काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ बिहीबारदेखि सुरु भएको छ । एक्स्पाेकाे बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलन बाबु श्रेष्ठले उद्घाटन गरेका हुन् ।
५ दिनसम्म चल्ने एक्स्पोले फर्निचर, तथा फर्निसिङका आयातित उत्पादनलाई प्रतिस्थापन गर्न टेवा पुर्याउने अपेक्षा गरिएको छ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म एक्स्पो स्थल खुला रहने एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसनले जनाएको छ ।
यस्तै, चाडपर्वलाई लक्ष्य गरी विभिन्न किसिमका अफरहरु सञ्चालन गर्ने आयाेजकले जनाएकाे छ। अवलोकनकर्तालाई फर्निचर तथा फर्निसिङ, होम अप्लाइन्सेजलगायतका सेवा तथा उत्पादन अफरमा उपलब्ध गराइने छ । साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको छ।
सयभन्दा बढी प्रदर्शनी कक्ष रहेको एक्स्पो अवलोकनका लागि प्रवेश निःशुल्क गरिएको छ । एक्स्पोको डिजिटल पेमेन्ट पार्टनर डिजी पेमार्फत पनि निशुल्क प्रवेश पास पाउन सकिनेछ।
प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाइटेड फोम एन्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । एक्स्पोको डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे छ भने स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एशोसियसन नेपालको संहयोग छ ।
एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको समर्थन छ। बदलिँदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकले जनाएकाे छ ।
'किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षणका रुपमा रहने छन् ।
एक्स्पोमा १ लाखे अवलोकन जनाइएकाे छ । संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा बर्सेनि फर्निचर तथा फर्निसिङ सामग्रीहरुको बृहत् मेला 'फर्नेक्स नेपाल' को आयोजना गर्दै आएको छ।