काठमाडौं । कोरोनाबाट पिल्सिएको ‘अटोमोटिभ’ क्षेत्रलाई उकास्न व्यवसायीले दसैं÷तिहार लक्षित विभिन्न स्मिक सार्वजनिक गरेका छन् । संसारभर अटोमोटिभलाई अर्थतन्त्र चलायमान बनाउने क्षेत्रको रुपमा लिइन्छ ।
नेपालमा पनि अटो क्षेत्रले आर्थिक गतिविधि बढाउन महत्वपूर्ण योगदान गर्दै आएको छ । शिथिल बनेको अर्थतन्त्र र मानिसमा रहेको त्रासलाई कम गर्न अटोमोटिभ व्यवसायीले दुई वा चारपाङ्ग्रे गाडी खरिदमा नया–ँनयाँ स्किम सार्वजनिक गरेर ग्राहक तान्ने होडबाजी सुरु भइसकेको छ ।
‘यसले बजारमा सकारात्मक सञ्चार भएको छ,’ हुलास अटोक्राफ्ट प्रालिका प्रबन्धनिर्देशक अभिमन्यू गोल्छाले भने, ‘मान्छेसँग थुप्रिएर रहेको पैसालाई बाहिर ल्याउने र त्यसले खुम्चिएको अर्थतन्त्रलाई उकास्ने काम गर्छ ।’
करिब ६ महिनादेखि थलिएको अटो व्यवसायलाई तङ्ग्रयाउन दसैैं–तिहारमा नयाँ–नयाँ गाडी तथा मोटरसाइकल सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ । एकातिर नयाँ गाडी र मोटरसाइकल भित्र्याउने क्रम बढेको छ भने अर्कोतिर नयाँ–नयाँ स्किम पनि सार्वजनिक भइरहेका छन् ।
असार २ गते लकडाउन खुलेसँगै अटो व्यवसायीले अर्थतन्त्रलाई केही चलायमान बनाउने प्रयास गरेका थिए । त्यो बेला नयाँ–नयाँ बाइक तथा गाडी किन्ने तथा त्यसका बारेमा बुझ्ने ठूलै संख्यामा थिए । दुई पाङ्ग्रेको बिक्रीमा ठूलै सुधार आए पनि चार पाङ्ग्रेको हकमा खासै नसुध्रिएको लक्ष्मी कन्टिनेन्टलका निर्देशक निराकार श्रेष्ठले बताए ।
सरकारले लकडाउनलाई खुकुलो गरे पनि अटोमोबाइल्स व्यवसायी पुरानो लयमा फर्कन नसकेपछि चार्डपर्वमा भने नयाँ आशाकासाथ आकर्षक अफर ल्याउन सुरु गरेका हुन् ।
विभिन्न नयाँ अफरसँगै मोटरसाइकल तथा गाडीका नयाँ मोडल पनि सोकेश हुने क्रम बढेको छ । गत शुक्रबार मात्रै नेपाली बजारमा हुन्डाई र टाटाले नयाँ मोडल सार्वजनिक गरेका छन् । हुन्डाईले दसैं÷तिहार लक्षित ग्रान्ड आई टेन नियो र टाटाले अल्ट्रोज भित्र्याइसकेका छन् ।
त्यसैगरी गोल्छा ग्रुपले गत साता मात्रै केटीएमका बीएस सिक्स मोडलका दुईवटा मोटरसाइकल सार्वजनिक गर्यो । बाइक पारखीका लागि अझै विभिन्न कम्पनीहरूले नयाँमोडलहरू ल्याउने क्रममा छन् ।
व्यवसायीहरूले बाइक र कार किन्न चाहने ग्राहकलाई अत्यन्त थोरै डाउन पेमेन्टमा र सरल किस्ताबन्दीमा खरिद गर्न सकिने गरी दसैं–तिहार स्किम ल्याउन थालेका हुन् । खासगरी निशान, डाट्सन, हुन्डाई, मारुती सुजुकी, फक्सवागन लगायतका गाडी उत्पादक कम्पनी र बाइकमा टिभिएस, होन्डा, बजाज, अप्रिलिया, हिरो, यामाहाले ग्राहकलाई विशेष अफर दिँदै छन् ।
दसैं लाग्न लगभग एक महिना नै बाँकी रहँदा आटो कम्पनीहरूले बाइक तथा गाडी किन्दा रकम छुट र ‘लक्की ड्र’ अफरहरू धमाधम ल्याइरहेका छन् । हुलास अटोक्राफ्टले सोमबार दसैं लक्षित नयाँ ब्रान्डको मोटरसाइकल सार्वजनिक गरेको छ ।
‘कोरोना भाइरस र लकडाउनको चपेटामा परेको अटो क्षेत्रलाई पहिलाकै अवस्थामा फर्काउन दसैं÷तिहार स्किमले महत्वपूर्ण भूमिका खेल्ने छ ’गोल्छाले भने, ‘दसैंलाई लक्षित गर्दै मोटरसाइकलको माग अत्याधिक बढेको छ ।’
