काठमाडौं । बागलुङ र पर्वत जिल्लाको सीमा छुट्याएर सुसाउँदै बग्ने कालिगण्डकी नदी । त्यसमाथि ५०० मिटर नेपालकै लामो अर्थात एसियाकै नमुना झोलुङ्गे पुल । पुलबाट तल हेर्दा कहालीलाग्दो दृश्य । यहि कहालीलाग्दो नदीमाथी ११ सेकेन्डको ‘फ्रिफल’ को मज्जा लुट्न बनेको बन्जीजम्प ।
नेपालमा भोटेकोसी र पोखरापछि बनेको तेस्रो बन्जी गन्तव्य बागलुङ र पर्वतको कालीगण्डकी खाेंचमा निर्माण सम्पन्न भइसकेको छ । लकडाउनकै बेला गत बैशाखमा सकिएर ‘ओपनिङ’ कुरेको बन्जीजम्पले सर्वसाधारणका लागि भने सामान्य अवस्था कुरिरहेको छ । कम्पनीले यसलाई दशैंअगाडि नै सर्वसाधारणका लागि खुल्ला गर्ने भएको छ ।
पर्वतको गुप्तेश्वर गुफा र बागलुङ बलेवा एयरपोर्टभन्दा १० मिनेटमै पुगिने बन्जीजम्पमा अहिले परीक्षणका लागि केहि युवाहरुले बन्जी गरिसकेका छन् । तर, व्यावसायिक रुपमा कोभिड–१९ का कारण नखुले पनि आवतजावत गर्नेका लागि अहिले यो गन्तव्य बनिसकेको छ ।
कालिगण्डकी खोंचमा पुलसँगै बीचमा बनेको विश्वकै दोस्रो अग्लो बन्जी पनि हो यो । यति मात्र होइन, कालिगण्डकी नदी देखिने गरी बनाइएको गुलेली आकारको पिङग, स्काई साइक्लिङ एवम् सुइङ्गले पनि साहसिक खेलमा थप आकर्षण थपेको छ ।
यीनै साहसिक खेलले बागलुङमा आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याएको छ । तस्विर र भिडियोमा हेरेर धित नमर्नेहरुका लागि मन उडेर उतै पुगेपनि पुग्नकै लागि भने सामान्य अवस्था कुर्नेपर्ने हुन्छ ।
मन पनि किन नलोभ्याओस ? धवलागिरि, निलगिरि हिमाल र बागलुङतर्फबाट देखिने माछापुच्छ«े हिमालले त्यसै रोमाञ्चित बनाउँछ ।
६ युवाले बागलुङ र पर्वत जिल्ला जोड्ने विश्वकै अग्लो साहसिक खेल बन्जी निमार्ण कार्य सम्पन्न गरेका हुन् । ‘द क्लिफ’ नामक कम्पनी मार्फत सो क्षेत्रमा साहसिक पर्यटनका लागी हालसम्म २८ करोड रुपैयाँ लगानी भैसकेको छ ।
द क्लिफमा राजु कार्की नवराज जोशी, नेत्र पराजुली, नवराज शर्मा, राजन जोशीको लगानी छ । बन्जिजम्पमा प्रभु बैंकले ऋण लगानी गरेको छ । यी ६ जना मुख्य लगानीकर्ताकै टिमले साहासिक पर्यटनलाई अगाडी बढाइरहेका छन् । अहिले यो टिम र द क्लिफलाई राजु कार्कीले लिड गरिरहेका छन् ।
कार्की लामो समय एड्भेन्चर क्षेत्रमा अनुभव बटुलेका युवा हुन् । कार्कीकै योजनामा कालिगण्डकी नदीको खोंचमा साहसिक खेल बञ्जी निर्माण भएको हो ।
द क्लिफ प्रालिका अध्यक्ष समेत रहेका कार्कीको यस क्षेत्रमा लामो अनुभव छ । उनले लामो अध्ययनपछि यो व्यवसायमा हात हालेको बताउँछन् । उनी भन्छन ‘मेरो पहिलेदेखिनै साहसिक खेल बञ्जी सञ्चालन गर्ने सपना थियो, लामो समय अध्ययन र ठाउँ खोज्दै गएपछि अन्तिम गन्तव्य कालिगण्डकी नै पर्यो’ ।
