काठमाडौं । पछिल्लो समय भारतले निकासी बन्द गरेपछि नेपालमा प्याजको भाउ अत्यधिक महँगो भएको छ । व्यापारीले प्याजको स्टक लुकाएर महँगोमा बेचेर कालोबजारी गरेको बजार अनुगमनकै क्रममा भेटिएका छन् । प्याजको कारोबार गर्ने व्यापारी कारबाहीमा परिरहेका छन् ।
उपभोक्ता पनि निकासी रोकिएपछि व्यापारीको कालोबजारीको सिकार बनिरहेका छन् । भारतले प्रतिबन्ध लगाउनुअघि प्रतिकेजी ६० रुपैयाँमा पाइने प्याजको मूल्य अहिले डेढ सय हाराहारी पुगेको व्यापारीहरू नै बताउँछन् ।
प्याजको समस्या अहिले मात्रै देखिएको होइन । यो हरेक वर्ष हुने समस्या नै हो । किनभने नेपालमा प्याज उत्पादन नगन्य हुन्छ । स्वदेशी मागको झन्डै ९० प्रतिशत हाराहारी प्याज विदेशबाट नै आयात गर्नुपर्ने बाध्यता छ । सबैभन्दा बढी प्याज आयात भारतबाटै हुन्छ ।
भारतले आफूलाई नपुग्ने भएपछि प्याज निकासीमा प्रतिबन्ध लगाइसकेको छ । गत मंसिर २०७६ मा पनि भारतले निकासी रोक्दा नेपालमा प्याजको मूल्य प्रतिकेजी २५० रुपैयाँ हाराहारी पुगेको थियो । तर, विस्तारै आयात सहज भएपछि मूल्य घट्यो ।
भारतले निकासी रोकेपछि अहिले बल्ल प्याज उत्पादन र आत्मनिर्भरताको बहस सुरु भएको छ । यो अवस्थामा हामी नेपाली आफूलाई आवश्यक पर्ने प्याजको जोहो गर्नुनै उत्तम विकल्प हुने विज्ञहरू बताउँछन् ।
प्याज नेपालको सबै ठाउँमा उत्पादन हुने कृषिजन्य उपज हो । स्वदेशी उत्पादन नबढ्नु र बढ्दो परनिर्भरताका कारणले पनि हरेक वर्ष प्याजको समस्या हुँदै आएको जानकारहरू बताउँछन् ।
सरकारले स्वदेशमै उत्पादन बढाउन ‘प्याज मिसन’ कार्यक्रम अघि बढायो । उत्पादनमा सुधार आउन सकेन् । हरेक वर्ष प्याज आयात बढिरह्यो । अहिले बढेको प्याजको मूल्यले नेपालीले आफूलाई पुग्ने प्याज आफैं उत्पादन गर्नुपर्ने राम्रो सन्देश दिएको छ । प्याज लगाएर खान नसक्ने नेपालीको अल्छी प्रवृत्तिकै कारणले आयातबाट बर्सेनि अर्बौ रुपैयाँ बाहिरिएको छ ।
आउनुस्, नेपालमा सबैतिर उत्पादन गर्न सकिने प्याज घरमै बसेर कसरी बेमौसमी तरिकाले बढी उत्पादन गर्न सकिन्छ भन्नेबारे पूर्व बागवानी वैज्ञानिक केदार बुढाथोकीका प्याज खेतीका टिप्सहरू यसप्रकार छन् :
– राम्रोसँग खनजोत गरेको जग्गा रोज्ने
– सुरुमा एक रोपनी जग्गामा १ मिटर चौडाइ ५ मिटर लम्बाइको ब्याड बनाउने
– मल र मसिनो माटो राखेर १० सेन्टिमिटरको लाइन÷लाइन बनाउने
– प्याजको बीउ एक घण्टा घाममा सुकाउने
– ४ ग्राम प्याजको बीउ पातलो गरी लगाउने
– माथिबाट प्लाटिक वा परालले छोपिदिने
– ४५ दिनपछि प्याजको बेर्ना तयार हुनेछ ।
– राम्रोसँग खनजोत गरेको जग्गा रोज्ने
– प्याज लगाउने खेत वा बारीमा ३० डोका मल, १०÷१० केजी पोटास र डीपी हाल्ने
– कुलेसो एक फिट छोड्ने गरी ढाइ फिटको ड्याङ बनाउने
– १५ सेन्टिमिटरको दूरीमा प्याजका बेर्ना डोब्ने
– चिस्यान जग्गा हो भने सातामा ३ पटक पानी लगाउने
– बीच–बीचमा आउने झारहरू गोडमेल गरिरहने,
– एक महिनापछि प्याजको गाना लाग्नेछ, त्यसको एक सातापछि प्याज खन्न तयार हुनेछ
– खनिसकेको प्याज उचित रूपले भण्डार गर्ने
प्याजका बेर्ना आफैं तयार गर्न १ मिटर चौडाइ, ३ मिटर लम्बाइ, १०–१५ सेन्टिमिटर उचाइ भएको ब्याडमा ५–७ सेन्टिमिटरको फरकमा कुलेसो बनाइ बीउ खसाल्नुपर्छ । त्यसपछि छापो हाल्ने र बीउ उम्रेपछि सो छापो हटाइ बेमोसमी विधिबाट बेर्ना आफैं तयार गर्न सकिन्छ ।
मौसम तथा माटोको चिस्यान हेरी ५–७ दिनको फरकमा सिँचाइ गर्नुपर्छ । प्याजलाई पानीको आवश्यकता अन्य बालीलाई भन्दा बढी हुन्छ । बाली अवधिभर १०–१२ पटक सिँचाइ दिनुपर्छ तर निकासको व्यवस्था पनि त्यतिकै जरुरी हुन्छ । प्याज उखेल्ने १५ दिन अघि सिँचाइ बन्द गर्नुपर्छ ।
साधारणतया प्याजको तीन प्रकारले खेती गरिन्छः सोझै पातलो बीउ छरेर, बेर्ना उमारी उचित दूरीमा बेर्ना सारेर तथा पहिले प्याजका स–साना सेट तयार गरी उक्त सेटबाट प्याजको खेती गरेर । प्याजको सेटबाट गरिने खेती विशेषत बेमौसममा गरिन्छ ।
प्याज खेती गर्दा राम्रो विधि अपनाएको खण्डमा प्रतिरोपनी क्षेत्रमा झन्डै २ हजार ५ सयदेखि ३ हजार किलोसम्म उत्पादन हुन्छ । खुद नाफाको हिसाबले हेर्ने हो भने बेमौसममा सेट प्रयोग गरी लगाइएको हरियो साग उत्पादनबाट दोब्बर बढी फाइदा लिन सकिन्छ ।
प्याजको गानोमा प्रशस्त मात्रामा चिस्यान रहने हुनाले उपयुक्त रूपमा भण्डारण गर्न सकिएन भने छिट्टै नोक्सानी हुन्छ । विशेषत पूर्ण नछिप्पिएका, चोट पटक लागेका र हावाको सञ्चार राम्रो नहुने ठाउँमा भण्डारण गरिएको खण्डमा बढी नोक्सानी व्यहोर्नु पर्ने हुन्छ ।
प्याजलाई सुक्खा, चिसो तथा हावा सञ्चार हुने किसिमको भण्डार घर चाहिन्छ । स्थानीय स्तरमा भने खरको छानो भएको हावा राम्रो संचालन हुने जुटको बोराले छोपिएको भण्डारण संरचनामा भण्डारण गर्न सकिन्छ ।