काठमाडौं । नेपालमा प्याज खेतीको उत्पादन बढ्न नसक्नुको मुख्य कारण बीउ व्यवस्थापनमै समस्या रहेको पाइएको छ । सरकारी तथ्यांकअनुसार उत्पादन बढाउनका लागि आवश्यक प्याजको बीउ नेपालमा निकै कम हुने र भारतबाट ल्याउन नपाइने कारणले उत्पादन बढ्न नसकेको हो ।
कृषि मन्त्रालयका वरिष्ठ बागवानी विकास अधिकृत भरतबहादुर आचार्यले प्याज उत्पादन कम हुनुको मुख्य समस्या बीउ व्यवस्थापन नै रहेको बताएका हुन् । उनका अनुसार, नेपालमा २० हजार ९ सय ८ हेक्टरलाई करिब २ हजार ९० क्विन्टल बिउ आवश्यक पर्नेमा सबै बीउ नेपालमा उत्पादन हुदैन ।
नेपालमा खासगरी रेडक्रियल जातको प्याज खेती गरिन्छ । भारतबाट प्याजको बिउ ल्याउन पनि भारतले निर्यातमा रोक लगाएको र तराईको जिल्लामा खुला बोर्डरबाट अवैधानिक रुपमा आउने बीउले मात्रै उत्पादन धानेको उनको तर्क छ ।
‘गुणस्तरीय उन्नत बिउको सन्दर्भमा हामीसँग भएको उत्पादन जुन बिउको परिमाण छ । त्यो निकै कम छ । २० हजार ९ सय ८ हेक्टरलाई चाहिने त्यो हामीसँग नपुग्दो छ । किनभने २० हजार ९ सय ८ हेक्टरलाई करिब बिउको परिमाणको हिसाबले हेर्ने हो भने २ हजार ९० क्विन्टल बिउ आवश्यक पर्ने देखिन्छ । बिउकै लागि भनेर हाम्रो तथ्याङ्कमा हेर्दाखेरी १ सय ५० क्विन्टल बिउ उत्पादन छ ।’
नेपालमा विशेष गरेर रेडक्रियल प्याजको जात एकदम पपुलर छ । र, खानमा पनि स्वादिलो छ । पिरो कम पनि भएको र यसको भण्डारण क्षमता पनि राम्रै छ । यसको बिउको उत्पादन नपुग देखिएको छ र यसले हाम्रो क्षेत्रफलाई पनि भारतबाट खुला बोर्डरबाट आउने बीउले नै पुरा गरेको अवस्था देखिन्छ । भारतबाट बिउ कानुनी रुपमा निर्यात गर्नलाई रोक लगाइएको छ ।
त्यस्तै, नेपालमा प्याज उत्पादका लागि प्रविधिको प्रयोग पनि कम रहेको आचार्य बताउँछन । सरकारले पनि किसानसम्म प्रविधि पु¥याउन नसकेको उनको भनाई छ ।
त्यस्तै, गहुँ सिजनमा प्याजको सिजनल उत्पादन हुने भएकाले किसानहरु गहुँको सट्टा प्याज खेती गर्न नचाहनु पनि अर्को कारण देखिन्छ । त्यस्तै, भारतमा उत्पादन बढी हुने र नेपालमा सोही प्याज आयात हुँदा मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले किसानहरु प्याज खेतीमा आकर्षित हुन नसकेको पनि आचार्यले बताउँछन् ।
उनले भने ‘भारतमा कुनै वर्ष उत्पादन बढी हुने र उत्पादन बढी भएपनि निश्चित रुपमा भारतबाट आयात हुने परिमाण बढ्छ र मूल्यमा हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था हुन्छ । त्यस्तो अवस्था भएमा किसानहरुले राम्रो मूल्य नपाउने अवस्था सिर्जना हुने हुँदा प्याजको उत्पादन क्षेत्र विस्तार गर्ने सन्दर्भमा किसानहरु कम आकर्षित भएको पाइन्छ ।’
उनका अनुसार, नेपालमा करिब ४ लाख मेट्रिकटन वार्षिक खपत हुने गरेको र नेपालको उत्पादन ३ लाख मेट्रिकटन रहेको छ । अघिल्लो वर्षको तथ्याङ्क हे¥यो भने आर्थिक वर्ष २०७६/०७७ मा करिब ३ लाख मेट्रिकटनको उत्पादन छ । त्यहि सँगसँगै हाम्रो अयातलाई हेर्दाखेरी १ लाख ६ हजार मेट्रिक टन छ ।
यसले आयात र हाम्रो उत्पादनको तथ्याङ्कलाई जोड्दा करिब ४ लाख खपत भएको देखिन्छ । त्यसमा पनि वास्तविक रुपमा के देखिन्छ भने उत्पादन भइसकेपछि उपभोक्तासम्म पुग्दा करिब १०÷१२ प्रतिशत नोक्सान हुन्छ । त्यो १०/१२ प्रतिशतलाई कटाउने हो भने गत आर्थिक वर्षको तथ्याङ्कलाई विष्लेषणगर्दा ३ लाख ५० हजार मेट्रिकटन वास्तविक खपत हुने गरेको आचार्य बताउँछन् ।
नेपालमा सहज अवस्थामा बढीमा पनि साढे ४ लाख मेट्रिकटन प्याज खपत हुन्छ । खासगरी मौसमी खेतिको रुपमा मंसिर÷पुषमा रोपेर बैशाखमा प्याज उत्पादन हुन्छ । तर साउनमा रोपेर मंसिरमा उत्पादन लिन सक्ने बेमौसमी प्याज उत्पादन पनि हुन्छ । भारतमा पनि दुई सिजनमा मात्रै उत्पादन गर्ने गरिन्छ । तर पनि भारतमा कम उत्पादन हुँदा नेपालको बजार प्रभावित भइहाल्छ । किनभने नेपालको खपतमा नेपालको उत्पादनले भ्याउँदैन र भारतबाट आयात गर्नैपर्ने बाध्यता छ ।
प्याजको उत्पादन बढाउन जमिनको क्षृत्रफल र उत्पादकत्व क्षमता बढाउनुपर्ने देखिन्छ । नेपालमा अहिले तराई र मध्यपहाडी क्षेत्रमा गरी कुल २० हजार ९ सय ८ हेक्टर क्षेत्रफलमा प्याज खेती हुँदै आएको छ । सरकारले प्याजको उत्पादन बढाउनका लागि विभिन्न कार्यक्रमहरु समेत लागू गरेको छ । आर्थिक वर्ष २०६३/०६४ देखि आर्थिक वर्ष २०६९/०७० सम्म तराईका जिल्लाहरुमा प्याज मिसन कार्यक्रम सञ्चालन भएको थियो ।
अहिले पनि १० जिल्लाका १० वटा स्थानीय तहमा सरकारले प्याजको व्यवसायीक गाना उत्पादन कार्यक्रम कर्यान्वयनमा ल्याएको छ । वरिष्ठ बागवानी विकास अधिकृत आचार्यले भने, ‘स्थानीय तहमा नै कार्यक्रम सिधै संघबाट जाने सशर्त अनुदान कार्यक्रम भनेर एक करोड रुपैयाँ बजेटको कार्यक्रम १० वटा जिल्लाको १० वटा स्थानीय तहमा गएको छ । प्याजको व्यवसायीक गाना उत्पादन कार्यक्रम भनेर गएको छ । ’