काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको किस्ता नतिरेपछि कर्मचारी सञ्चय कोषलाई ब्याजको पनि ब्याज तिर्नुपर्ने भएको छ । असार मसान्तसम्म किस्ता बुझाउन नसकेपछि सञ्चय कोषले करिव १ अर्ब रुपैयाँ ब्याजलाई पुँजीकरण गरेको छ ।
ब्याज पनि साँवामा गाभिएपछि साउनदेखि निगमले कोषलाई अब १ अर्ब रुपैयाँ ब्याजको ब्याज तिर्नुपर्ने अवस्था आएको हो । निगमले सञ्चय कोषलाई साँवा र ब्याज गरी १ अर्ब ९० करोड रुपैयाँ तिर्न बाँकी थियो ।
साउनदेखि लागु हुने गरी ब्याजलाई साँवामा गाभेर हिसाव मिलान गरेको सञ्चयक कोषका वरिष्ठ प्रवन्धक अर्जुनकुमार गौतमले क्यापिटल नेपाललाई बताए । उनले पुँजीकरण भएको ब्याजको रकममा पनि १०.५ प्रतिशत ब्याज लाग्ने जानकारी दिए ।
ब्याज पनि साँवा भएर थप ब्याज तिर्नु परेपछि निगमलाई ऋणको भार बढेको छ । निगमले दुईओटा जाहाज खरिद गर्न सञ्चय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँमा ऋण लिएको हो ।
निगमले सञ्चय कोष र लगानी कोषलाई असार मसान्तसम्म साँवा र ब्याज गरी ३ अर्ब रुपैयाँ तिर्नुपर्ने थियो । वाइडवडीले व्यवसायिक योजनाअनुसार गन्तव्य क्षेत्रमा उडान गर्न नपाएपछि आम्दानी गर्न नसक्दा दुबै कोषलाई किस्ता बुझाउन नसकेको हो ।
अर्थ मन्त्रालयले दिएन जवाफ
वाइडवडी खरिदमा ऋण जमानी बसेको अर्थ मन्त्रालयले निगमको किस्ता तिर्ने विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । निगमले किस्ता नतिरेपछि कोषले असार ३० गते १ अर्ब ९० करोड रुपैयाँ भुत्तानीको दावी गर्दै अर्थमा पत्र पठाएको थियो ।
हालसम्म अर्थबाट जवाफ नआएको कोषका प्रशासक तुलसी गौतमले बताए । ‘अर्थसचिवज्यू भरखरै बाहिरबाट आउनु भएकाले यस विषयमा केही निर्णय होला’ उनले भने ।
कोषले अर्थलाई पठाएको पत्रमा निगमले नियमित रुपमा किस्ता नतिर्दा सञ्चयकर्तालाई दिनुपर्ने भुक्तानीमा असर पुगेको जनाएको छ ।
वाइडबडी जहाज खरिद गर्दा बनाएको व्यावसायिक योजना (बिजनेस प्लान) अनुसार किस्ता तिर्न नसकेपछि सञ्चय कोषले केही साताअघि निगमसंग नयाँ कार्ययोजना मागेको थियो ।
निगमले बिजनेस प्लानअनुसार वाइडबडी जहाज उडाउन नसक्दा किस्ता तिर्न मुस्किल भएको जवाफ पठाएपछि कोषले सिधै अर्थलाई पत्र लेखेको हो ।
तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइडबडीका लागि ऋण सम्झौता गर्दा जापान, अस्ट्रेलिया, चीन, कोरिया, साउदी अरबलगायत देशमा तत्काल उडान गर्ने योजना अगाडि सारेका थिए ।
हालसम्म निगमले प्रस्तावित ती कुनै पनि देशमा उडान गर्न सकेको छैन । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले तत्काल किस्ता तिर्न सक्ने अवस्था नरहेको बताइसकेका छन ।