काठमाडौं । इन्टरनेट सेवा दिने भन्दै लाइसेन्स लिएका इन्टरनेट सेवा प्रदायकको संख्या ठूलै भए पनि फाइबर इन्टरनेट क्षेत्रमा पाँच कम्पनीले हालिमुहाली जमाएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार नेपालमा १ सय २५ भन्दा बढी कम्पनीले इन्टरनेट सेवाका लागि अनुमति लिइसकेका छन् । तर, १ सय २५ इन्टरनेट सेवाप्रदायक कम्पनीमध्ये ४० वटा मात्रै अहिले सञ्चालनमा छन् ।
सञ्चालन भएका मध्य पनि कति आर्थिक संकटमा परेर कम्पनीनै विस्थापित हुने अवस्थामा छन् भने केही प्रयोगकर्ता नै नभएर बन्द हुने अवस्थामा पुगेका छन् । तर, नियामक प्राधिकरणबाट अनुमति लिएका पाँच ठूला इन्टरनेट सेवा प्रदायकले नै नेपालीको इन्टरनेट चलाउने चहान पूरा गरिरहेका छन् ।
यी फाइबर इन्टरनेट सेवा प्रदायकले पछिल्लो समय त एकाधिकार नै कायम गरेका छन् । हाल नेपाली इन्टरनेट क्षेत्रमा वल्र्डलिङ्क, क्लासिकटेक, सुबिसु, टेलिकम र भायानेटले सिङ्गो फाइबर इन्टरनेट क्षेत्रमै हालिमुहाली जमाएका छन् ।
आजभन्दा २५ वर्ष अघि जन्मिएको वल्र्डलिङ्क कम्युनिकेसन अहिले नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक र तेस्रो ठूलो दूरसञ्चार कम्पनीका रूपमा स्थापित भएको छ । फाइबर इन्टरनेटमा भएका कुल प्रयोगकर्ताको आधा हिस्सा ओगट्स सफल भइरहेको वल्र्डलिङ्क अझ बलियो हुँदै गएको छ ।
हाल वल्र्डलिङ्कका देशभर ३ लाख ७५ हजार ८ सय ३३ प्रयोगकर्ता बनाइसकेको छ । अरू इन्टरनेट सेवा प्रदायकको तुलनामा सेवा गुणस्तर राम्रो मानिएको वल्र्डलिङ्क अहिले नेपालकै टप इन्टरनेट कम्पनी बन्न पुगेको छ ।
त्यस्तै वल्र्डलिङ्क पछिको फाइबर इन्टरनेटमा एकाधिकार जमाएको कम्पनी हो सुबिसु । सुबिसु प्रयोगकर्ताको हिसाबले नेपालमा तेस्रो ठूलो इन्टरनेट सेवाप्रदायक बनेको छ ।
टिभी र इन्टरनेट सेवा दिइरहेको सुबिसुका अहिले देशभर १ लाख ४३ हजार ७ सय २९ सेवाग्राही छन् । २००१ मा स्थापना भएको यो कम्पनीले देशैभर आक्रामक बजार र सेवा विस्तार गरिरहेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको प्रयोगकर्ताको हिसाबमा क्लासिक टेक र भायानेट प्रतिस्पर्धामा छन् । सन् १९९९ मा स्थापना भएको भायानेटका ग्राहक १ लाख ११ हजार ७० छन् । त्यस्तै २००९ मा स्थापना भएको क्लासिक टेकले छोटा समयमा नै बजार विस्तार गर्न सफल भएको छ । हाल क्लासिक टेकको फाइबर प्रयोगकर्ता १ लाख ८ हजार ८ सय ८३ पुगिसकेको छ ।
त्यसैगरी पछिल्लो समय नेपाल टेलिकमले एफटीटीएच इन्टरनेटमा आक्रामक बजार विस्तार गरिरहेको छ । सस्तो र गुणस्तरीय सेवाकै रूपमा मानिने टेलिकमको इन्टरनेट प्रयोगकर्ता २ लाख ४९ हजार ५ सय ९६ पुगिसकेका छन् ।
टेलिकमका फाइबर प्रयोगकर्ता ३७ हजार छन् भने केबलमार्फत १ लाख ५३ हजार ६ सय ६७ पुर्याइसकेको छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले एफटीटीएच इन्टरनेट सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।
दूरसञ्चार प्राधिकरणले दुई अर्बभन्दा बढी रकम परिचालन गरी विस्तार गरिरहेको ब्रोडब्यान्ड इन्टरनेटको ठेक्क पनि यिनै कम्पनीले गरिरहेका छन् । हाल यिनै ठूला इन्टरनेट सेवा प्रदायकले २० एमबीपीएसदेखि ६० एमबीपीएस क्षमतासम्मको इन्टरनेट सेवा दिइरहेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक च्याउसरी भएको भन्दै लाइसेन्समा थप कडाइ गर्ने तयारी भइरहेको प्राधिकरणका एक अधिकारीले बताए । उनका अनुसार यो विषय केही महिनाभित्र निर्णय हुन्छ ।
ठूला ‘प्लेयर’को आगमन बढ्दो
पुराना एकाधिकार जमाएर बसेका इन्टरनेट सेवा प्रदायकको विकल्पमा नयाँ प्लेयर पनि थपिने क्रम बढ्दो छ । गत फागुनमा नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइबर टू दी होम(एफटीटीएच) मार्फत इन्टरनेट सेवा विस्तार गर्न डिसहोमले अनुमति पाएको थियो ।
अहिले काठमाडौं उपत्यकामा आक्रामक सेवा विस्तार गरिरहेको छ । हाल कम्पनीले उपत्यकाको झन्डै एक दर्जन बढी स्थानमा इन्टरनेट पुर्याइसकेको छ ।
डिस मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्यले चालू आर्थिक वर्षभित्र काठमाडौं उपत्यकाभरि सेवा विस्तार गर्ने र आगामी वर्ष देशैभर सेवा पुर्याउने बताए ।
अहिले डिसहोमले २५ र ४० एमबीपीएस क्षमताको इन्टरनेट सेवा दिइरहेको छ । ‘हामीले भैंसीपाटी क्षेत्र, तीनकुने–बानेश्वर क्षेत्र र कपन–बौद्ध क्षेत्रमा इन्टरनेट सेवा सुरु गरिसकेका छौं,’ कम्पनीका प्रबन्ध निर्देशक आचार्यले भने, ‘भैंसीपाटी र कपन एरियामा आफ्नै फाइबर विस्तार गरी सेवा प्रवाह गरिरहेका छौं ।
अबको एक महिनाभित्र कम्पनीले इन्टरनेट प्रयोगकर्ताको संख्या १२ हजारको हाराहारीमा पुर्याउने लक्ष्य लिएको छ । कम्पनीले यो वर्षभित्र उपत्यकामा रिङरोड बाहिर सेवा विस्तार गरिसक्ने योजनाका साथ काम गरिरहेको छ ।
त्यसैगरी प्रभु ग्रुपअन्तर्गतको प्रभु डिजिटलले इन्टरनेट सेवा सुरु गरेको छ । टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको कम्पनीले अब टेलिभिजनसँगै इन्टरनेट सेवा पनि प्रदान गर्ने भएको हो ।
कम्पनीका अनुसार कम्पनीले काठमाडौं, पोखरा लगायतका स्थानमा इन्टरनेट सेवा प्रदान गर्दै आएको बाराही इन्टरनेट टेक्नोलोजीमार्फत सेवा विस्तार गर्ने भएको हो ।