नजिकिँदो चाडपर्व सरकारले आन्तरिक हवाई उडान, लामो दुरीका यातायात र होटल तथा रेष्टुरेन्टहरु असोज १ गतेदेखि खोल्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले हवाइ उडान, यातायात तथा होटलहरु सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने भनेको छ ।
यसअघि नै उपत्यकामा क्षेत्रगत रुपमा छोटो दुरीका सार्वजनिक यातायात जोरविजोर प्रणालीमा सार्वजनिक र निजी सवारीसाधनहरु खुलिसकेका छन् । उपत्यकाबाहिर पनि कतिपय क्षेत्रमा वातावरण सहज हुँदै गएको छ भने कतिपय क्षेत्रमा अझै कडाई नै गरिएको छ ।
उता, लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै व्यवसायीहरुले सैलुन र ब्यूटीपार्लर खोल्न पाउनुपर्ने माग राख्दै उपत्यकाका विभिन्न ठाउँमा मंगलबार प्रदर्शन गरेका छन् । मंगलबारै निषेधाज्ञाको विरोधमा कोटेश्वरका व्यापारीहरुले पनि निषेधाज्ञा खुलाइ सहज रुपमा व्यापार व्यवसाय गर्न पाउनुपर्ने भन्दै प्रदर्शन गरेका थिए । केही समयअघि न्यूरोडलगायतका क्षेत्रका व्यवसायीहरु पनि नियमित व्यवसाय गर्न पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका थिए ।
व्यवसायीहरुले बेलाबेलामा आक्रोश पोख्दै आएका छन् । यातायात व्यवसायीहरुले पनि असोज १ देखि सार्वजनिक सवारी नखोले सिधै गाडी गुडाउने घोषणा गरेका थिए । बन्दाबन्दीले व्यवसायीहरु समस्यामा परेको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघ पनि निरन्तर आन्दोलनमा छ ।
महासंघले केही समययता सरकार तथा विभिन्न राजनीतिक दलका नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाउँदै आएको छ । फिल्म हल, पार्टी प्यालेस, खेलकुदजस्ता जमघट हुने क्षेत्र अझै बन्द छन् । यी क्षेत्रका सरोकारवालाहरु पनि अब सडकमा आउने सम्भावना छ ।
नजिकिँदो नेपालीहरुको चाडपर्व र लामो बन्दाबन्दी तथा निषेधाज्ञापछि बजारमा चहलपहल सुरु भएकाले सतर्कता नअपनाउने हो भने आगामी दिनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणले उग्र रुप लिने छ । संघीय सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन र त्यसपछि विभिन्न क्षेत्र केन्द्रित निषेधाज्ञाले भाइरस संक्रमणलाई न्यूनीकरण गर्नै सकेन । यद्यपी अझै पनि जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने भनेर संघीय सरकारले जुनसुकै बेला निषेधाज्ञा हुनसक्ने चेतावनी दिएको छ ।
कोभिड–१९ लाई कसैले पनि हल्का ढंगले लिनु हुँदैन । अझै संकट टरिसकेको छैन । नेपालमा अझै महामारीले उच्चतम विन्दु लिएको जस्तो देखिँदैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार वितेको २४ घन्टामा मात्रै नेपालमा थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । संक्रमितहरुको संख्या बढ्दै गइरहेको अधिकांश क्षेत्रहरु खुकुलो हुँदै गएका छन् ।
बन्द भएका क्षेत्रहरु पनि विस्तारै खुलाउनुपर्ने वाध्यतामा सरकार छ । विशेषगरि ठूला चाडपर्व दशैं, तिहार र छठका कारण मानिसहरुको चहलपहल बढी नै हुन्छ । यस्तो बेला विशेष सावधानी आवश्यक हुन्छ । यस्तो बेला सतर्कता नअपनाउने हो भने झनै स्वास्थ्य जोखिम बढाउँछ ।
धार्मिक र सांस्कृतिक क्षेत्रलाई सधै संकुचनमा राख्दा कस्तो समस्या सिर्जना हुन्छ भन्ने कुरा केही दिन अघि रातो मच्छेन्द्रनाथको जात्रा चलाउने क्रममा भएको विद्रोहले पनि देखाउँछ । त्यसैले कोभिडविरुद्धको लडाईमा हरेक व्यक्तिले म पनि एक सिपाही हो भन्ने हिसावले अघि बढेमा मात्रै राहत दिन सक्छ ।
समस्या आउँछ भनेर सधै लकडाउन वा निषेधाज्ञा गरेर सम्भव हुँदैन । अब बाँकी क्षेत्रहरु पनि खुला गर्नुपर्छ । महामारीबाट भाग्ने होइन मुकाबिला गरेर अघि बढ्नुको विकल्प छैन । अब सबै कुरा पहिलेकै अवस्थामा फर्कनुपर्छ । फरक यत्ति हो, स्वास्थ्य मापदन्ड मेरालागि भनेर कार्यान्वयनमा गर्नुपर्छ ।
सुरुदेखि नै महामारीका बारेमा अनेकन हल्ला चलिरहेका छन् । त्यस्ता हल्लाहरुको पछि नलागी आफू र आफ्नो परिवार सुरक्षित राख्नुपर्छ । आफू र आफ्नो परिवार सुरक्षित राख्न सकिएमा समाज र मुलुक नै सुरक्षित हुन्छ । महामारी केही होइन भनेर लापरवाही गर्दा आफू त बच्न सकिएला तर, परिवार र समाजमा ठूलो पीडा थपिन सक्छ । नागरिक सचेतता नै महामारीको अचुक अस्त्र हो ।