काठमाडौं । निजी लगानीको माउन्टेन इनर्जी नेपाल लिमिटेडले निर्माण गरेका दुवै जलविद्युत् आयोजना सस्तो देखिएका छन् । ४७ मेगावाट क्षमताका दुई आयोजना बनाउन ६ अर्ब ५६ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ ।
आयोजना बनाउन प्रतिमेगावाट औसत लागत १३ करोड ९७ लाख २८ हजार रुपैयाँ रहेको माउन्टेनले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
हाल अधिकांश आयोजनाको प्रतिमेगावाट लागत १८ देखि २० करोड रुपैयाँ माथि भएकोमा माउन्टेन इनर्जीले निर्माण गरेका आयोजनाहरू सस्तो छ ।
माउन्टेन इनर्जीले ४२ मेगावाटको मिस्ट्री खोला आयोजा निर्माण गरिरहेको छ । यो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । कोरोना महामारीले गर्दा आयोजनाको काम प्रभावित हुन गएको छ ।
गत चैतमा सम्पन्न हुनुपर्ने आयोजनाको काम रोकिँदा केही महिनापछि धकेलिएको छ । यस्तै ५ मेगावाटको तादीखोला आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ ।
तादी खोला र मिस्ट्री खोला आयोजना निर्माण सम्पन्न भइसक्दा कुल लागतका आधारमा २०७/०७६ लाई आधार वर्ष मान्दा लगानी फिर्ता हुने अवधि ५.९० र डिस्कान्ट पे ब्याक पिरियड ७.८४ वर्ष रहने अनुमान कम्पनीको छ ।
तादी आयोजना नुवाकोट जिल्लाको सुन्दरादेवी, थप्रेक, रालुकामा पर्छ । मिस्ट्री खोला म्याग्दी जिल्लाको नारच्याङ्गमा छ ।
रोवस्ट इनर्जी लिमिटेड र आदिशक्ति विद्युत् विकास कम्पनी लिमिटेड विलय भएर २०७५ भदौ २८ गतेबाट माउन्टेन इनर्जी नामबाट सञ्चालन भई आएको हो ।
कम्पनीमा १७२ जना संस्थापक सेयरधनीहरू छन् । यस कम्पनीका संस्थापक सेयरधनीहरू विद्युत्, बैंकर वित्तीय क्षेत्र, स्वास्थ्य, शैक्षिक क्षेत्रका छन् ।
कम्पनीमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, लोमस ग्रुपका अध्यक्ष प्रदीपजंग पाण्डे,भाटभटेनी सुपर स्टोरका मीनबहादुर गुरुङ, व्यवसायीहरू सुह्यद घिमिरे, मनोहरदाश मुललगायत छन् ।
मिस्ट्री खोला जलविद्युत्को विद्युत् उत्पादन अनुमतिपत्र वहाल रहने अवधि मिति २०६८ कात्तिक २० देखि २१० कात्तिक १९ गतेसम्म २८ वर्ष बाँकी छ ।
तादीखोलाको विद्युत् उत्पादन अनुमतिपत्र वहाल रहने अवधि मिति २०६८ मंसिर ६ देखि २१०३ मंसिर ५ गतेसम्म २८ वर्ष छ । कम्पनीको प्रतिफल २४ रुपैयाँ छ । यो आर्थिक वर्ष २०७५/०७६ लाई आधार वर्षमानी १० वर्षको प्रक्षेपण गरिएको हो ।
मिस्ट्री आयोजनाले उत्पादन गर्ने विद्युत् प्रवाहका लागि कालीगण्डकी प्रसारण लाइन तथा सबस्टेसन आयोजनाको निर्माण कोरोना भाइरस महामारीका कारणले ढिलाइ भएको छ ।
उक्त आयोजनाको परामर्शदाता पावर ग्रिड करर्पोरेसन अफ इण्डियाले प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्ने ठेकेदारलाई भदौ २७ सम्मको समय सीमा सिफारिस गरेको कारण सोही आधारमा मिस्ट्री आयोजनाको व्यापारिक विद्युत् उत्पादन सुरु गर्नुपर्ने मिति २७ गते तोकिएको थियो । अहिलेसम्म आयोजना पूरा भएको छैन ।
कम्पनीले आफ्नो जारी पुँजीमध्ये १ करोड ५७ लाख ४४ हजार २१६ कित्ता सेयर बापतको १ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ कम्पनीको संस्थापक सेयरधनीहरूबाट चुक्ता भइसकेको छ । बाँकी ३९ लाख ३६ हजार ५४ थान सेयर सार्वजनिक निष्कासनद्वारा सर्वसाधारणलाई जारी गर्ने छ ।
पूरै सेयर निष्कासन भएपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ हुनेछ । कम्पनीको तादी जलविद्युत् आयोजनको निमित्त ६६ करोड ६५ लाख रुपैयाँ दीर्घकालीन ऋण लिएको छ । उक्त ऋणमध्ये असार मसान्तमा ३८ करोड २६ लाख ९४ हजार बाँकी छ ।
निर्माणाधीन मिस्ट्री खोलाका लागि आवश्यक रकम ५ अर्ब ६४ करोड २६ लाख रुपैयाँमध्येको ७५ प्रतिशतले हुन आउने ४ अर्ब २४ करोड रुपैयाँ बैंकबाट ऋण स्वीकृत भइसकेको छ । कम्पनीमा प्राथमिक सेयर निष्कासनबाट ३९ करोड ३६ लाख रुपैयाँ थपिनेछ ।
मिस्ट्री आयोजनामा नबिल बैंकको अगुवाईमा सहवित्तीय करणमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल बैंक र लक्ष्मी बैंकबाट ४ अर्ब २४ करोड रुपैयाँ ऋण व्यवस्थापन गरिएको छ ।
तादीखोलामा नबिल बैंकको अगुवाईमा सह वित्तीयकरणमा एनएमबी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, र राष्ट्रिय वाणिज्य बैंकबाट ६६ करोड ६५ लाख रुपैयाँ ऋण व्यवस्थापन गरिएको थियो ।
आयोजनाबाट प्राप्त हुने आयमा १० वर्ष आयकर छुट तथा सोपश्चात् ५ वर्षसम्म ५० प्रतिशत आयकर छुट प्राप्त भएको हुँदा लाभांशदर बढी रहेको कम्पनीले जानकारी दिएको छ ।