काठमाडौं । एनसेलका ग्राहकले अब थप विकल्पहरूका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको ननस्टप मज्जा लिन सक्ने भएका छन् ।
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले आफ्ना ग्राहकका लागि ननस्टप अफरहरूअन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा १ दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ ।
‘प्लस’ थिमअन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरू बुधबार (असोज ७) देखि सञ्चालनमा आएका छन् । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरूको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।
ग्राहकले आफ्नो आवश्यकताअनुसार १ दिन वा ३० दिनको समयसीमा रहेका यी प्याकहरू सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जालहरूको प्रयोगबाट मज्जा लिन सक्छन् । ग्राहकले मात्र २५ रुपैयाँ (करसहित ३१ रुपैयाँ ९२ पैसा) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै ग्राहकले मात्र ३ सय ६० रुपैयाँ (करसहित ४ सय ५९ रुपैयाँ ६८ पैसा) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिई आफूले लिएको प्याकको समयसीमा बाँकी रहेसम्म ननस्टप रूपमा यसको फाइदा लिन सक्छन् । यति मात्र नभई, यो ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डाटा बोनस स्वरूप प्राप्त गर्छन् ।
एनसेलको फोरजी सेवा लिएका ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स १ह्यास डायल गरी यी नयाँ प्याकहरू प्राप्त निर्देशनअनुसार ननस्टप अफरको विकल्पहरूबाट सजिलैसँग छानेर सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल वालेट सेवा प्रदायकहरू जस्तै खल्ती, युनिपे, ई–सेवा वा प्रभुपेमार्फत आफूलाई मन पर्ने प्याक सुचारु गर्न सक्छन् ।
ननस्टप अफरअन्तर्गत लोकप्रिय एपमा आधारित भई ल्याइएका यी नयाँ आकर्षक प्याकहरूले फोरजी ग्राहकहरूलाई सुलभ दरमा उनीहरूको प्राथमिकतामा रहेका सामाजिक सञ्जालमा ननस्टप पहुँच प्रदान गर्ने भएकाले ग्राहकका लागि यसले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।
ननस्टप अफरहरूअन्तर्गत एनसेलले सात दिनको समयसीमा रहेको ननस्टप टिकटक, फेसबुक वा युट्युब प्याक मात्र १ सय रुपैयाँ (करसहित १ सय २७ रुपैयाँ ६९ पैसा) मा र युट्युब र फेसबुकको कम्बो प्याक १ सय ५० रुपैयाँ (करसहित १ सय ९१ रुपैयाँ ५४ पैसा) मा प्रदान गर्दै आएको छ । यसै योजनामा ग्राहकले सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डाटा इन्टरनेटमा अन्य प्रयोजनका लागि प्रयोग गर्न बोनसका रूपमा पाउँदै आएका छन् ।
साथै सात दिन वा ३० दिनको ननस्टप प्याक खरिद गर्ने ग्राहकका लागि विशेष थप योजना पनि रहेको छ । यी प्याक सुचारु गर्ने ग्राहकले हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म मात्र २० रुपैयाँ (करसहित मात्र २५ रुपैयाँ ५४ पैसा) मा ३५०० एमबी थप फोरजी डाटा लिन सक्छन् । उक्त डाटा ग्राहकले टिकटक, फेसबुक वा युट्युब चलाउनका लागि प्रयोग गर्न सक्छन् ।
आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले वायरफ्री प्लस वाइफाई, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाई सिम प्लस योजनाहरू ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरू ल्याउँदै जाने जनाएको छ ।