काठमाडौं । सरकारले अनुदानमा मागेको नयाँ जातको उखुको बीउ दिन भारतले आनकानी गरेको छ । बढी उत्पादन दिने ३३ नयाँ जातका उखुको बीउ ल्याउन भारतसँग माग गरे पनि भारतले अहिलेसम्म बीउ उपलब्ध नगराएको हो ।
‘हामीले भारतसँग नयाँ जातका उखुको बीउ माग गरेको हो । तर, भारतले अहिलेसम्म दिएको छैन,’ कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने, ‘केही दिनअघि राजदूतसँग पनि हामीले कुरा गरेका थियौं, पहल गर्छु भन्नुभएको छ ।’
हाल प्रचलनमा रहेको पुराना बीउबाट उत्पादकत्व कम भएपछि बढी उत्पादन हुने जातका बीउ भारतसँग अनुदानमा माग गरेको थियो । चिनी उद्योगहरूले पर्याप्त उखु नपाएर बन्द हुने अवस्था आएकाले बढी उत्पादन हुने उखुको बीउ भारतबाट ल्याउने निर्णय गरेको थियो ।
भारतबाट नयाँ जातका उखुको बीउ ल्याउन कृषि तथा पशुपन्छी मन्त्रालयले ६ महिना अघि नै भारतसमक्ष माग गरेको थियो । तर, अहिलेसम्म पनि उखुको बीउ भारतले उपलब्ध नगराएको हो ।
गत आव २०७५/०७६ मा १ लाख ६२ हजार मेट्रिक टन चिनी नेपाली उद्योगले क्रसिङ गरेका थिए । तर, नेपालको माग भने २ लाख ५० हजार मेट्रिक टन रहेको उद्योगीहरू बताउँछन् ।
राष्ट्रिय उखु अनुसन्धान कार्यक्रमका संयोजक डा. तुफेल अख्तरका अनुसार अहिले प्रतिहेक्टर जमिनमा औसत उखुको उत्पादकत्व ४५.६७ टन छ । तर, भारतबाट ल्याउने नयाँ उखुको बीउको उत्पादकत्व प्रतिहेक्टरमा ५५ देखि ६० टन हुने बताएका थिए ।
त्यस्तै अहिले प्रतिक्विन्टल उखु क्रसिङबाट औसतमा साढे ९ केजी चिनी उत्पादन हुन्छ । तर, नयाँ जातको उखुले प्रतिक्विन्टल साढे १२ केजीसम्म चिनी क्रसिङ हुने संयोजक अख्तरले क्यापिटललाई बताए थिए ।
नयाँ बीउको उत्पादनपछि उद्योगीहरूको मागअनुसार सम्पूर्ण उखुको उत्पादन नेपालमै गर्न सकिने भने पनि अनुदानमा माग गरेको उखुको बीउ नआउँदा भने किसान चिन्तित बनेका छन् ।
भारतबाट माग गरिएका बीउको उत्पादकत्व पुरानाभन्दा २० देखि २५ प्रतिशत बढी हुने अपेक्षा गरिएको थियो । तर, उखुको बीउ नआउँदा त्यो उत्पादन नबढ्ने देखिएको छ ।
नेपालमा अहिले उखुको बीउ १५ देखि २० वर्ष पुराना छन् । जसले गर्दा उखुको उत्पादन मात्रै होइन चिनी क्रसिङ पनि कम हुने गरेको छ ।
उखु सबैभन्दा ठूलो नगद र औद्योगिक बाली हो ।
झापादेखि कन्चनपुरसम्मका तराईका जिल्लामा उखुको व्यावसायिक उत्पादन हुँदै आएको छ । तराई र मध्य पहाडका ४१ जिल्लामा करिब ३२ लाख १९ हजार टन उखु उत्पादन हुन्छ । पुराना प्रजातिका उखुका बीउमा रोग र कीराको उच्च जोखिम बढेको किसानहरू बताउँछन् ।
नयाँ विकसित प्रविधिबाटको लागत पनि कम हुने भएकाले त्यस्ता बीउ आवश्यक रहेको राष्ट्रिय उखु अनुसन्धान विकास कार्यक्रमको निष्कर्ष छ ।
यसका लागि कृषि विभागले पनि टिस्यु कल्चरका प्रविधि भित्र्याउने, नयाँ जात ल्याउने र ‘मेकनाइजेसन’ प्रवद्र्धन गर्नेलगायतका कार्यक्रम अघि बढाएको छ ।