काठमाडौं । अर्थतन्त्र चलायमानका हिसाबले संसारभर डिस्पोजेवल कन्जम्सनलाई उच्च महत्वका साथ हेरिन्छ । जबसम्म डिस्पोजेवल कन्जम्सन बढ्दैन, तबसम्म त्यो देशको अर्थतन्त्र चलायमान हुँदैन । त्यही भएर पनि अर्थतन्त्रमा यसको महत्व अत्यधिक हुन्छ ।
संसारभर डिस्पोजेवल कन्जम्सनलाई अर्थतन्त्रको धड्कनका रूपमा व्याख्या गरिएको छ । ‘किनभने, त्यस्तो खाले कन्जम्सन बढेन भने अर्थतन्त्रले गति नै लिँदैन,’ अर्थतन्त्रका बारेमा सूक्ष्म रूपले चासो राख्दै आएका युवा व्यवसायी भरत आचार्य भन्छन्, ‘डिस्पोजेवल कन्जम्सन कुन गतिमा बढेको छ, सोही गतिमा त्यो देशको अर्थतन्त्र पनि चलायमान हुन्छ ।’
संसारकै अर्थतन्त्रमा डिस्पोजेवल कन्जम्सनको प्रतिशतको मात्रा बढी हुन्छ । त्यही भएर त्यहाँको अर्थतन्त्र नयाँ उचाइमा पुग्ने विभिन्न माध्यम देखिन्छ । विगत १०/१५ वर्षमा नेपालको अर्थतन्त्रले हरेक वर्ष नयाँ उचाइ लिइरहनुको मुख्य कारण भनेको डिस्पोजेवल कन्जम्सन बढेकै कारण भएको आचार्य बताउँछन् ।
अहिले अग्र्यानिक कन्जम्सन मात्रै भइरहेको छ । त्यही भएर देशको अर्थतन्त्र चलायमान भएको छैन । जबसम्म डिस्पोजेवल कन्जम्सन बढ्न सक्दैन, तबसम्म त्यो देशको आर्थिक गतिविधि पुरानै लयमा फर्किन कठिन हुने अर्थविद् डा. डिल्लीराज खनाल बताउँछन् ।
कोरोना महामारीकै बीचमा चीनले अर्थतन्त्रलाई चलायमान मात्रै बनाएको छैन । ‘अर्थतन्त्रको ग्रोथलाई नै नयाँ रेकर्डमा पु¥याइरहेको छ । त्यसको पछाडिको कारण भनेको डिस्पोजेवल कन्जम्सन बढ्नु नै हो,’ खनाल भन्छन्, ‘नेपालको अर्थतन्त्रमा पनि त्यस्तो कन्जम्सनको मात्रा धेरै भएकाले अर्थतन्त्र पनि चलायमान थियो । तर, अहिले त्यो खपत शून्यमा झरेको छ । यसलाई बढाउनुपर्छ ।’
के हो डिस्पोजेवल कन्जम्सन ?
कसैले खाना खाएर फ्याक्छ । संसारभर खानेभन्दा फाल्ने प्रतिशत बढी हुन्छ । त्यसैलाई डिस्पोजेवल कन्जम्सन भनिन्छ । कन्जम्सन त भयो तर, डिस्पोजेवल । अहिले मान्छेले विगत ६ महिनादेखि घरमा जुन कपडा छ, त्यही कपडा लगाइरहेको छ । यो बीचमा एक जोर पनि कपडा किनेको छैन । सामान्य समय भएको भए, उसले यो बीचमा दुई/तीन जोर नयाँ कपडा किन्थ्यो होला । उसँग कपडा हुँदाहुँदै नयाँ किन्ने बित्तिकै डिस्पोजेवल कन्जम्सन बढ्यो ।
मान्छेलाई एउटा घर भए पुग्छ । तर, कोही–कोही व्यक्तिले दुइटा घर बनाएर राख्छन् । त्यो डिस्पोजेवल कन्जम्सन हो । एक तला घर भए पुग्ने ठाउँमा किन दुई तला बनाउँछन् । दुई तला बनाउने बित्तिकै निर्माणजन्य सामग्रीको व्यापार बढ्छ । तर, एक तलाले पुग्ने ठाउँमा दुई तला बनाउने बित्तिकै त्यसलाई डिस्पोजेवल कन्जम्सन भनिन्छ ।
अर्थतन्त्रमा डिस्पोजेवल कन्जम्सनको प्रतिशत कति रहन्छ ?
