काठमाडौं । बिजुली उत्पादनका लागि निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध (ड्याम) मा पानी भर्न सुरु भएको छ । बुधबारदेखि आयोजनाको बाँधमा पानी भर्न सुरु भएको छ ।
शनिबारसम्म बाँधमा पानी भरिने र आइतबारदेखि सुरुङमा पानी पठाउने तयारी भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेश न्यौपानेले बताए । एकै पटक धेरै पठाउन नमिल्ने भएकाले विस्तारै पानीको प्रवाह बढाएर सुरुङमा पानी पठाएको १० दिनभित्र विद्युत परीक्षण उत्पादन हुने उनले जानकारी दिए ।
परीक्षण उत्पादन पूरा गरेर वैशाखभित्र एउटा युनिटबाट ७६ मेगावाटसम्म बिजुली उत्पादन हुने उनको भनाइ छ । बाँकी ५ वटा युनिटबाट आउँदो असारसम्म बिजुली उत्पादन हुनेछ ।
हाल आयोजनाको बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका बाँकी कामहरु भइरहेका छन् ।
वैशाख ३१ गतेसम्म आयोजनाको एउटा युनिट सञ्चालनको तयारी भइरहेको छ । माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम भइरहेको छ ।
मुख्य निर्माणअन्तर्गत बाँध र इन्टेक, मुख्य सुरुङ, विद्युतगृह, टेलरेस सुरुङलगायतका सिभिल संरचना काम सकिएको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा अपर तामाकोसीका अध्यक्ष हितेन्द्रदेव शाक्यले वैशाखाभित्रै आयोजनाको पहिलो युनिट सञ्चालन हुने जानकारी गराइसकेका छन् । उनका अनुसार चालु आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत उत्पादन हुनेछ
आयोजनामा ७६/७६ मेगावाटका ६ वटा युनिट छन् । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश विद्युत उत्पादन हुनेछ ।
२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढी पहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकलको ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।
आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ । आयोजना बनाउन निर्माण अवधिको ब्याज बाहेक ५३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ब्याजसमेत पुँजीकरण गर्दा आयोजना बनाउन कुल लागत ८० अर्ब रुपैयाँ पुग्ने संभावना छ ।