काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले निर्माण गरेको ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजनाबाट वैशाख २९ गते बुधबारदेखि बिजुली उत्पादन हुने भएको छ ।
कोरोना संक्रमणमा परेका सबै कर्मचारी तथा कामदार संक्रमणमुक्त भइसकेकाले आयोजनाबाट आगामी बुधबारदेखि बिजुली उत्पादन हुने भएको हो ।
यसअघि चैत १५ विद्युत उत्पादन थाल्ने योजना भए पनि आयोजना स्थलमा कार्यरत कर्मचारी तथा कामदार कोरोना संक्रमित भएपछि झण्डै डेढ महिना धकेलिन पुगेको हो । अहिले परीक्षण उत्पादन भइरहेको आयोजना प्रमुख दीपककुमार शाहले जानकारी दिए ।
उनका अनुसार आउँदो १५ दिनसम्म परीक्षण गरेपछि आयोजनाबाट व्यापारीक उत्पादन सुरु हुनेछ । परीक्षण उत्पादन सफल भएपछि प्रणालीमा जोडिने छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत २२० केभी दाना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन आयोजनाले नै निर्माण गरिसकेको छ ।
आयोजना निर्माणमा ढिलाइ भए पनि लागत सस्तो परेको छ । आयोजनाको प्रतिमेगावाट लागत १४ करोड रुपैयाँ हारहारीमा रहेको छ । हाल जलविद्युत आयोजनाको लागत प्रतिमेगावाट २० करोड रुपैयाँ पुगेको छ ।
आयोजनामा नबिल बैंकको अगुवाईमा नेपाल इन्भेस्टमेन्ट बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एआईडीसीएल) नेपाल बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक र साविकको एस डेभलपमेन्ट बैंक हालको नेपाल इन्भेस्टमेन्ट बैंकले ऋण लगानी गरेका छन् ।
आयोजना बनाउन ५ अर्ब ६७ करोड रुपैयाँ लागेको अनुमान गरिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले ७० करोड, एचआईडीसीए ले १ अर्ब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन ।
यसैगरी नबिल बैंकले १ अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र तत्कालिन एस डेभलभमेन्ट बैंक हालको नेपाल इन्भेस्टमेन्टको ३० करोड रुपैयाँ ऋण लगानी रहेको छ ।
आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत ठूला व्यवसायिक घरानाले स्वपुँजी .(इक्विटी) लगानी गरेका छन् । आयोजनाको निर्माण २०७३ जेठ ३१ गतेदेखि सुरु भएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेको छ । कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भइरहेको छ । माउन्टेनले नुवाकोटमा ५ मेगावाटको तादी खोलाको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।
आयोजनाबाट बिजुली उत्पादन भएपछि आम्दानी सुरु हुनेछ । यसबाट बैंकको कर्जा तिर्न र लगानीकर्ताले प्रतिफल (लाभांश) पाउने अवस्था आउने छ । आयोजना म्याग्दी जिल्लामा पर्छ ।