काठमाडौं । कोभिड–१९ को कारण ६ महिनादेखि बन्द भएको होटल दोस्रो पटक खुलेको छ । कोभिडले अति प्रभावित क्षेत्रमा परेको होटल व्यवसाय खुलेसँगै व्यवसायीहरुले नयाँ योजना र आशाका साथ अगाडि बढ्ने जनाएका छन् ।
यसअघि साउन १५ गतेबाट होटल खुलाउने निर्णय गरिए पनि भदौ ३ गतेबाट निषेधाज्ञा जारी गर्दै होटल, रेस्टुराँहरु बन्द गरेका थिए । सरकारले असोज १ गतेदेखि होटल तथा रेस्टुराँ खुलाउन दिने निर्णय गरेसँगै अब पर्यटक र ग्राहकको चहलपहल गराउन आन्तरिक र अन्तर्राष्ट्रिय उडान पनि खुला हुनुपर्ने व्यवसायीहरुले बताएका छन् ।
म्यारियट होटलका सञ्चालक शशिकान्त अग्रवालले होटल खुले पनि अन्तर्राष्ट्रिय उडानहरु सुचारु नभएसम्म त्यसको अर्थ नहुने बताउँछन् । सरकारी निर्णयले काठमाडौं उपत्यका बाहिरका होटलहरुलाई केही राहत मिले पनि उपत्यका भित्र रहेका र त्यसमा तारे होटलहरुलाई भने कुनै राहत नपुग्ने भएकाले तत्कालै नियमित रुपमा अन्तर्राष्ट्रिय उडानहरु सुचारु गर्न आवश्यक रहेको उनको भनाइ छ । यसतर्फ सरकारले तत्कालै सोच्न आवश्यक रहेको उनले बताए।
अल्फट होटलका सञ्चालक सुमन पाण्डेले निश्चित मापदण्डहरु पूरा गरी अन्तर्राष्ट्रिय उडानहरु सुचारु गरियो भने पर्यटकहरुको चहलपहल बढ्न सक्ने भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । होटलमा ग्राहक नआए पनि आफूहरुले आशा भने अझै नमारेको उनको भनाइ छ ।
केजिएच ग्रुपका संस्थापक अध्यक्ष कर्ण शाक्यले आफ्ना सबै होटलहरु खुला गरिएको बताए । महिनाैं दिनदेखि बन्द रहेको होटल पूर्ण सुरक्षित साथ बस्न योग्य बनाएर सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।
होटल एसोसिएसन अफ नेपाल(हान)का प्रथम उपाध्यक्ष एवं एयरपोर्ट होटलका सञ्चालक विनायक शाहले सरकारको निर्णयअनुसार होटल खोलिएको बताए। ‘होटल खोलेका छौं, ग्राहक छैनन्, सञ्चालक शाहले भने, तर हिम्मत हारेका छैनौं ।’ ग्राहकको पर्खाइमा सीमित कर्मचारीको साथमा होटल सञ्चालन गरेको उनको भनाइ छ ।
काठमाडौं प्रिन्स होटलका सञ्चालकका एवं हानका महासचिव साजन शाक्यले बन्द गरेर राख्नुभन्दा खोल्न मनमा केही सन्तुष्ट मिलेको प्रतिक्रिया दिए । पर्यटकीय गतिविधि सून्य रहँदा होटलहरुको व्यापार ध्वस्त भएको बताउँदै आगामी दिनमा राम्रो हुने अपेक्षा लिएको उनको भनाइ छ ।
क्राउन प्लाजा होटलका सञ्चालक युवराज श्रेष्ठले पर्यटकहरुलाई सन्देश दिनका लागि भए पनि होटल सञ्चालनमा ल्याएको बताए । विदेशबाट नेपाल आउनेहरुले सोधखोज गरिरहेका छन्, हामी आशावादी छौैं, उनले भने ।
लामो समयदेखि बन्द भएको होटल सञ्चालनमा आए पनि ग्राहक भने छैनन् । फाट्टफुट्ट चिया कफी खाने र आन्तरिक पर्यटकहरु भने आउन थालेका छन् ।
काठमाडौं उपत्यका सहित पोखरा, सौरहा, धुलिखेल लगायतका क्षेत्रमा पनि होटल सञ्चालनमा आएको छ ।