काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गुणस्तरहीन विद्युत् प्रवाह गर्दा वीरगन्ज/भैरहवा क्षेत्रका उद्योग धमाधम बन्द हुन थालेको छ ।
प्राधिकरणले तोकिएअनुसार गुणस्तरी विद्युत् प्रवाह नगरेपछि औद्योगिक नगरी वीरगन्ज र भैरहवा क्षेत्रका उद्योग धमाधम भइरहेका छन् ।
एकातिर झ्याप–झ्याप विद्युत् जाँदा उद्योग समस्यामा परेका छन् भने अर्कोतिर गुणस्तरीय विद्युत् प्रवाह नहुँदा भैरहवाको अर्घाखाँची सिमेन्ट बन्द भएको छ ।
बत्ती अनियमित हुँदा उद्योगको मेसिन बिग्रिएपछि अर्घाखाँची सिमेन्ट बन्द भएको छ । बारम्बार लाइन ट्रिपिङ भएको र त्यसैका कारण मेसिनमा खराबी आएपछि उद्योग बन्द गर्नुपरेको अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारका बताउँछन् ।
उद्योगीले बारम्बार लाइनको गुणस्तर बिग्रिएको, अत्यधिक लाइन ट्रिपिङ भएको र यसलाई तत्काल समाधान गर्न प्राधिकरणसमक्ष आग्रह गरेका थिए । प्राधिकरणले हरसम्भव प्रयास गर्दा पनि लाइनको गुणस्तर सुर्धान सकेको छैन ।
यसवर्ष पानी कम परेको र हिउँ नपग्लिएका कारण खोलानाला सुकेपछि विद्युत् उत्पादन कम भएकाले समस्या निम्तिएको प्राधिकरणका कार्यकारी निर्देशन हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
अहिले विद्युत् खपत बढ्ने समय हो । यही बेला पानी नपरेकाले व्यवस्थापन गर्न कठिन भएको शाक्यको भनाइ छ । तर, वैशाख १५ पछि विद्युत्को समस्या समाधान हुने उनले बताए ।
अहिले विराटनगरका उद्योगमा विद्युतको खासै ठूलो समस्या छैन । तर, भैरहवा र वीरगन्जका उद्योगीले आफ्नो मेसिनमा खराबी आउन नदिन आफैंले फ्याक्ट्री बन्द गरिरहेका छन् ।
नेपालको प्रमुख औद्योगिक नगरी वीरगन्जका दर्जनांै उद्योग बन्द अवस्थामा छन् । उद्योगभित्र जडित पूर्वाधार पूर्णरुपमा बिग्रिएपछि बाध्य भएर उद्योग बन्द गर्नुपरेको उद्योगीहरूको गुनासो छ ।
प्राधिकरणले विद्युतमा देखिएको समस्यालाई तत्काल कसरी हल गर्न सकिन्छ भनेर विभिन्न उपाय लगाएर काम गर्दा पनि केही नलागेको बताएको छ ।
भैरहवा औद्योगिक नगरीको रुपमा विकास हुँदै गरेको क्षेत्र हो । त्यहाँ नयाँ–नयाँ उद्योग लाग्ने क्रम चलिरहेको छ । त्यही ठाउँमा अत्यधिक विद्युतको समस्या हुँदा उद्योगीले बाध्य भएर उद्योग बन्द गर्नु परेको उनीहरूको गुनासो छ ।
परासी औद्योगिक करिडाेरमा लाइनकाे गम्भीर समस्या छ । ३३ केभिए लाइनमा जम्मा २५ केभिए मात्रै भाेल्टेज अाएकाले उद्याेग चलाउनै सकस परेकाे उद्याेगीहरू बताउँछन् । खासगरी, भारतकाे गण्डकबाट अाएकाे लाइनमा अत्यधिक समस्या भएकाले उद्याेग बन्द गर्नुपर्ने अवस्था भएकाे त्यहाँका उद्याेगीहरूकाे गुनासाे छ ।