काठमाडौं । लामो कसरतपछि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच एक आपसमा गाभिने (मर्ज) हुने भएका छन् । मर्जमा जानका लागि दुई बैंकबीच बिहीबार अपराहन्न प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
बिग मर्जको एमओयूमा हिमालयका अध्यक्ष तथा कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतम र नेपाल इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरेका छन । एमओयू राजधानीको पाँचतारे होटल एलफ्टमा भएको हो । एकिकृत बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक हुने छ ।
दुई महिनाभित्र मर्जको काम सकेर एकीकृत कारोबार गर्ने एमओयूमा उल्लेख छ । आगामी साउन १ गतेदेखि हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा एकिकृत कारोबार हुने छ ।
मर्जको काम सकिएर एकिकृत कारोबार नहुन्जेल नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुवै बैंकको सेयर कारोबार रोक्का गर्ने भएको छ । दुबै बैंकबीच बिग मर्जरका लागि एमओयू भएको हिमालयनका अध्यक्ष तुलसी गौतमले जानकारी दिए । उनले यो ठूलो निर्णय भएको र यसले वित्तीय क्षेत्रलाई अझ बढी मजवुत बनाउने उनले प्रतिक्रिया दिए ।
यो पनि हेर्नुहोस
हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जका लागि एमओयू आज, देशकै ठूलो बैंक बन्ने
दुबै बैंकको चल अचल सम्पत्ति तथा दायित्वको प्रारम्भिक मूल्याँकन (डीडीए) मा हिमालयनको प्रतिसेयर मूल्य १०२ रुपैयाँ ५० पैसा र नेपाल इन्भेष्टमेन्टको १०० रुपैयाँ देखिएको छ । दुवै बैंक समान हैसियतमा मर्ज हुन लागेका हुन ।
यसैलाई आधार मानेर एक बराबर एकको अनुपातमा मर्जरमा जाने भन्ने प्रारम्भिक सहमति भएको अध्यक्ष गौतमले स्पष्टपारे । उनका अनुसार अब दुवै बैंकको पुनः डीडीए हुने छ । त्यसका आधारमा पछि सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) तय हुने संभावना पनि छ ।
हिमालयन बैंकको कर्मचारी नियमावलीलाई नै लागु हुने एमओयूमा उल्लेख छ । नेपाल इन्भेष्टमेन्टको भन्दा हिमालयनको कर्मचारीको तलव सुधिवा बढी रहेको छ ।
मर्जरपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हिमालयनका अशोकशम्शेर राणा हुनेछन । डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा नेपाल इन्भेष्टमेन्टका हालका सीईओ ज्योति पाण्डे हुने सहमति भएको छ । हिमालयन एन्ड इन्भेष्टमेन्ट बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे हुने भएका छन् । नयाँ सञ्चालक समिति चयन हुने भएको छ ।
हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर रहेको छ । हबिबले चाहेमा सो सेयर बिक्री गर्न पाउने छ । सो सेयर हाल कायम रहेका संस्थापकले किन्न पाउने भएका छन । ठूलो रकमको सेयर भएकाले हिमालयनको संस्थापक लगानीकर्ता कर्मचारी सञ्चय कोषले खरिद गर्ने संभावना छ । उसले एकिकृत बैंकमा आफ्नो हिस्सा बढाउन चाहेको छ ।
हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक भएपछि पुँजीगत, सञ्चित कोषको आकार, नाफा, व्यवसाय, कर्जा सापटी तथा निक्षेपका आधारमा देशकै ठूलो वाणिज्य बैंक बन्ने भएको छ ।
मर्जपछि अन्य बैंकहरुलाई पनि ठूलो बन्नका लागि दवाव सिर्जना हुने छ । यसबाट नबिल, ग्लोबल आइएमई र एनआइसी एसिया बैंकलगायतलाई पहिलो दबाब पर्ने देखिएको छ । हालसम्म पुँजीगत रुपमा ग्लोबल आइएमई बैंक नै ठूलो छ । नबिलले पनि अन्य वाणिज्य बैंकसंग मर्जमा जानका लागि छलफल गरिरहेको छ ।
चालू आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणलाई आधार मान्दा हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्टको निक्षेप परिचालन २ खर्ब ९८ अर्ब र कर्जा सापटी २ खर्ब ८८ अर्ब रुपैयाँको पुग्ने छ ।
मर्ज हुँदासम्म यो रकममा केही तलमाथि हुने संभावना छ । कोरोना महामारीका कारण सम्झौता कार्यक्रममा दुबै बैंकका अध्यक्ष मात्र उपस्थित भएका छन् । असारसम्म मर्ज गरेर साउन १ गतेदेखि एकीकृत कारोबार गर्ने लक्ष्य रहेको गौतमले जानकारी दिए ।
हिमालयनको चुक्तापुँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ छ । इन्भेष्टमेन्टको १६ अर्ब २५ करोड ७३ लाख रुपैयाँ छ । हिमालयनको सञ्चित कोषमा ६ अर्ब १९ करोड ७८ लाख रुपैयाँ छ । यस्तै इन्भेष्टमेन्टको १२ अर्ब ९४ करोड ९१ लाख रुपैयाँ रहेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
मर्जपछि हिमालयन एन्ड इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ । यस्तै सञ्चित कोषको आकार बढेर १९ अर्ब रुपैयाँ बढी हुने छ ।
हिमालयन बैंकमा हबिब बैंक, कर्मचारी सञ्चय कोष, एन ट्रेडिङ कम्पनी, म्युचअल ट्रेडिङ कम्पनी, आभा इन्टरनेसनल, छायाँ इन्टरनेसनल, सशीकान्त अग्रवाल, अन्जु खेतान र शर्मा एन्ड कम्पनीको बढी स्वामित्व रहेको छ । यो बैंकमा हिमालयशम्शेर राणा, खेतान ग्रुप र हबिब बैंकको बढी स्वामित्व रहेको छ ।
यस्तै नेपाल इन्भेष्टमेन्टमा राष्ट्रिय बिमा कम्पनी, छायाँ इन्भेष्टमेन्ट, महालक्ष्मी इन्भेष्टमेन्ट र नागरिक लगानी कोष मुख्य संस्थापक सेयरधनी हुन । पृथ्वीबहादुर पाँडे समूहको बढी स्वामित्व छ ।