काठमाडौं । पेट्रोल र डिजेटबाट चल्ने भन्दा विद्युतीय सवारीसाधनको भाडादर सस्तो हुने भएको छ । पेट्रोलियम पदार्थ भन्दा विद्युतको मूल्य कम भएकाले पनि भाडा सस्तो हुने देखिएको हो ।
सरकार स्वामित्वको साझा यातायात र निजी क्षेत्रको सुन्दर यातायातले राजधानीमा विद्युतीय वस सञ्चालन गर्दैछन । सुन्दर यातायातले एक महिनाभित्र उपत्यकामा विद्युतीय बस सञ्चालनको तयारी गरेको छ ।
विद्युत्तीय बसमा डिजेटलबाट चल्ने सवारीभन्दा न्युनतम ५ देखि १० रुपैयाँसम्म भाडादर सस्तो पर्ने यातायात व्यवसायीको भनाइ छ । तत्काल भाडादर नतोकिए पनि अहिलेको सार्वजनिक यातायातभन्दा धेरै सस्तो र सेवामैत्री हुने साझा यातायात सहकारी संस्था लिमिटेडका व्यवस्थापक महेन्द्रराज पाण्डेले क्यापिटल नेपाललाई बताए ।उनले १० रुपैयाँसम्म सस्तो पर्ने जानकारी दिए ।
निकट भविष्यमै उपत्यकामा विद्युतीय बस सञ्चालन गर्नेगरी योजना बनाएको सुन्दर यातायातले पनि भाडामा हाल रहेको भन्दा न्युनतम ५ रुपैयाँ कम हुने जनाएको छ । ‘हामीले अहिले डिजेल र पेट्रोलबाट चल्ने सार्वजनिक सवारीभन्दा ५ रुपैयाँ कम गरी भाडा लिन्छौं’ सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले भने, ‘त्यसमा विद्यार्थी, बालबालिका, महिला, जेष्ठ नागरिकलाई विशेष छुट हुनेछ ।’
निजी कम्पनी सुन्दर यातायातले भाडामा छुट दिएसँगै सरकारी स्वामित्वको साझा यातायातलाई पनि त्योभन्दा बढि छुट दिन दबाब पर्नेछ । अहिले पेट्रोल र डिजेलको मुल्यको तुलनामा विद्युत्तीय बसको लागतमा झन्डै ६० प्रतिशतले सस्तो पर्ने थापाको भनाइ छ ।
बिजुली नेपालको उत्पादन हो भने पेट्रेलियम पदार्थ विदेशबाट आयात हुने गरेको छ । विद्युतीय बस सञ्चालनमा आएपछि वायु प्रदुषण कम हुनुुका साथै बिजुली खपत बढ्ने छ । माथिलो तामाकोसी आयोजना सञ्चालनमा आएपछि केही वर्ष वर्षाद्मा बिजुली खेर जाने प्रक्षेपण नेपाल विद्युत प्राधिकरणले गर्दै आएको छ ।
विद्युतीय बस चार्जमा यो बिजुली उपयोग हुने देखिएको छ । सञ्चालनमा रहेका विद्युतीय सवारीसाधनको ब्याट्री चार्ज गर्न विद्युत प्राधिकरणले ठुला चार्जिङ्ग स्टेशन बनाउन लागेको छ ।
आगामी सन २०३० देखि युरोमा विद्युतीय सवारीसाधान मात्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । यस्तै छिमेकी चीन र भारतले पनि प्रदुषण कम गर्न विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् ।