काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा पहिलोपटक सुरु भएको ‘नाडा इभी एक्सपो २०२२’ मा साना–ठूला ५१ स्टलमा थरिथरीका विद्युतीय सवारीसाधन (इभी) राखिएका छन्।
अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेको एक्सपो असोज ९ सम्म चल्ने छ। इभी प्रयोग र महत्व बुझाउने उद्देश्यसाथ नाडाले पहिलोपटक एक्सपो आयोजना गरिएको अध्यक्ष ध्रुव थापाले जानकारी दिए।
तरलता संकटका बेला सुस्ताएको अटोबजारलाई यस्ता एक्सपोले थप सहज बनाउने थापाको भनाइ छ। तर, सरकारी स्तरबाट आवश्यक पूर्वधार निर्माणमा ध्यान नदिएकै कारण धेरै समस्या आएकोले यसतर्फ ध्यान दिन उनले सरकारसँग आग्रह गरेका छन्।
अर्थमन्त्री शर्माले इभीमा सरकारका तर्फबाट आवश्यक सहुलियत दिइरहेको बताए। ‘अब विदेशबाट मात्र गाडी ल्याएर बेच्ने होइनन, नेपालमै उत्पादन सुरु गर्नुपर्छ,’ अर्थमन्त्री शर्माले भने, ‘त्यसका लागि नीतिगत सुविधा के–के दिनुपर्छ हामी तयार छौं।’
सन् २०३० भित्र नेपालका सार्वजनिक सवारीसाधन विद्युतीय बनाउने विषयमा अध्ययन गर्न राजस्व सचिव रामेश्वर दंगालको संयोजकत्वमा समितिसमेत गठन भइसकेको जानकारी उनले दिए। उक्त समितिको प्रतिवेदनका आधारमा थप निर्णय मन्त्रालयले गर्ने शर्माको भनाइ छ।
यस्तो छ एक्स्पोको आकर्षण
नाडा इभी एक्स्पोमा विभिन्नखालका इभी राखिएका छन्। चार पाङ्ग्रे, तीन पाङ्ग्रे र दुई पाङ्ग्रे इभी र तिनलाई आवश्यक पर्ने सामाग्री अवलोकन गर्न सकिन्छ। एक्सपोमा राखिएका इभीमध्ये सबैभन्दा सस्तो सिटी स्पिरिटको मूल्य न्यूनतम १७ लाख ८५ हजारदेखि १८ लाख ८५ हजारसम्म छ भने सबैभन्दा महँगोमा टेस्लाको २ करोड ६५ लाखसम्मको गाडी हेर्न पाइन्छ।
सिटी स्पिरिट श्री इकोभिजनरी प्रालिमार्फत एक्सपोमा राखिएको हो भने टेस्ला ब्रान्डका गाडी आरती इन्टरनेसनलले राखेको हो। महँगो गाडीका रूपमा लिइएको टेस्ला ब्रान्डका गाडी न्यूनतम १ करोड ४५ लाखदेखि अधिकतम २ करोड ४० लाख रुपैयाँसम्म पर्छ। सिप्रदी ट्रेडिङको टाटाले तीन मोडलका इभी राखेको छ। टाटा टिएगो एक्स जेटको मूल्य ३२ लाख ९९ हजार, टाटा एक्सजेट प्लसको ३७ लाख ९९ हजार र टाटा एक्स जेट एको मूल्य ३३ लाख ९९ हजार तोकिएको छ।
लक्ष्मी इन्टरनेसनल प्रालिको हुन्डाई इलेक्ट्रिक कार पनि एक्सपोमा छ। हुन्डाईले कोना कार बिक्रीका लागि राखेको छ। यसको मूल्य न्यूनतम ५६ लाख ९६ हजारदेखि अधिकतम ७१ लाख ९६ हजार निर्धारण गरिएको छ। सिजी मोटर्स प्रालिले राखेको निटा भीको मूल्य न्यूनतम ३७ लाख ९९ हजार तोकिएको छ। सिमेक्स इन्टरनेसनल प्रालिले राखेको बिवाइडी गाडीको मूल्य न्यूनतम ५७ लाख ५० हजार निर्धारण गरिएको छ।
त्यस्तै सिजी मोटर्सको चांगन मोडलको इभीको भाउ न्यूनतम ६६ लाखदेखि अधिकतम ७५ लाख ५० हजारसम्म छ। एनइभी नेपाल प्रालिमार्फत एक्सपोमा राखिएका जेएसी ब्रान्डको पिकअप भ्यानको मूल्य न्यूनतम ७२ लाख रुपैयाँ निर्धारण गरिएको छ। श्री इकोभिजनरी प्रालिकै अर्को गाडी लगमा ब्रान्डको मूल्य भने सार्वजनिक गरिएको छैन। यस्तै तीन पाङ्ग्रे गाडीका रूपमा अग्नि इनर्जी प्रालिले ट्रायो गाडीको मूल्य न्यूनतम ८ लाख ४० हजार तोकिएको छ। एक्स्पोमा विभिन्न ब्रान्डले छुट घोषणा गरेका छन्।