काठमाडौं । कोभिड–१९ का कारण ६ महिनादेखि बन्द नेपालको पर्यटनमा नयाँ आशा जगाउने ‘स्टेप’ सुरु भएको छ । कोभिडले अहिले विश्वको पर्यटननै थला परेको बेला नेपालमा बहराइनका राजपरिवार (रोयल फ्यामिलि) को भ्रमण भएको छ ।
बहराइनका राजकुमार नासिर बिन हामिद अल खली नेपालको हिमाल आरोहणका लागि बुधबार काठमाडौं आइपुगेका हुन् । कोभिड महामारीका बीचमै पहिलो पटक भीभीआइपीको भ्रमण हुनु पर्यटन क्षेत्रका लागि सुखद भएको व्यवसायीहरु बताउँछन् ।
पर्यटकीय गतिविधि अस्तव्यस्त बनिरहेको बेला बहराइनका राजकुमार सहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणका लागि काठमाडौंमा आइपुग्नुलाई विशेष चासोको रुपमा हेरिएको छ ।
उनको यो टोलीनै कोभिडपछि बन्द रहेको अन्तर्राष्ट्रिय आगमन नेपाल आउने पहिलो टोली हो । यसलाई नेपालको पर्यटनमा आशा जगाउने पहिलो स्टेपको रुपमा लिइएको छ ।
काठमाडौं आइपुगेका राजकुमार ६ दिन गोकर्ण फरेष्ट रिसोर्टमा क्वारेन्टाइनमा बस्ने छन् । क्वारेन्टाइनको अवधि पुरा गरेर सातौ दिन सोलुखुम्बुको लुक्ला प्रस्थान गर्ने कार्यक्रम रहेको सेभेन समिटका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिए । १८ जनाको टोली मध्ये १५ जना बहराइनी र ३ जना बेलायती छन् ।
उनीहरु हेली एभरेष्ट मार्फत लुक्लामा जाने छन् । त्यहाँबाट खुम्बुमा रहेको लोबुचे हिमाल आरोहण गरेर गोर्खाको मनास्लु हिमाल आरोहणका लागि जाने कार्यक्रम रहेको छ । आरोहणको नेतृत्व सेभेन समिट ट्रेक्सले गरेको छ ।
राजकुमारको आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्यूड गाइड खटाइने छ । जस्मा सर्वाधिक २४ औं पटक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पा, बिनाअक्सिजन सगरमाथा आरोहण गर्ने कान्छा नेपाली आरोही टासी लाक्पा शेर्पा र संसारका ८ हजार अग्ला १४ वटा हिमाल आरोहण गर्ने छाङ दावा शेर्पा र सानो शेर्पासहितको टोली रहने अध्यक्ष शेर्पाले जानकारी दिए ।
राजकुमारको नेपाल प्रवेशले पर्यटनमा नयाँ आशा र उत्साह जगाएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा)का अध्यक्ष अच्यूत गुरागाइको भनाई छ । ‘उहाँको प्रवेशलाई विश्वले विषेश रुपमा हेरेको छ,अध्यक्ष गुरागाईले भने, यसले कोभिडले ठप्प रहेको पर्यटनलाई ‘बुम’ गराउछ ’ ।
२०७६ चैतदेखि नेपालमा पर्यटकीय गतिविधि ठप्प रहेको छ । सरकारले सोमबार बसेको मन्त्रिरिषदको बैंठकले कात्तिक १ गतेबाट हिमाल आरोहणका लागि अनुमति खुला गरेको छ ।
को हुन राजकुमार नासिर ?
३३ वर्षिय राजकुमार नासिर राजा हमद बिन इसा अल खालिफा छोरो हुन् । उनी बहराइन रोयल गार्डसका चिफ हुन् भने ओलम्पीक कमिटी बहराइनका अध्यक्ष समेत रहेका छन् । घुमघाममा रुची राख्ने उनले सगरमाथा आरोहण गर्ने तयारीका साथ पहिलो चरणमा नेपालको दुई हिमाल आरोहण गर्न लागेका हुन् ।