काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को असर सामान्य किनमेलमा पनि देखिन थालेको छ । नजिकिँदै गरेका चाडपर्वका बेला खुलेको बजारमा किनमेलका सामान पर्याप्त नहुँदा व्यवसायीहरूले पुराना स्टक सामान सकाउने अवसरका रूपमा उपयोग गरिरहेका छन् ।
कोभिड–१९ का कारण ४ महिना लामो लकडाउन (बन्दाबन्दी) र निषेधाज्ञाका कारण नयाँ सामान ल्याउन नपाएपछि व्यवसायीहरूले पुराना सामान सकाउने अवसरका रूपमा यो वर्षको पर्वलाई उपयोग गर्ने भएका हुन् ।
ठूला व्यवसायीहरूले सामुद्रिक बाटो हुँदै र साना व्यवसायीहरूले चीनबाट लत्ताकपडा, जुत्तालगायतका सामान ल्याउने गरेकोमा अहिले दुवै तिरबाट आउने सामान रोकिएका छन् ।
विशेष गरी दसैं, तिहार र छठ लक्षित फेन्सी कपडा तथा जुत्ता आयात नभएपछि व्यवसायीहरूले आफूसँग भएका स्टक सामान सकाउने रणनीति लिएका हुन् । यो समय न जाडो न गर्मीको हो । यो बेलाका लागि भनेर लत्ताकपडा आयात भएको छैन ।
भदौ महिनामा काठमाडौं उपत्यकालागयत मुलुकभर भएको निषेधाज्ञा र त्यसपछि पनि अवस्था कस्तो हुने हो भन्ने अन्योल भएकाले व्यवसायीहरूले प्रतित पत्र(एलसी) खोलेर सामानहरू नै मगाएनन् ।
नयाँ सामान आपूर्ति नभएपछि दसैंका लागि भनेर व्यवसायीहरूले पुराना सामानहरूलाई सफा गर्दै सोकेशमा सजाउन थालेका छन् । सहज वातावरणमा कुन समय (सिजन)मा कस्ता सामग्रीको खपत हुन्छ भन्ने आधारमा सामान आयात भएको हुन्थ्यो तर, अहिले चैत ११ देखि नेपालमा र त्यसअघि नै विश्वका विभिन्न मुलुकहरूमा लकडाउन भएका कारण आवश्यक सामग्री आउन सकेन ।
राष्ट्रिय व्यापार संघ नेपालका अध्यक्ष कमल अग्रवालले विगत ९ महिनादेखि केरुङ नाकामा १२ भन्दा बढी मालवाहक ट्रक रोकिरहेकाले सबै लत्ताकपडा नाकामै रोकिएको बताए । उनका अनुसार व्यवसायीहरूले सामान आयात खुलाउन सरकारसँग माग गरे पनि व्यवसायीको मागलाई सरकारले बेवास्ता गर्दै आएको छ ।
गत वर्ष मंसिरमा ‘अर्डर’ गरिएका सामानसमेत काठमाडौं आइनपुगेकाले व्यवसायीहरू थप समस्यामा परेर नयाँ सामान आयातमा चासो नदिएका हुन् । ‘साना व्यापारीको पुँजी नाकामा फसेर बसेको छ भने केही ठूला व्यापारीले सामुद्रिक बाटो हुँदै आएका सामान मात्रैमा नेपाल भित्रिएकाले यसपालिको दसैंमा उत्साहजनक व्यापार हुन्छ भन्ने आशा छैन
दसैं नजिकिँदै गए पनि सामान खरिदकर्ताहरूको चाप नभएको भन्दै व्यवसायीहरूले गत वर्षहरूको तुलनामा १० प्रतिशत हाराहारी मात्रै आवश्यक सामान खोजीमा आएको अनुभव सुनाउने गरेका छन् ।
‘विगत वर्षहरूमा उपत्यका बाहिरका व्यापारी आएर सामान छानिछानी लग्ने गर्थे, तर यसपालि कोरोना भाइरसले दसैं खायो’ अग्रवाल भन्छन्, ‘ग्राहकले बर्सेनि नयाँ–नयाँ ब्रान्ड र डिजाइन खोज्ने गरे पनि यसपटक पुरानै सामानमा चित्त बुझाउनुपर्ने अवस्था आएको छ ।’
विगतका वर्षहरूमा चाडपर्वलाई लक्षित गर्दै यो बेलामा मात्रै १० देखि १५ अर्बका सामग्री आयात हुन्थ्यो । तर, यसपटक खासै चहलपहल छैन ।