काठमाडौं । सरकारले कात्तिक १ गतेबाट विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्याे । पर्यटक आउने समय १ महिना बाँकी रहँदासमेत सरकारले विदेशी पर्यटकलाई कस्तो सेवा सुविधाहरू दिने भन्ने निर्णय गर्न सकेको छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको प्रोटोकलमा पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने र काठमाडौं आएपछि ७ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान राखेको छ । यो प्रावधान विश्व स्वास्थ्य संगठनले जारी गरेको कार्यविधिअनुसार बनेको हो ।
तर, पर्यटन व्यवसायीहरूले भने ७२ घण्टाको पीसीआर रिपोर्ट नेगेटिभ भएको आधारमा नेपालमा आएर क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान हटाउन माग गर्दै आएका छन् । अहिले विदेशी पर्यटकहरू नेपाल आउन चाहिरहे पनि ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधानले केही झस्किएको ती व्यवसायीहरूको भनाइ छ ।
एयरपोर्ट होटलका सञ्चालक एवं होटल एसोसिएसन अफ नेपाल(हान)का प्रथम उपाध्यक्ष विनायक शाहले युरोपबाट पर्यटकहरू आउन तयार रहे पनि स्वास्थ्य प्रोटोकलमा चासो दिइरहेको बताए । ७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने झन्झटको कारण उनीहरू चाहेर पनि नआउने अवस्थामा रहेकाले यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए ।
म्यारियट होटलका सञ्चालक शशिकान्त अग्रवालले पर्यटक आगमनमा खुला गरे पनि स्वास्थ्य प्रोटोकलले समस्या ल्याएको बताउँछन् । ‘म आफैं विदेशमा जाँदा १ दिन क्वारेन्टाइनमा बस्नु परेमा जान्न, सञ्चालक अग्रवालले भने, ७ दिन बस्ने गरी कुन विदेशी यहाँ आउँछन् ।’
अहिले दुबईले ७२ घण्टाको पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरूलाई आफ्नो देशमा आउन पाउने प्रावधान बनाएको छ । नेपालमा पनि त्यही किसिमको प्रावधान नबनाए तत्कालै पर्यटकहरू आउन सक्ने सम्भावना न्यून रहेको व्यवसायीहरूको भनाइ छ ।
वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन लक्षित प्रोटोकलमा संशोधनको आवश्यकता रहेको बताएका छन् । पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरूलाई सर्त नराखी नेपाल आउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । कुन पनि पर्यटक बिरामी भएर यहाँ आउँदैनन्, उनीहरू रमझम गर्न आउने हुन्, व्यवसायी शाक्यले भने, ‘७ दिनसम्म क्वारेन्टाइनमा बस्नु प¥यो भने कोही पनि आउन मान्दैनन् ।’
क्वारेन्टाइनका लागि नेपालको व्यवस्था पनि राम्रो नभएकाले पर्यटकहरूलाई त्यस किसिमको झन्झटबाट मुक्त गराउन आवश्यक रहेको पर्यटन व्यवसायीहरूको जोड छ ।
ट्रेकिङ एजेन्सीज एसोसिएन अफ नेपाल(टान)का महासचिव सरिता लामाले क्वारेन्टाइनको व्यवस्था ७ दिनबाट घटाएर ३ दिनमा सिमित राख्न पर्यटन मन्त्रालयलाई सुझाव दिइएको जानकारी दिइन । पदयात्रामा जान आउने पर्यटकहरूलाई काठमाडौंमा मात्र होइन, स्थानीय तहमा समेत सहज रूपमा जाने वातावरण मिलाउन सरकारसँग अनुरोध गरेकी छिन् ।
अहिले हेल्बु गाउँपालिका बाहेक अन्य स्थानीय तहले पर्यटकहरूलाई आउन रोक लगाइरहेको बेला सरकारी तबरबाट समन्वयको आवश्यक रहेको समेत उनको भनाइ छ । पदयात्रामा जाने श्रमिकहरूलाई सर्वसुलभ तरिकाले पीसीआर गर्ने वातावरण मिलाउन समेत सरकारसँग आग्रह गरेकी छिन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले पर्यटक लक्षित प्रोटोकल संशोधन गरिरहेको बताए । अबको बढीमा एक साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको बताउँदै विभिन्न क्षेत्रको सुझाव लिइरहेको उनको भनाइ छ ।
सरकारले पनि पर्यटकहरूलाई सहज र सरल ढंगमा नेपाल आउने वातावरण बनाउन लागिरहेको उनले बताए ।