काठमाडौं । दुई महिनाअघि अन्तर्राष्ट्रिय स्पेस स्टेसन आईएसएसमा पठाइएको नेपालको पहिलो भू–उपग्रह सोमबार अपह्रान्ह पृथ्वी कक्षमा प्रक्षेपण भएको छ । यससँगै जाक्साको बर्ड थ्री प्रोजेक्टअन्तर्गतको उक्त भू–उपग्रह ‘नेपाल स्याट वान’ले आकाशमा घुम्न पाउनेछ ।
नेपालको पहिलो भू–उपग्रहको पृथ्वी कक्षमा छोडिएको ऐतिहासिक क्षणलाई सबैमाझ साझा गर्न नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले आफ्नो कक्षमा सार्वजनिक अवलोकन कार्यक्रमको व्यवस्था मिलाएको थियो । उक्त कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगो, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बीसी तथा नास्टका सचिव डाक्टर महेशकुमार अधिकारीको उपस्थिति थियो ।
स्याट वानलाई नेपालको स्थानीय समयअनुसार अपह्रान्ह चार बजे आईएसएसबाट पृथ्वी कक्षमा छोडिएको हो । उक्त भू–उपग्रहलाई पृथ्वी सतहभन्दा करिब चार सय किलोमिटर माथि भूटानको आकाशमा छोडिएको नास्टका इन्जिनियर रोशन पाण्डेले बताए ।
उक्त भू–उपग्रह छोडिएपछि त्यसबाट डेटाहरु डाउनलिङ्क र अपलिङ्क गर्न सकिने पाण्डेले बताएका छन् । तर, हालसम्म नेपालको ग्राउन्ड स्टेसन तयार नभएको र इन्स्टलेसनको काम भइरहेका कारण एक हप्तासम्मका लागि जापानकै क्युटेकमा डेटा भण्डारण हुने इन्जिनियर पाण्डेले बताए ।
नेपाली वैज्ञानिकहरुले निर्माण गरी प्रक्षेपण भएको पहिलो भू–उपग्रह शैक्षिक प्रायोजनका लागि भएको भन्दै यसबाट धेरै ठूलो परिवर्तन र चमत्कार अपेक्षा नगर्न इन्जिनियर पाण्डेले बताएका छन् । करिब एक किलो तौल भएको नेपालको पहिलो भू उपग्रह स्याट वानमा पाँच मेगा पिक्सल्सको क्यामेरा जडान गरिएको छ जसले लो, मिडियम र हाई रेज्युलेसनको फोटो दिनसक्छ । पाण्डेका अनुसार भू–उपग्रहको प्रभावकारिताको मूल्याङ्कन अहिले नै आँक्न सकिने अवस्था छैन । उनले भने, ‘अहिले हामी केही भन्न सक्दैनौं, उसले दिने फोटो आएपछि मात्र त्यो कस्तो आउँछ र त्योबाट के गर्न सकिन्छ भन्ने कुरा निक्र्यौल गर्न सक्छौं ।’
पाण्डेले आज छोडिएको उक्त भू उपग्रह राम्ररी प्रक्षेपण भएको खण्डमा एक हप्ताभित्र नास्टले फोटो सार्वजनिक गर्ने र एक महिनासम्म त्यसलाई निरिक्षण मै राखेर जुलाईभित्र कुनै न कुनै किसिमको डेटा सार्वजनिक गर्ने बताएका छन् ।
नेपालको भू–उपग्रह प्रक्षेपणको अवलोकन गर्न नेपालीलगायत अन्य दुई भू उपग्रह अन्तरिक्षमा प्रक्षेपण गराउने संस्था जाक्साको स्टेसनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नास्टका उपकुलपति डाक्टर सुनिलबाबु श्रेष्ठ जापान पुगेका छन् । जाक्साको स्टेसनबाट उक्त ऐतिहासिक क्षणपछि बोल्दै मन्त्री पोखरेलले जाक्सा र क्युसेटसँग आगामी दिनमा पनि सहकार्य गरेर जाने बताएका छन् । उनले भने, ‘आकारमा सानो भए पनि नेपालको झण्डा र नास्टको लोगो बोकेको भू–उपग्रहले अन्तरिक्षमा नेपालको प्रतिनिधित्व गरेको छ । यो बर्ड थ्री प्रोजेक्टले क्युटेक र जाक्सालाई पनि भावी सहकार्यका लागि नास्टको नजिक ल्याएको छ ।’
उक्त भू–उपग्रह प्रक्षेपणले नेपाल र जापानको ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाएको बताउँदै आगामी दिनमा सहकार्य गर्न कुनै कसर बाँकी नराख्ने उनले बताएका छन् ।
नेपाल स्याट वानसँगै श्रीलङ्का र जापानका नानो भू–उपग्रहलाई पनि आजै पृथ्वीको कक्षमा प्रक्षेपण गरिएको छ ।