काठमाडौं । कोरोना भाइरस महामारीले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिनादेखि थन्किएका जहाजहरुले सोमबारबाट उडान थालेका छन् । गत चैत ११ गतेबाट रोकिएको आन्तरिक उडान सोमबारदेखि (आज) सुचारु भएका छन् ।
बुद्ध एयरले ५६ जना यात्रु लिएर पहिलो उडान पोखरामा गरेको छ । लामो समयदेखि बन्द भएको जहाज सेवा सञ्चालन गर्न पाउँदा निकै खुसीको महसुस भएको बुद्धका प्रबन्धक रूपेश श्रेष्ठले बताए । ‘जाहाज सञ्चालनबाट हामी मात्र हैनौै, यात्रुहरु समेत खुशी हुनुहुन्छ,’ उनले भने ।
पटक-पटक उडान तालिका सार्वजनिक गर्दै अन्तिम चरणमा स्थगन गर्दै आएका एयरलाइन्सहरुले यो पटक भने उडान गर्न सफल भएका छन । ६ महिनापछि उडान हुँदा यात्रुहरु समेत उत्साहित बनेका छन् ।
कोभिड-१९ को कारण सरकारले आन्तरिक उडान गत चैत ११ गतेबाट रोक लगाएको थियो । बाह्य मुलुकहरुले आन्तरिक उडान यस अघिनै सुचारु गरे पनि नेपालमा भने आजदेखि सुरु भएको हो ।
एयरलाइन्सहरुले केही समय २५ प्रतिशत मात्र उडान भर्न पाउने छन् । बुद्ध एयरले सोमबारका लागि १७ वटा उडान पाएको र सबै सेक्टरमा ७० प्रतिशत प्यासेन्जर अक्युपेन्सी रहेको यसका प्रबन्धक श्रेष्ठले बताए ।
त्यस्तै यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले आइतबार साँझसम्म ७० प्रतिशत टिकट बुकिङ भइसकेको जानकारी दिए । यतिले दैनिक ११ उडान गर्ने भएको छ ।
नेपाल वायुसेवा निगमले पनि आन्तरिक उडानको तालिका सार्वजनिक गरेको छ । निगमले मुलुकका देशका विभिन्न १० वटा गन्तव्यमा आन्तरिक तर्फको उडान गर्नेछ । यसैबीच श्री एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेको छैन । केही दिनपछि तालिका सार्वजनिक गर्ने श्रीको भनाइ छ ।
व्यवसायीहरुले स्वास्थ्य प्रोटोकललाई कडाइका साथ पालना गरेर उडान सुचारु गर्ने भन्दै धेरै पटक सरकारको ध्यानाकर्षण गराएका थिए । सरकारले व्यवसायीहरुको कुरा सुने पनि नसुने झै गर्दै आएका थिए ।
अर्बौ लगानी गरिएको एयरलाइन्स कम्पनीहरु ६ महिनादेखि बन्द हुँदा करोडौं रुपमा गुमाएको र एयरलाइन्ससँग आश्रित श्रमिकहरुको जिविकोपार्जन गर्न नै समस्या भएको गुनासो गरिरहेका थिए ।
प्राधिकरणले बुद्ध एयरलाई १६, यतीलाई १०, श्रीलाई ६, सिम्रिक र सौर्य एअरलाइन्सलाई १/१ वटा उडान गर्न अनुमति दिएको छ। दुर्गम क्षेत्रको उडानमा जाने वायुसेवा तारा, सीता र समिट एअरका काठमाडौंबाट हुने उडानमा ३/३ वटा तालिका स्वीकृत भएको छ। यस्तो तालिका काठमाडौलाई आधार बनाएर उडान गर्ने वायुसेवाका लागि मात्रै हो।
बुद्धको काठमाडौंबाट हुने उडानमा विराटगर तीन, पोखरा, भैरहवा, भद्रपुर र भरतपुरका लागि २/२ वटा उडान तालिका स्वीकृत भएको छ। धनगढी, विराटनगर, नेपालगञ्ज, सुर्खेत, जनकपुर र सिमरामा १/१ उडान गर्ने गरी बुद्ध एयरको तालिका स्वीकृत भएको छ।
बुद्धले विराटनगरबाट तुम्लिङटार पनि दैनिक एक उडान गर्ने गरी तालिका स्वीकृत भएको छ। तुम्लिङटारसहित दैनिक १७ उडान गर्ने छ ।
यती एयरलाइन्सले विराटनगर र पोखरामा २/२ वटा उडान तालिका पाएको छ। यतीले भद्रपुर, भैरहवा, जनकपुर, भरतपुर, तुम्लिङटार र नेपालगञ्जमा १/१ उडान गर्ने भएको छ।
नियमित उडानको तयारी गरिरहेको श्री एयरलाइन्सले दैनिक ६ वटा उडान तालिका पाएको छ। सौर्य एयरलाइन्सले पनि सोमबारदेखि हुने उडान नगर्ने भएको छ। सिम्रिक एयरलाइन्सले सोमबारदेखि पोखरामा दैनिक एक उडान गर्ने गरी अनुमति पाएको ।
दुर्गम क्षेत्रको उडानमा ३/३ वटा उडानको तालिका स्वीकृत गरेको भए पनि सोमबारदेखि भने २/२ वटा मात्रै उडान हुने जनाएको छ ।
कोभिडकै बीचमा सुरु भएको आन्तरिक उडानको पहिलो दिनमै ७५ प्रतिशत बुकिङ भएको छ । यसलाई उत्साहजनक रुपमा हेरिएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए । सोमबारबाटै हेलिकप्टरहरुले पनि उडान सुचारु भएको छ ।