नयाँ दिल्ली (भारत) । जापानी अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशनले व्यवसाय विस्तार नगर्ने भएको छ । उच्च कर प्रणाली तर्फ औंल्याउँदै कम्पनीले यस्तो निर्णय गरेको हो ।
यसले कोरोना भाइरसको महामारीका कारण उत्पादन आर्थिक सुस्ती टार्न बहुराष्ट्रिय कम्पनीहरुलाई भारतमा लगानी गर्न आकर्षित गर्ने प्रयास गरिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ठूलै झट्का दिएको छ ।
सरकारले कार र मोटरबाइकमाथिको कर उच्च राखेकोले कम्पनीहरुलाई कठिन भइरहेको टोयोटाका स्थानीय एकाईका उपाध्यक्ष शेखर विश्वनाथनले भने ।
उच्च करका कारण कार खरीद धेरै क्रेताको लागि महँगो बनेको छ । यसका कारण कारखानाहरुले धेरै काम नपाएको र रोजगारी समेत सृजना हुन नसकेको उनले बताए ।
कम्पनीले भारतीय बजारमा लगानी गरेपछि सरकारको कर नीतिबाट हामीलाई तिमीहरु चाँहिदैंन भन्ने सन्देश पाएको एक अन्तर्वार्तामा विश्वनाथनले बताए । टोयोटाले सन् १९९७ देखि भारतमा व्यवसाय सञ्चालन गरिरहेको छ ।
यो विश्वको सबैभन्दा ठूलो कार निर्माता मध्ये एक हो । स्थानीय एकाईमा मातृ कम्पनीको ८९ प्रतिशत स्वामित्व छ । गत वर्षको सोही अवधिमा करीब ५ प्रतिशत रहेको भारतीय कार बजारमा कम्पनीको हिस्सा गएको अगष्टमा घटेर २ दशमलव ६ प्रतिशतमा सीमित भएको भारतीय अटोमोबाइल डिलर परिसंघको तथ्यांकले देखाएको छ ।
भारतमा कार, दुई पाङ्ग्रे सवारी साधन र यूएसभीमा बढीमा २८ प्रतिशतसम्म कर तिर्नुपर्छ । १ हजार ५०० सिसिभन्दा बढी क्षमताको इञ्जिन भएको चार मिटर लामो एसयूभीमा बढीमा ५० प्रतिशतसम्म कर लाग्दछ । विद्युतीय सवारी साधनमा भने कर दर ५ प्रतिशत मात्रै रहेको छ ।
भारतमा उत्पादन कारखाना स्थापना गर्न अटो निर्माता लगायत विविध कम्पनीहरुलाई आकर्षित गर्न प्रोत्साहन स्वरुप २३ अर्ब डलर दिने योजना सरकारले बनाइरहेको छ ।
तर उच्च करका कारण बहुराष्ट्रिय अटो कम्पनीहरुले भारतीय बजारमा व्यवसाय विस्तार गर्न सकिरहेका छैनन् । जनरल मोटर्सले सन् २०१७ मा भारत छाडेको थियो ।
फोर्डले पनि गत वर्ष महिन्द्रा एण्ड महिन्द्रासँगको ज्वाइन्ट भेञ्चर खडा गरेर भारतमा रहेको अधिकांश सम्पत्ति अन्यत्र सार्ने सहमति गरेको थियो । एजेन्सी