काठमाडौं । सौर्य एयरलाइन्सले लकडाउनमा बन्द भएको सेवा सुरु गर्ने भएको छ ।असोजको दोस्रो साताबाट ट्रंक रुटमा पाँचवटा गन्तव्यमा सेवा प्रदान गर्न लागिएको एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जानकारी दिए ।
सौर्य एयरलाइन्सले डेढ वर्षअघिदेखि भारतको कुबेर समूहलाई नयाँ साझेदार भित्र्याएर कम्पनी सञ्चालन गरिरहेको छ । कुबेर समूहका विकास मालुले भारत र दुबईमा बिभिन्न क्षेत्रमा लगानी गरेका छन् । यो समूहले १० वटा नयाँ जहाज खरिद गरी आक्रामक रूपमा कम्पनीलाई अगाडि लाने लक्ष्य लिएर सौर्य एयरलाइन्समा आएको हो ।
सौर्य एयरसँग यसअघि दुइटा जहाज सञ्चालनमा थिए । क्यानाडाको बम्बार्डियर कम्पनीका सीआरजे २०० जेट इन्जिनका जहाज थिए । लकडाउनको अवधिमा एयरलाइन्सले अर्को ५० सिटर त्यस्तै जहाज भित्र्याएको छ ।
‘असोजको दोस्रो साताबाट हामीले सेवा दिन सुरु गर्नेछौं,’ अध्यक्ष पोख्रेलले भने, ‘केही समय बन्द रहे पनि यात्रु र ट्राभल एजेन्सीको विश्वासका कारण हामी पुनः नयाँ व्यवस्थाका साथ आएका छौं । साथै चाँडै नै थप चारवटा एटीआर विमान भित्र्याएर आफ्नो बजार बिस्तारका लागि अझ आक्रामक रूपमा आउनेछौं ।’
उनका अनुसार अहिले एयरलाइन्सको दैनिक गन्तव्य झापाको चन्द्रगढी एउटा, विराटनगर तीनवटा, भैरहवा दुईवटा, नेपालगञ्ज दुईवटा र धनगढीमा दुईवटा गरी दैनिक १० वटा उडान हुनेछ ।
विश्वलाई नै कोरोनाले आक्रान्त पारेको अवस्थामा एयरलाइन्सले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न लागेको छ ।
‘हामीले हाम्रा यात्रुको सेवा तथा स्वास्थ्यलाई पूर्ण प्राथमिकतामा राखेका छौं,’ पोख्रेलले भने, ‘पूर्णरूपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर यात्रुलाई सेवा दिनेछौं ।’