त्यस्तो डिस्पोजेवल कन्जम्सनको प्रतिशत अत्यधिक हुन्छ । त्यस्तो प्रकारको डिस्पोजेवल कन्जम्सनले अर्थतन्त्रलाई चलायमान बनाउँछ । त्यस्तो खालको कन्जम्सन नबढ्दासम्म अर्थतन्त्र चलायमान बनाउन सक्दैन ।
१०/१५ वर्षमा नेपालको अर्थतन्त्र रिभाइभ हुनुको मुख्य कारण नै डिस्पोजेवल कन्जम्सन बढ्नु हो । नेपालको अर्थतन्त्रमा ७०/८० प्रतिशत योगदान कन्जम्सनकै छ । त्यसमा डिस्पोजेवलको हिस्सा धेरै छ । कन्जम्सन लिड इकोनोमीमा डिस्पोजेवल कन्जम्सनको प्रतिशत धेरै छ । कोरोना महामारी पछि भइरहेको कन्जम्सन भनेको अग्र्यानिक कन्जम्सन हो । तर, यसले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउँदैन र बनाएको पनि छैन ।
डिस्पोजेवल कन्जम्सन बढाउन कसको भूमिका कति ?
डिस्पोजेवल कन्जम्सन बढाउनलाई सरकार र केन्द्रीय बैंकले विभिन्न औजारहरू प्रयोग गर्नुपर्छ । सरकारले आर्थिक र केन्द्रीय बैंकले मौद्रिक नीतिबाट नयाँ औजारहरू ल्याउनुपर्छ ।
आर्थिक नीतिअन्तर्गत सरकारले विकास खर्च व्यापाक बढाउन सक्छ । अहिलेसम्म एकदमै कमजोर छ । विकास निर्माणका कार्यलाई तीव्रता दिने बित्तिकै राज्यकोषबाट पैसा बाहिर जान्छ । त्यसले पनि डिस्पोजेवल कन्जम्सनलाई बढाउन सक्छ र अर्थतन्त्र चलायमान हुन सक्छ ।
त्यसैगरी सरकारले नगद सहुलियत दिएर भए पनि डिस्पोजेवल कन्जम्सन बढाउन सकिने अर्थविद् चन्द्रमणि अधिकारी बताउँछन् । ‘कोरोना महामारी पछि विश्वका धेरै मुलुकले नगद नै प्रवाह गरे । अझ निश्चित समयभित्र खर्च गरिसक्नुपर्ने भन्ने गरी पैसा बाँडे’ अधिकारीले भने, ‘कतिपय देशले खर्च गरेको बिललाई आधार मानेर पैसा दिएका छन् ।’
उनका अनुसार सरकारले ३/४ सय अर्ब रुपैयाँ बाड्दा राज्यलाई केही नोक्सान हुँदैन । बरु फाइदा नै पुग्छ । ५० देखि ६० अर्ब रुपैयाँ त तत्काल राज्यकोषमै करका माध्यमबाट फर्किन्छ ।
त्यसैगरी उद्योगी/व्यवसायीहरूलाई सहुलियत दिने गरी प्याकेज ल्याउने । ताकी त्यसले रोजगारी सिर्जना गरोस् र उत्पादन बढाओस् । अहिले नयाँलाई रोजगारी दिनेभन्दा पनि रोजगारी गुमाएकालाई पुनः फर्काउने हो ।