काठमाडौं । काठमाडौं महानगरपालिकाले कार्यसम्पादनमा सुधार गरी व्यवस्थित सहर निर्माणका लागि २९ बुँदे कार्ययोजना तयार पारेको छ । हाल महानगरभित्रको अस्तव्यस्तता र समस्या हटाउँदै व्यवस्थित र स्मार्ट सहर बनाउने मुख्य उद्देश्यले महानगरले कार्ययोजना बनाएको हो ।
अहिले काठमाडौं महानगर क्षेत्रभित्र हरेक समस्या महानगरपालिका कार्यालयकै बेवास्ताले उत्पन्न भयो भन्ने आरोप छ । महानगरको व्यवस्थापन र सुधारका लागि महानगरपालिका एक्लैले गरेर मात्र नहुने भन्दै आगामी आर्थिक वर्षदेखि अन्तरसरकारी निकायसँग समन्वय गरेर कार्यसम्पादन समेत गर्ने योजना बनाइएको छ ।
काठमाडौंलाई सुन्दर सहरका रुपमा विकास गर्न महानगरपालिका एक्लैले गर्न नसक्ने भन्दै सङ्घीय र स्थानीय सरकारका निकाय नेपाल विद्युत् प्राधिकरण, सडक विभाग, नेपाल टेलिकम, उपत्यका खानेपानी लिमिटेड, वन तथा वातावरण विभाग, नगर प्रहरी, दूरसञ्चार सेवाप्रदायक कम्पनी तथा पूर्वाधार र सहरी मन्त्रालयसँग समन्वय गरी कार्ययोजनासमेत बनाएको काठमाडौं महानगरपालिका कार्यालयका सहरी विकास विभागका प्रमुख हरि कुँवरले बताए ।
उनले आफ्नो विभागले व्यवस्थित काठमाडौं निर्माणका लागि नमुना कार्ययोजना तयार पारेको बताए । सुन्दर र स्मार्ट सहर बनाउन महानगरको मात्रै प्रयासले नहुने भन्दै यसमा अन्य अन्तरसरकारी निकायको जिम्मेवारी, भूमिका र समन्वय अत्यन्त महत्त्वपूर्ण हुने बताए । ‘अहिले महानगरका विभिन्न क्षेत्रमा धमाधम सडक बनाइँदै छ । कुनै मापदण्ड छैन । महानगरसँग कुनै समन्वय गरिँदैन,’ उनले भने, ‘महानगरपालिकाकाभित्रको विकासमा अन्तर सरकारी निकायको समन्वय हुनुपर्छ ।’
अन्तर सरकारी निकायसँग समन्वयमा जुट्दै महानगर
अहिले महानगरक्षेत्रका सडक, तार व्यवस्थापन, ट्राफिक नियम, सडक बत्ती, खानेपानी, विद्युत्, भवन निर्माण, सडक पेटीलगायतका क्षेत्रको व्यवस्थापन र सुधारमा महानगरपालिका मात्रैको जोर चल्दैन । अर्थात, सडक निर्माण र मापदण्ड हेर्न सडक विभाग, सडक छेउमा विद्युत्तीय पोल र तार व्यवस्थापनमा विद्युत् प्राधिकरण, सहरी आवास तथा भवनको मापदण्ड सहरी मन्त्रालयसँग समन्वय हुनु नै पर्छ । अन्तर सरकारी निकायसँग महानगरको समन्वय नभएकै कारण अहिले महानगर क्षेत्रभित्र विभिन्न समस्या विद्यमान रहेको कुँवरले क्यापिटल नेपाललाई सुनाए । उनले आगामी वर्षदेखि कार्यसम्पादनमा सुधार र व्यवस्थित महानगर बनाउन सबै सरकारी नियकासँग समन्वय कायम गर्ने प्रयास गरिएको बताए । ‘आगामी आर्थिक वर्षदेखि महानगरले विभिन्न अन्तर सरकारी निकायसँग समन्वयन गर्न सम्बन्धित सरकारी निकायमा महानगरपालिका हेर्ने गरी विभागीय प्रमुख (फोकल पर्सन) तोक्न अनुरोधसहित पत्र पठाएका छौं,’ उनले भने, ‘१५ दिनभित्र सम्पूर्ण विवरण पठाउन भनेका छौं ।’
यस्ता छन् २९ बुँदे कार्ययोजना
महानगरपालिका कार्यालयले स्मार्ट र व्यवस्थित सहर बनाउन काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा २०७६ वैशाख २७ गते बसेको बैठकले कार्ययोजना बनाउने निर्णय गरेको थियो । त्यसअनुसार महानगरपालिकाअन्तर्गत सहरी व्यवस्था विभागले २९ बुँदे कार्ययोजना तयार पारेको छ । काठमाडौंका सडक मठ मन्दिर तथा सम्पदा क्षेत्रमा उज्याले पार्ने गरी उज्यालो काठमाडौं बनाउने योजना छ । महानगरभित्रका ८ किमीभन्दा कमका सडक नियमित मर्मत र सम्भार गर्ने, ढल निकास तथा मर्मत गर्ने, खुला स्थान, पार्क, सडक पेटीमा हरियाली बनाउने योजना पनि समेटिएको छ ।