नेपालका लागि फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सले दसैं–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ । कम्पनीले यो योजनाअनुसार नगद छुट, सडक कर र एक वर्ष निःशुल्क बिमा लगायतका सुविधा पाउने जनाएको छ ।
जिओ अटोमोबाइल्स गाडी खरिदमा ग्राहकले स्क्रयाच कार्ड छनोट गरेर साढे ४ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् भने प्रत्येक स्क्रयाच कार्डमा २५ हजार ग्यारेन्टी छुट र बढीमा डेढ लाख रुपैयाँसम्मको हुने बताइएको छ । त्यस्तै कम्पनीले ल्याएको स्किमअन्तर्गत ग्राहकले ३० प्रतिशत रकम डाउन पेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशत डेलिभरि अर्डर दिएर गाडी लिन सक्नेछन् ।
त्यसैगरी नेपालमा बजाज मोटरसाइकलका लागि अघिकारिक वितरक गोल्छा गु्रपले बाइक खरिदमा १० हजार छुट वा शून्य प्रतिशत ब्याजदर वा २० प्रतिशत डाउनपेमन्ट पाउने योजना सार्वजनिक गरेको छ । यो भनेको सतप्रतिशत भुक्तानी गर्दा १० हजार छुट पाउने, शून्य प्रतिशत ब्याजदरमा क्यास डिस्काउन्ट नहुने र २० प्रतिशतको अफर ल्याएको हो ।
सुजुकी मोटरसाइकलको आधिकारिक वितरक तथा बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले दसैं, छठ पर्वलाई लक्षित गरी नयाँ योजना सार्वजनिक गरेको छ । उक्त, अफरअन्तर्गत ग्राहकले सुजुकी कम्पनीका कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार रुपैयाँ नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् साथै एक्सचेन्ज र सरल फाइनान्सको सुबिधा पनि उपलब्ध गराएको छ ।
सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाइनहरूको मोटरसाइकल तथा स्कुटरले ग्राहकवर्गहरूको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकवर्गहरू थप उत्साहित हुने कम्पनीका मार्केटिङ म्यानेजरसमित सिंहले बताए । उनकाअनुसार दसैंमा अटोमोबाइल क्षेत्र चलायमान हुनेछ । त्यस्तै हिरो मोटरसाइकलको आधिकारिक वितरक हिरो मोटोकर्प लिमिटेडले पनि दसैं÷तिहार अफर सार्वजनिक गरिसकेको छ ।
कम्पनीले बाइक खरिदमा स्क्रयाच कार्डमार्फत १ लाखसम्म छुट पाउने छन् भने नियमित डिसकाउन्टतर्फ ५ हजार पाउने कम्पनीले जनाएको छ । त्यस्तै टाटाले ठूला गाडीको हकमा नयाँ स्किम सार्वजनिक गरिसकेको छ । अन्य कम्पनी निशान, डाट्सन, हुन्डाई, यामाहा, होन्डाले दसैंका लागि अफरहरू सार्वजनिक गर्ने क्रममा रहेको बताएका छन् ।
नेपाल अटोमोबाइल्स् डिलर्स एसोसिएसन नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले कोरोना निषेधाज्ञाले तङ्ग्रिदै गरेको अटो बजारलाई दसैं–तिहारले व्यवसायलाई राहत दिने बताए । ‘देश भर्खर खुल्दै गरेको अवस्थामा व्यापार गर्नेभन्दा पनि सुरुवात गर्न पाउनु नै ठूलो कुरा हो,’ उनले भने, ‘यतिवेला नाडा अटो सो सकिएर अटो बजारले दसैं–तिहारमा नयाँ रुप लिने भए पनि कोरोनाले यो पटक ठूलै क्षति गरेको छ ।’ उनका अनुसार यस्तो परिस्थितिमाा टिक्नुनै ठूलो कुरा हो ।