काठमाडौं । यात्रु नपाएपछि लामो दूरीका यातायात व्यवसायीहरू दसैं–तिहारका लागि अग्रिम टिकट बुकिङ नखुलाउने पक्षमा उभिएका छन् । गत असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णयपछि उत्साहित भएका व्यवसायी नजिकिँदै चार्डपर्वमा पनि यात्रा गर्ने सर्वसाधारण नपाएपछि अग्रिम टिकट बुकिङ खुलाउने विषय अन्योल भएको हो ।
व्यवसायीहरू अहिले यात्रु नभएपछि अग्रिम टिकट बुकिङ खुलाउनु उचित नहुने बताउँदै आएका छन् । सरकारले लामो दूरीका सार्वजनिक सवारीमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने मापदण्ड बनाए पनि हाल सञ्चालनमा रहेका गाडीमा १० प्रतिशत पनि यात्रु छैनन् ।
यातायात व्यवसायीले लामो दूरीका बस सञ्चालन भएको एक सातामा यात्रुको चापको आधारमा टिकट बुकिङको विषयमा निर्णय हुने बताएका थिए । तर, ६ महिनापछि सञ्चालन भएका गाडीले चाडपर्वको मुखमा पनि यात्रु नपाएपछि व्यवसायी झन् चिन्तित बनेका छन् ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले यात्रु नै नपाएपछि अग्रिम टिकट बुकिङ खुलाउनुको कुनै औचित्य नभएको बताए ।
‘एउटा बसले हजारभन्दा बढी किलोमिटरको यात्रामा ५ जना प्यासेन्जर पाउँछ, यस्तो अवस्थामा तेल खर्च पनि उठ्दैन,’ उनले भने, ‘मान्छे घर बाहिर नै निस्कन नचाहेको अवस्थामा टिकट बुकिङ आवश्यक छैन ।’
विगतका वर्षमा टिकट बुकिङको क्रममा गाडी नपुगेर नयाँ गाडी थप्नुपर्ने चटारो हुन्थो । तर, यसपालि उत्साहा नै नभएको कारण व्यवसायी पछि हट्ने तयारी गरेका छन् ।
कर्मचार्य भन्छन्, ‘सार्वजनिक यातायातलाई सरकारले नै कोरोना सर्ने मुख्य माध्यम हो भन्ने जस्तो सर्वसाधारण क्रसित बनाइदिएको छ तर, एयरलाइन्स कम्पनीहरूलाई भने निर्वाध रूपमा पूर्ण यात्रु बोकेर सञ्चालनमा अनुमति दिएको छ । अहिले हवाई भाडा र सार्वजनिक यातायातको भाडा लगभग उत्ति नै पर्न आउँछ जसका कारण पनि यात्रुहरू हवाई यात्रा गर्ने गरेको अध्यक्ष कर्मचार्य बताउँछन् ।
सरकारले गाडी खुलाउने निर्णय गरे लगत्तै व्यवसायी महासंघले लामो दूरीमा गाडी चलाउने सबै यातायात व्यवसायीलाई दसैंका लागि अनिवार्य अनलाइन टिकट बुकिङको व्यवस्था मिलाउन निर्देशन दिएको थियो । कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै अनलाइन टिकट बुकिङलाई प्राथमिकता दिने निर्णयबाट पनि व्यवसायी पछि हट्ने भएका छन् ।
विगतका वर्षहरूमा काठमाडौंबाट २० लाख मानिस बाहिरिने गरेका थिए । यातायात व्यवस्था विभागका महानिर्देशक गगन हमालले व्यवसायीहरूले यात्रु नभएको गुनासो गरिरहेको बताउँदै अग्रिम टिकट बुकिङको विषयमा निर्णय नभइसकेको बताए ।
व्यवसायी र विभागले छलफल गरेर असोज १५ देखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी थियो तर, यात्रु नै नभएको गुनासो आएपछि अग्रिम टिकट खुलाउन के गर्ने टुङ्गो नभएको हमालको भनाइ छ । हाल काउन्टरबाट फाट्टफट्टु टिकेट बिक्री भइरहेको छ ।