सिन्धुपाल्चोकका कार्की अध्ययनका क्रममा फ्रान्स र स्विजरल्याड हुँदा व्यवस्थापन अध्ययन गरेपछि साहसिक खेलहरुको पनि कोर्स लिएका थिए । उनले क्यानोनिङ, हाईरोक्स, बन्जीलगायतको कोर्स पुरा गरेका छन् ।
बञ्जी लगाएतका अन्य खेल सञ्चालनका लागी कालिगण्डिकी खोंच नै उपयुक्त स्थान भएपछि गत २०७३ सालबाट सो क्षेत्रमा बन्जीका लागि सम्भाव्यता अध्ययन भएको कार्कीले बताए ।
बागलुङ र कुश्माकै खोंच बन्जीका लागि उपयुक्त स्थान भन्ने पक्का भएपछि अध्यक्ष कार्कीले बागलुङ र पर्वतका स्थानीय युवाहरुको सहकार्यमा यो कार्यलाई अगाडी बढाएका थिए ।
राजु यसअघि नै युरोप, स्वीजरल्यान्डका सहासिक खेलमा निकै अनुभव बटुलिसकेका व्यक्ति हुन । नेपाल बाहिरको अनुभव बटुल्नु अगाडी कार्कीले द लास्ट रिसोर्ट भोटेकोसीको बन्जीमा इस्ट्रक्चर म्यानेजमेन्टको रुपमा ७ वर्ष काम समेत गरेका थिए । नेपाल बाहिर करिब ३ वर्ष रहँदा पनि कार्कीले यो क्षेत्रलाई आफ्नो प्रोफेसनको रुपमा नै स्थापित गरे ।
पर्यटक नगरी पोखरानजिकै तथा लोकमार्गबाट पनि नजिकै पर्ने भएकाले बागलुङ–कुश्मामा निर्माणाधिन बन्जीले पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याउने अर्का लगानीकर्ता नेत्र पराजुली बताउँछन् । पोखराको लेकसाइडमा कार्यालय सञ्चालनमा ल्याएको द क्लिफले ‘लभ कुश्मा’ रिसोर्ट पनि सञ्चालन गरेको छ ।
कम्पनीले बन्जीजम्पका साथै स्काई साइक्लिङ एवम् सुईङ्गसमेत सञ्चालनमा ल्याइसकेको छ । बन्जीका लागि आउँने पर्यटकका लागि बागलुङ क्षेत्रमा करिब १०० भन्दा बढीलाई सेवा दिने गरी रिसोर्ट निर्माण भइसकेको छ ।
विश्वकै सबैभन्दा उचाईमा अवस्थित स्काई साइक्लिङ र सुईङ्गसँगै विश्वकै दोस्रो अग्लो बन्जी ७३५ फुट भएकाले यो एसियाकै उत्कृष्ट गन्तव्य बन्ने अध्यक्ष कार्की बताउँछन् । काठमाडौं–पोखरा मुस्ताङसम्म जाने पर्यटकले एक पटक बन्जी नगरी नजाने कार्कीको विश्वास छ ।
नेपाल जस्तो भौगोलिक हिसाबले भरिपूर्ण देशमा साहसिक पर्यटनको राम्रो गन्तव्य र सम्भावना भएकै कारण यस क्षेत्रमा लगानी गरेको पराजुलीले बताए ।
अहिले चीनको मकाउ टावरमा २३३ मिटरमा पहिलो, स्विट्जरल्यान्डको टिसिनो भिर्जस्का ड्याममा २२० मिटरको दोस्रो र साउथ अफ्रिकामा तेस्रो अग्ला बन्जी सञ्चालनमा छन् । पछिल्लो समय नेपाली युवाहरूमा साहसिक पर्यटन प्रतिको ‘क्रेज’ ह्वात्तै बढेको छ । क्रेजमात्र बढेको छैन, यस क्षेत्रमा ठूला ठूला पूर्वाधार निमार्ण गरी लगानी पनि बढेको छ ।
स्काई साइक्लिङ, बन्जी, प्याराग्लाइडिङ, ¥याफ्टिङ र जीपलाइनको सञ्जाल देशव्यापी फैलिएको छ । साहसिक पर्यटन प्रेमीलाई लक्षित गर्दै परम्परागत रूपमा खेलिने पिङलाई परिमार्जित गरी विभिन्न ठाउँमा अनौठाअनौठा पिङ बनाउने होड नै चलेको छ ।