महानगरक्षेत्रभित्रका सडक पेटीमा रहेका पोल र तार व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमसँग समन्वय गरिने महानगरले जनाएको छ । सडकका छेउछाउ र पेटीमा निर्माण सामग्री तथा फोहोर राख्न नदिने, भीआईपी सडकका रुखमा रंगरोगन गर्ने गरी वातावरण विभागसँग काठमाडौं महानगरले समन्वयन गर्ने जनाएको छ ।
सडक अतिक्रमण नियन्त्रण गर्दै भवन तथा अन्य निर्माणलाई नक्सापासको दायरामा ल्याइने छ । सडकमाथि आकासे पुलको व्यवस्थापन र तार व्यवस्थापन पनि कार्ययोजनामा राखिएको छ । भीआईपी सडकका दायाँका सरकारी भवन, पर्खालको सरसफाइ मर्मत सम्भार गर्ने, अनावश्यक पोष्टर, पम्प्लेट, ब्यानर, विज्ञापन र होर्डिङ बोर्डलाई निरुत्साहित गर्दै डिजिटल र मल्टिमिडिया प्रणालीका होर्डिङ बोर्डलाई प्राथमिकता दिइने महानगरको योजना छ ।
बजार मूल्य, गुणस्तर कायम गर्न दैनिक अनुगमन, विपत व्यवस्थापन, सडक पेटी र सार्वजनिक स्थलको मर्मत सम्भार गर्ने योजना छ । त्यस्तैगरी, रात्री समयमा महानगरपालिकाको मुख्य बजार क्षेत्रमा सस्तो रात्री बजार सञ्चालन गर्ने योजना छ ।
सार्वजनिक यातायातलाई सुधार गरी सबै क्षेत्रमा पिक एन्ड ड्रप लागू गर्दै यात्रुमैत्री यातायात सेवामा जोड दिइने महानगरले जनाएको छ । रात्रीकालीन बस सेवा सञ्चालन गर्दै ट्राफिक व्यवस्थापनमा पनि सुधार गर्ने लक्ष्य लिइएको छ ।
धूलो र धूँवा (प्रदूषण) नियन्त्रणका लागि ट्राफिक प्रहरीसँग समन्वय गरी व्यवस्थित गर्ने लक्ष्य लिइएको छ । सार्वजनिक शौचालय निर्माण र कुनै अपराध भएमा न्यायिक निकायबाट मुद्दा फैसला गर्न व्यवस्था मिलाइने भएको छ । सडकको ज्यादै नजिक भएका पेट्रोल पम्पलाई केही दूरी पर सारी व्यवस्थापन गर्ने योजना महानगरको छ ।
सडक सुरक्षाका लागि सडक किनारमा घरको छतबाट झरेको आकाशे पानी खस्न नदिनु अर्को महत्त्वपूर्ण योजना बनाइएको छ । नदि किनारमा सडक सञ्चालन, सीसीटीभी जडान तथा व्यवस्थापन गरिने छ । त्यस्तै, घर पसल अगाडिको सडक पेटीको फोहोर व्यवस्थापन तथा सरसफाइ सम्बन्धित घरधनीले नै गर्नुपर्ने छ । भित्री सहरका बहाल चोकलाई संरक्षण गरी सामूहिक प्रयोगमा ल्याउने योजना छ ।
महानगपालिकाभित्र सार्वजनिक यातायात व्यवस्थापन गर्न चालक, सहचालकबीच प्रत्यक्ष संवाद, यात्रुबीच सौहार्दता, ट्राफिक नियमसम्बन्धी साङ्गीतिक सन्देशमूलक गीत, जनचेतनामूलक सन्देश र सुशासनसम्बन्धी कार्य प्रभावकारीरुपमा सञ्चालन गर्ने कार्ययोजना महानगरले तय गरेको हो ।
यी कार्ययोजना यही २०७६ असार ५ गते हुने नगरसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने महानगरले जनाएको छ । समग्रमा महानगरले उदाहरणीय र प्रत्यक्ष महानगरबासी सेवा, लाभ र व्यवस्थित सहर निर्माणका लागि कोशेढुङ्गा साबित हुने काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।