काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने बढ्ने र त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर परेको छ ।
दिउँसो सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले बताएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । राति समयमा पनि हल्कादेखि मध्यम वर्षा र धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौंको तापक्रम न्यूनतम तीन दशमलव ६ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस छ ।
कहाँ–कहाँ हिउँ पर्यो ?
भोजपुरको सुन्तलेस्थित बाघखोरमा हिउँ परेको छ । माथिल्लो भेगमा एकदेखि डेढ फुटसम्म हिउँ परेको स्थानीयवासीको भनाइ छ । यस्तै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका डोल्पाको नुर्क, सुरमा पनि भारी हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित बनाएको छ ।
डोटीको जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएको झिग्रानामा पनि भारी हिउँ परेको छ । हिमपातपछिको चिसोले स्थानीय जनजीवन कष्टकर बनेको छ ।
मनाङमा पनि ७२ घन्टेदेखि भारी हिमपात भएको छ । जसका कारण सवारी आवगमन ठप्प भएको छ । त्यहाँको तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झन्झन् कष्टकर हुँदै गएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल तल्लो घोडेपानीमा समेत बुधबार बिहान हिउँ परेको छ । चिसोले म्याग्दीको लेकाली बस्तीको जनजीवन कष्टकर बनेको छ ।
राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरिमा रातभरको अविरल वर्षासँगै डाँडामा हिमपात भएको छ । चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिमपात भएको हो ।
हिमाली जिल्ला हुम्लामा पनि बाक्लो हिउँ परेको छ । हिमपातले जनजीवन प्रभावित बनेको छ ।
सबै तस्बिर: रासस ।