन
केन्द्रीय बैंकलाई लागेको नराम्रा बैंकलाई राम्रा बैंकसँग लगेर मर्ज गराउनै हुँदैन । नराम्रा बैंकलाई राम्रा बैंकसँग मर्ज गराउने बित्तिकै राम्रा बैंक पनि बिग्रिन थाल्छन् । त्यसो हुँदा न राम्रा बैंक झन राम्रो बन्न सक्छ नत नराम्रा बैंक राम्रो बन्न सक्ने अवस्था आउँछ ।
राम्रो सुशासन भएको बैंकमा नराम्रो सुशासन भएका बैंकलाई मिलाउँदा के हुन्छ ? बैंकभित्र समस्या देखिएकालाई राम्रा बैंकसँग मर्ज गराउनै हुँदैन । यसमा केन्द्रीय बैंकले के काम गर्न सक्छ भने सुशासन नभएका बैंकलाई टेकओभर गरेर सुशासन ठीक बनाएर ठूला वा सुशासन राम्रो भएको बैंकसँग मर्जमा पठाउन सक्छ ।
एनएमबी र एनआईसी एसिया बैंकबीच मर्ज असम्भव
एनएमबी बैंकमा एनआईसी एसिया बैंकका लगानीकर्ताको ४ देखि ५ प्रतिशत मात्रै ‘क्रसहोल्डिङ’ छ । त्यसमा साङ्घाई, विशाल र गोल्यान परिवार तथा समूहको सेयर छ । तर, तीनवटै परिवारको सेयर जोड्दा एनएमबीको होल्डिङ ४ देखि ५ प्रतिशतभन्दा बढी हुँदैन ।
तर, एनआईसीमा हेर्ने हो भने तीन वटाको धेरै बढी छ । तीन पनि होइन्, दुई ओटाकै धेरै बढी छ । एनएमबीमा ४/५ प्रतिशत भनेको केही पनि होइन । त्यसलाई कसरी क्रसहोल्डिङ भन्ने ? मान्छेको टाउको मात्रै गनेर त हुँदैन होला ।
एनएमबी र एनआईसीको कल्चर नै अलग–अलग
यी दुई बैंक अलग–अलग कल्चरमा हुर्किएका हुन् । यिनीहरुको कल्चर धेरै फरक छ । त्यसैले यो दुईवटा बैंक जोडियो भने ठूलो दुर्घटना हुन्छ । ठूलो विपद् निम्तिन सक्छ । मैले यो भन्न खोजेको होइन्, एनआईसी खराब बैंक वा एनएमबी खराब बैंक हो ।
दुईवटै बैंकहरुले आफ्नो ठाउँमा सफलता हासिल गरेका छन् । दुवैको कल्चर फरक छ । काम गर्ने तरिका फरक छ । एनएमबीको काम एनआईसी एसियाले गर्न सक्दैन । एनआईसीको जसरी एनएमबीले गर्न सक्दैन ।
एनआईसी एसिया एग्रेसिभ बैंक हो । एग्रेसिभ रुपमा गएकै कारण पछिल्लो समयमा सबैभन्दा ठूलो बैंक बन्न सफल भयो । एनएमबी एकदमै स्लो रुपमा अघि बढेको छ । दौडिने र हिँड्नेबीचमा त धेरै अन्तर होला नी । एनआईसी एसिया दौडिरहेको बैंक हो भने एनएमबी विस्तारै हिडिरहेको बैंक हो ।
एनआईसीको जसरी एनएमबीलाई दौडाउन खोजियो भने पनि दुर्घटना हुन्छ । एनएमबीको जसरी एनआईसीलाई लैजान खोजियो भने पनि दुर्घटना हुन्छ । त्यही भएर दुई बैंक एक आपसमा मर्ज सम्भव छैन । केन्द्रीय बैंकले एनएमबी र एनआईसीलाई राम्रोसँग बुझेको छ, त्यही भएर दुई बैंकलाई मर्जमा जान दबाब नै दिँदैन भन्ने मेरो बुझाइ हो ।
(बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यनसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको लेख)