काठमाडौं । हाम्रो समाजमा पढेपछि सरकारी जागिर खाने चाहना प्रायः सबैको हुन्छ । तर, टोमप्रसाद भण्डारीको जागिर खाने इच्छा कहिल्यै पनि आएन ।
अझ भन्नुपर्दा कृषि विषय पढेकाहरूले नाम निकालेर घुम्ने कुर्सीमा बसेर सजिलो जागिर होस् भन्ने चाहन्छन् नै । पढेको अनुभवले पनि आफैंले गर्नुपर्छ भन्ने सोंच सबैको हुँदैन ।
अझ भनौं, मैले कहाँ कृषि गर्छु र भन्ने अहंकार स्वयम् कृषि विषय पढ्नेकै मनमा उब्जिन्छ । आफ्नो पढाइ र सीपलाई आफ्नै माटोमा लगानी गर्नेहरू निकै कम पाइन्छन् । त्यस्तै, एउटा उदाहरणीय पात्र हुन्, स्याङ्जाका टोमप्रसाद भण्डारी ।
उमेरले भर्खरै २२ लागेका भण्डारी ‘प्लस टु’ सकाएर कृषि विषय पढ्न पाल्पा लागे । पाल्पामा कृषि विषयमा तेस्रो वर्षको अन्तिम परीक्षाको तयारीमा उनी छन् । तर, लकडाउनले पढाइ र परीक्षा नभएपछि उनी आफ्नै गाउँ स्याङ्जा फर्के ।
उनी कृषिका विद्यार्थी हुन नै, हिजोआज उनको परिचय विद्यार्थीमा मात्र सीमित छैन । गत फागुनमा आफ्नो घर स्याङ्जा फर्केपछि सुरु गरे– आफ्नै जग्गामा टनेल बनाएर गोलभेंडा खेती । सुरुमा आफ्नै ७ रोपनी जग्गामा लगानी गरेर गोलभेंडाको टनेल बनाए ।
उनलाई आफ्नै दाइले पनि सघाइरहेका छन् । रोजगारीबाट फर्केर घर आएपछि आफूलाई काममा सघाएको भण्डारीले सुनाए । उनले सिजन र अफसिजन गरी दुई चरणमा गोलभेंडा खेती गरेका छन् । पहिलो चरणको सिजनमा गोलभेंडाबाट २ लाख रुपैयाँको आम्दानी गरेको उनी बताउँछन् । वैशाखमा लगाएको गोलभेंडा पनि अहिले टिप्ने बेला भएको छ ।
लकडाउनले पढाइ, परीक्षालगायत सबै कुरा अस्तव्यस्त बनायो । तर, उनलाई भने लकडाउनले आफ्नो पढाइ र ज्ञान आफ्नै जमिनमा साट्नुपर्छ भन्ने गतिलो पाठ सिकायो । गोलभेंडा खेतीबाट आफूलाई राम्रो भइरहेको उनी बताउँछन् । आफू जागिरभन्दा कृषि खेतीमै लगानी गर्ने र उद्यमी बन्ने सोच छ ।
अहिलेको कृषि फार्मलाई विस्तार गर्ने उनको ‘प्लान’ छ । स्याङ्जाको गल्याङ नगरपालिका–७ पेलाकोटमा उनको आफ्नै फार्म छ । गोलभेंडासँगै उनी स्टेबरी खेती पनि गर्ने उनको सोच छ ।
सरकारबाट कृषिसम्बन्धी अनुदान र सहुलियत पाउन सकेमा उत्पादन विस्तार गर्ने उनको योजना छ । पहिलेभन्दा गोलभेंडाको भाउ राम्रो रहेको उनले सुनाए । उनले उत्पादन गरेको गोलभेंडा बाहिर लानु पर्दैन, नजिकैको गल्याङ र वालिङ बजारमा बिक्री हुन्छ ।
‘सिजन र अफ सिजनमा टमाटरको बजार भाउ राम्रै छ । त्यो कारणले पनि आम्दानीमा सन्तुष्ट छु,’ उनले भने, ‘कृषिमै लगानी गरेर केही गर्नुपर्छ भन्ने मेरो सोच छ ।’
उनले गोलभेंडासँगै टनेलमा काँक्रो, बन्दा र काउली पनि लगाउने गरेका छन् । त्यतिमात्रै होइन्, उनले व्यावसायिक रूपमा स्थानीय जातका बाख्रापालन गरेका छन् । अहिले १६ वटा स्थानीय जातका बाख्रा उनको फार्ममा छन् ।
आफ्नै जग्गामा सुन्तलाको पनि व्यावसायिक उत्पादन गरेका छन् । सुन्तलाका केही बोटहरुबाट आम्दानी दिन थालिसकेका छन् । २ सय ५० भन्दा बढी सुन्तलाका बोट छन् । सुन्तलाबाट पनि वार्षिक साढे २ लाख आम्दानी हुने गरेको उनी बताउँछन् । गोलभेंडा र सुन्तला लगायतका उत्पादनले वार्षिक ५ लाखभन्दा बढी आम्दानी हुने भण्डारी बताउँछन् ।
उनमा पहिलेदेखि नै जागिर खाउँ वा विदेश जाऊ भन्ने सोच कहिल्यै पलाएनन् । बरु, आफैं केही गर्नुपर्छ भन्ने सानैदेखि उनको सोच थियो ।